arrow

फ्लोरक्रसको डरः गण्डकीका २६ सांसद तीन दिनदेखि रिसोर्टमा बन्दी

logo
हरि पन्त, 
प्रकाशित २०७८ वैशाख १५ बुधबार
kuti-resort-and-spa.jpg

पोखरा । कोरोना महामारीले भयाभह अवस्था बन्दै गर्दा गण्डकी प्रदेशमा सत्ता रस्साकस्सी तीव्र छ । वैशाख २ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेर छलफल जारी छ । 

विशेष अधिवेशनमार्फत अविश्वास प्रस्तावमा छलफल शुरु भएर मतदानका लागि अन्तिम अवस्थामा पुगेको छ । सम्भवतः बुधबार या बिहीबार अविश्वास प्रस्तावमा मतदान हुँदैछ । 

अविश्वास प्रस्तावमा मतदान बुधबार गर्ने भनिए पनि मंगलबार सत्तापक्षबाटै संसद अवरुद्ध भएपछि बुधबारका लागि तोकिएको समय सर्न सक्ने बताइन्छ ।

मतदानबाट अविश्वास प्रस्तावमा बहुमत पुगे वर्तमान मुख्यमन्त्री गुरुङ बिदा भएर नयाँ मुख्यमन्त्रीमा नवलपुरका कृष्णचन्द्र नेपाली आउने छन् । नेपाली नेपाली कांग्रेसका संसदीय दलका नेता हुन् ।

गण्डकीमा कांग्रेसका १५ जना, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टीका दुई सांसद सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । 

अविश्वास प्रस्तावमा हस्ताक्षर नगरे पनि राष्ट्रिय जनमोर्चाले मतदानमा सहयोग गर्ने जनाएको छ । मतदानमा जनमोर्चाले साथ दिए मुख्यमन्त्री गुरुङको सत्ता ढल्ने निश्चित हुनेछ । गण्डकीमा शत्ता परिवर्तनको निर्णायक शक्तिको रुपमा जनमोर्चा रहेको छ ।

गण्डकीमा एमालेका २७ जना सांसद छन् । स्वतन्त्र सांसद दीपक मनाङेले पनि जसको सरकार बन्छ, उसैलाई मत दिने मनशाय व्यक्त गरेका छन् ।

सांसदहरु तीन दिनदेखि रिसोर्टमा बन्दी
गण्डकीमा सत्ताको रस्साकस्सी चल्दै गर्दा फ्लोरक्रस हुने डरले नेताहरु त्रासमा छन् । फ्लोरक्रस गरेर मुख्यमन्त्री गुरुङको पक्षमा बहुमत पुर्याइदिए पुनः गुरुङ नै मुख्यमन्त्री बन्नेछन् । 

यसैको डरले प्रदेशमा मुख्य दुई दलका सांसदहरुलाई तीन दिनदेखि पोखराको एक रिसोर्टमा बन्दी गरिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका २६ सांसदलाई कुटी रिसोर्टमा बन्दी गरिएको छ । 

नेपाली कांग्रेसका एक सांसदका अनुसार उक्त रिसोर्टमा जसपाका दुई सांसदलाई भने राखिएको छैन । सबै सांसदहरूलाई एकैपटकमा संसदको बैठकमा आउने र जाने व्यवस्था मिलाइएको उनले बताए । 

सबै सांसदहरूलाई होटेल नछाड्न पार्टीले निर्देशन दिइएको बताइएको छ ।

उनीहरुलाई त्यहीं बसेर खाने, पिउने सबै व्यवस्था गरिएको छ । कुटी रिसोर्ट पोखराको महंगो रिसोर्टमा गनिन्छ । कुटीमा एक दिनको खर्च प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म पर्छ ।
 
सत्तापक्षीय एमालेको बखेडा
गण्डकीमा सत्तारुढ एमाले सकेसम्म अधिवेशन लम्ब्याउनेदेखि लिएर बैठक अवरोध गर्ने रणनीतिमा छ । गण्डकी प्रदेश सरकार विरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल सोमबार सक्ने र मंगलबार मतदान गर्ने कार्यसूची थियो । 

तर मंगलबारको बैठक सत्तारुढ एमालेले नै पीसीआर गनुपर्ने भन्दै संसद अवरुद्ध गरेपछि बुधबार पुन अविश्वास प्रस्तावमाथिको छलफल चल्ने भएको छ । सत्तारुढ दलले नै संसद् अवरोध गरेको यो पहिलो घटना हो ।

एमालेको अवरोधपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले लिखित चारबुँदे निर्णय गर्दै संसद् बैठक बुधबार एक बजे बस्ने गरी निर्णय गरेको थियो । 

मंगलबार नै सबै सांसदहरूको स्वाब लिइएको छ । बुधबार बैठकमा आउने सांसदले पीसीआर रिपोर्ट लिएर आउनुपर्नेछ । पीसीआर गर्दा संक्रमित भएको खण्डमा सांसदहरू मतदानमा सहभागी हुन पाउने छन् तर छलफलमा सहभागी हुन पाउने छैनन् ।

यसैबीच दुई जना एमालेका सांसदलाई कोरोना पुष्टि भएको छ । 

गण्डकी प्रदेशका एमालेका दुई सांसदमा कोरोना पुष्टि



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ