arrow
ADVERTISEMENT

प्रतिनिधि सभामा कसले के भने ?

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
parliament1.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्लाई रचनात्मक ढङ्गबाट अघि बढाउन तथा जनतालाई आशा र भरोसा प्रदान गर्न जरुरी रहेको बताएको छ । प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनतामा भरोसा पैदा गर्न र राजनीतिक दलका बीचमा भएको तिक्तता मेटाएर हातेमालो गर्दै अघि बढ्ने आफ्नो दलको चाहना रहेको बताए । उनले भने, “शान्ति सम्झौता र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कांग्रेस प्रतिबद्ध छ ।”  

नेता खाँडले प्रतिनिधि सभा भङ्ग गर्ने सरकारको कदमलाई सर्वोच्च अदालतले अस्वीकार गरिसकेपछि विधिको शासन मान्छौँ भन्ने प्रधानमन्त्रीले नैतिकताका आधारमा अब मार्गप्रशस्त गर्न उचित हुने सल्लाह दिए  सरकार विचार र अभिव्यक्ति स्वतन्त्रतालाई मात्र होइन, संस्कृति र परम्परालाई समेत बन्देज गर्न उद्दत देखिएको आरोप लगाउँदै नेता खाँडले भने,  “प्रतिपक्षले धैर्यतापूर्वक सरकारलाई सहयोग पुर्‍याएकै अवस्थामा अघिल्लो सदन पनि अस्वाभाविक रुपमा स्थगन गरियो ।” मेलम्चीको पानी काठमाडौँमा प्रवेश गरे पनि त्यसको श्रेय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नदिएको भनी  सरकारको आलोचना गर्दै खाँडले सत्य कुराको मात्र वकालत गर्न सरकारलाई सुझाव दिए ।

मितव्ययी र सुशासनका कुरा गरिए पनि अनावश्यक कर्मचारी भर्ना र थम्नै नसक्ने गरी ऋणको भार थोपरिएको बताउँदै नेता खाँडले पूँजीगत खर्च हुन नसकेका अवस्थामा कसरी विकासले तीव्रता पाएको छ भन्ने सरकारको जिकिरलाई प्रमाणित गर्छ भनी प्रश्न गरे । वर्तमान संविधानको विकल्प नरहेकाले त्यसको कार्यान्वयन गर्ने कार्यमा एकाकार भएर अघि बढ्न उनले सबै राजनीतिक शक्तिलाई आह्वान गरे ।

नेकपा माओवादी केन्द्रकी नेत्री पम्फा भुसालले राजनीतिमा नैतिकता, आदर्श र सिद्धान्त हुन्छ भन्ने कुरालाई अदालतको फैसलापछि सरकारले प्रमाणित गर्न सक्नुपथ्र्याे भनिन्।  प्रतिनिधि सभा विघटनपछि सरकारले राज्यका स्रोत साधन चरम दुरुपयोग गरेको तथा जनताको प्रतिनिधिमूलक  संस्थालाई विघटन गरेर सरकारले नै गणतन्त्र र सङ्घीयतालाई धरापमा पार्न खोजेको आरोप उनले लगाइन् । नेत्री भुसालले दैनिक सदन सञ्चालनको वातावरण बनाउन र अग्रगमनतर्फ कदम चलाउने अभियानमा साथ र सहयोग प्रदान गर्न सरकारसँग आग्रह गरिन् ।

जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफ्नो दल सहमतिको राजनीतिको पक्षधर रहेको जनाउँदै अब सवै विषय वार्ताका माध्यमबाट पूरा गर्न आह्वान गरे ।  

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले राजनीतिलाई स्थायित्व प्रदान गर्न प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, “पछिल्ला दिनमा संविधान, गणतन्त्र र धर्म निरपेक्षतामाथि गम्भीर सङ्कट देखिएको छ, यसको रक्षाका लागि सबै राजनीतिक दल इमान्दार हुन आवश्यक छ ।”

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले प्रतिनिधि सभा पुनःस्थापना भए पनि बैठक नियमित नहुनु दुःखद् भएको धारणा व्यक्त गरे । उनले भने, “साना दललाई निषेध गर्न गरिएको मत सीमालाई हटाउनुपर्छ,  कालापानीलगायत देशका अतिक्रमणमा परेका क्षेत्र र जनहितका विषयमा सरकारले ठीक समयमा ठीक निर्णय लिएर अघि बढ्न सक्नुपर्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ