arrow

माछापुच्छ्रे बैंकबाट गाेकुलधाममा १० लाख सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
help-machhapuchhre-bank.jpg

पोखरा । माछापुच्छ्रे बैंकले पोखरा महानगरपालिका वडा नं. १४ बाच्छीवुडुवामा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला) लाई नगद १० लाख सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको निर्देशक रोशन केसीले बताए ।

सडकमा छोडिएका पशुचौपायालाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको राष्ट्रिय परोपकार महासंघको काममा बैंकका तर्फबाट सहयोग गरिएको हो ।

छाडा पशु चौपायाको व्यवस्थापनले सडक सुरक्षामा पुग्ने अवरोधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने केसीको विश्वास छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गौशालालाई सहयोग उपलब्ध गराएर संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न पाएकोमा खुसी लागेको बताए ।

निर्देशक केसी, प्रमुख कार्यकारी अधिकृत कोइराला र बैंककी प्रमोटर प्रेमकुमारी केसीले उक्त रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले गौशाला रहेको क्षेत्रमा वृक्षरोपणसमेत गरेका छन् ।

राष्ट्रिय परोपकार महासंघका संस्थापक एवं गोकुलधामका परिकल्पनाकार पण्डित कमलनयन गौतमले बैंकप्रति आभार प्रकट गरे ।

गोकुलधाममा रहेका पशुचौपायाको पालनपोषणका लागि विभिन्न दाताबाट सहयोग आउने क्रममा जारी रहँदा बैंकले गरेको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वबापत नगद १० लाख निकै महत्वपूर्ण रहेको उनले जनाए ।

बोलीमा मात्र सीमित गौसेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले सरोकारवाला सबैलाई घच्घच्याउनका लागि गोकुलधामको प्रारम्भ गरिएको उनको भनाइ छ ।

‘यो समग्र रूपमा पोखराको अर्को एउटा नयाँ गन्तव्य स्थल बन्नेछ । यो केवल गोठमात्र होइन, नजरले हेर्यो भने त गोठ हुन्छ, तर सूक्ष्म आँखा खोल्याैँ भने साँच्चिकै गौशाला हुन्छ’, गौतमले भने, ‘यो छाडा छोडिएका पशुलाई थुन्ने कान्जी हाउस होइन । कान्जी हाउस पहिला थियो, अब यो पवित्र गौशालामा परिणत भइसकेको छ, यहाँ गौ माताको रेखदेख र सुसार हुन्छ ।’

गोबर र गौमूत्रको प्रशोधन गरी दशौँ रोपनी बन्जर जमिनलाई अग्र्यानिक उत्पादनको थलोका रूपमा विकास गरिएको उनले सुनाए ।

गाईसँग जोडिएर गर्न सकिने उपचारका पद्धति, अध्ययनका विद्या, प्रशोधन पश्चात् मानवका लागि आवश्यक सामग्री उत्पादन गर्दै आगामी दिनमा यसलाई आत्मनिर्भर बनाउने दिशातर्फ लैजाने योजनासमेत गौतमले सुनाए ।

पोखरा आउने पर्यटक, भ्रमणका लागि आउने विभिन्न स्वदेशी तथा विदेशी समूह, विद्यार्थी सबैलाई गौशालासम्म पुग्ने अवस्थाको सृजना गरिने उनको भनाइ छ ।

हाल गौशालामा गाई, गोरु गरी तीन सय चौपाया छन् । पोखरा महानगरपालिकाको व्यवस्थापनमा सञ्चालित गौशाला सडकमा छोडिएका पशुचौपायाको आश्रय स्थल बनेको छ ।

साथै महानगर क्षेत्रमा पशुपालन व्यवसाय गरेका व्यवसायी तथा घरमा पालिएका घरपालुवा पशुचौपायका धनीलाई जथाभावी रूपमा सडकमा पशुचौपाया नछोड्न महानगरपालिकाले पटकपटक आग्रह गर्दै आएको छ ।



नयाँ