arrow

धन्यो गृहस्थाश्रम ( भाग २)

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ असार २४ बिहिबार
veda-Vyasa.jpg

यसरी आफ्नो पिताजीबाट उपदेश पाए पनि शुकदेवमा विचलन आएन ।  उनी भन्दै गए, जसरी व्याधाले पासो हालेर पशुलाई जालमा पार्दछ, त्यसरी नै गृहस्थको जालमा मानिस फस्दछ । धन नभए पछि गृहस्थले आफ्नो परिवारजनबाट पनि अपमान खेप्नु पर्दछ । बरु एउटा कुनै पनि इच्छा आकाङ्क्षा नराख्ने भिक्षुक सुखी होला तर स्वर्गका राजा इन्द्र पनि सुखी हुँदैनन् । कसैले कठोर तपस्या गरेको देखे पनि उनको चित्त भ्रमित हुन्छ, ब्रह्मा पनि सुखी छैनन् । लक्ष्मी पाएर पनि विष्णु सुखी छैनन् । उनलाई पनि दैत्यहरुसंग लड्न परेकै छ । शिवजीलाई पनि दैत्यहरुसंग लड्नुपरेकै छ ।

उनको तर्क थियो, संसारमा जन्मेपछि दुःख, बुढो भए पनि दुःख मरणमा पनि दुःखै छ । विष्ठा, मलमूत्रले भरिपूर्ण गर्भमा बस्दा पनि दुःखै छ । मर्नुभन्दा पनि अधिक दुःख माग्नुमा छ । पेट पाल्न मात्र त जसरी भए पनि सकिन्छ, कन्द मूल, फल आदि आएर पनि गुजारा त चलिहाल्छ । त्यसैले मलाई यी कुराहरू होइन बरु योग, ज्ञान आदिको उपदेश पाउँ भनेर आग्रह गरिरहे । 

व्यासले शुकदेवको कुरा सुनिरहे । उनी चिन्तामा डुबिरहे । उनको आँखामा आँसु भरियो । पिताजीको यस्तो स्थिति देखेपछि उनले आफ्नो बाबुलाई बुवा, हजुर यत्रो ज्ञानी पुरुष, यत्रा पुराणहरू रचना गर्नुभयो, तैपनि तपाईँमा मायाको जालले भ्रममा पारेको छ । यो कर्मभूमिमा मानिस जन्मन्छ, त्यसमा पनि ब्राह्मण (ब्रम्हज्ञ) त कोही कोही मात्र जन्म लिन्छन् । 

यस्ता कुरा सुनेपछि फेरि पनि व्यासले शुकदेवजीलाई आफूले रचना गरेको पाँच लक्षणले युक्त श्रीमद्‌देवीभागवत अध्ययन गर्न सुझाउनु भयो । (पाँच लक्षण भन्नाले श्रृष्टि, प्रलय, देवताको उत्पत्ति र वंश परम्परा, मन्वन्तर र मानव वंशको विस्तारलाई भनिन्छ )। आफ्नो पिताको आज्ञा शिरोपर गरेर शुकदेवले उक्त ग्रन्थ अध्ययन गर्न थाल्नु भयो, तैपनि उहाँलाई शान्ति भएन र कम खाने, टोलाएर बस्ने हुनुभयो । उहाँमा व्याकुलता देखिन्थ्यो । यसरी आफ्नो उपदेशले पनि शुकदेवले शान्ति प्राप्त गर्न नसकेको बुझेर उहाँले छोरालाई मिथिलापुरमा गएर राजा जनकसँग ज्ञान हासिल गरेर आऊ भन्नुभयो । उनको यो आग्रह पनि शुकदेवजीलाई चित्त बुझेन किनभने राजा जनक राज्य पनि गर्छन्, त्यसैले उनको शत्रु, मित्र दुवै हुन्छन् । जसरी बन्ध्या स्त्रीको छोरा छ भनेर कसैले पनि पत्याउँदैनन्, त्यसरी नै राजासँग ज्ञान होला भनेर कसरी सम्झने आदि तर्क गरिरहे तर पनि उनी आफ्नो पिताको आग्रह शिरोधार्य गरेर मिथिला पुरी जाने निश्चयमा पुगे ।  

शुकदेवजी आफ्नो पिताको आज्ञा अनुसार पितासँग आशीर्वाद लिएर मिथिला पुरी तर्फ प्रस्थान गरे । जाने वेलामा व्यासले उनलाई राजा जनकसँग ज्ञान लिएपछि आफैकहाँ आउनु भनेर अह्राए । उनी कतैतिर पनि नगई सिधा जनकपुरतर्फ लागे । बाटोमा उनले अनेक साधु महात्मा, योगी, वैष्णव आदि महापुरुषहरूलाई पनि भेटे । उनी मिथिला प्रवेश गरे र त्यहाँका जनताको सुख, समृद्धि देखेर प्रसन्न भए । व्दारपालहरुले उनलाई रोके र राजाको आज्ञा नपाईकन यस नगरी भित्र कोही पनि पस्न पाउँदैन भने । यस्तो कुरा सुन्दा पनि जवाफ सवाल नगरीकन उनी कसैसँग केही नवोली उभिई रहे । 

मिथिलाका रक्षकहरूमा ज्ञान हुने त भई गयो । उनीहरूले शुकदेवको हाव भाव देखेर प्रश्न गर्न थाले । उनीहरूले शुकदेवलाई तपाईँ त सिद्ध, ज्ञानी पुरुष हुनुहुन्छ जस्तो लाग्यो, यहाँ किन आउनु भएको हो बताउनुस् भनेर आग्रह गरे । उनले आफू विदेश नगर हेर्न आएको तर प्रवेश गर्न नपाइने रहेछ भने । मनमा भने उनलाई आफू टाढा आएर पनि कुनै काम नभएको आफूलाई भाग्यले ठगेको भन्ने भान पर्‍यो । 
(क्रमशः) 

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com    

यो पनि पढ्नुस् :



नयाँ