arrow

नेपाली रेलमा जागिर : ३२ हजार बढी आवेदक दरखास्तको पैसा पर्खँदै

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ साउन ५ मंगलबार
nepal-train1_1617950669.jpg

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले करारमा कर्मचारी भर्नाको लागि आह्वान गरेको विज्ञापन रद्द भएको कयौँ महिना बितिसक्दा पनि दर्खास्त भर्नेहरूले अहिले सम्म पैसा फिर्ता पाउन सकेका छैनन् । जयनगर-जनकपुरधाम-कुर्था रेल सञ्चालनको लागि करारमा विभिन्न २९ पदको लागि विज्ञापन आह्वान गरिएको थियो । तर तिनीहरूले न त जागिर पाए न पैसा । 

रेल्वे कम्पनीले अधिकृत स्तरको प्रत्येक विज्ञापनको लागि १ हजार, सहायक स्तरको लागि ४ सय र श्रेणिविहीन स्तरको विज्ञापनको लागि ३ सय रुपैयाँ दस्तुर तय गरेको थियो तर विज्ञापन रद्द भए पनि उनीहरूले पैसा फिर्ता पाउन सकेका छैनन्।

रेल्वे कम्पनीले गत भदौ २९ गते करारमा विभिन्न २९ पदको लागि १ सय २९ जना कर्मचारी माग्दा ३२ हजार ६ सय ८६ जनाले दरखास्त भरेका थिए। रेल्वे कम्पनीले आह्वान गरेको विज्ञापनमा अधिकृत स्तरको पदका लागि १ हजार २ सय २४ जना, सहायक पदको लागि २९ हजार ५ सय ५४ जना र श्रेणिविहीन पदका लागि १ हजार ८ सय ६८ जनाले दरखास्त दिएका थिए।
 
अधिकृत स्तरको विज्ञापनबाट १२ लाख २४ हजार, सहायक स्तरको विज्ञापनबाट १ करोड १८ लाख २१ हजार ६ सय र श्रेणी विहीन स्तरको विज्ञापनबाट ५ लाख ६० हजार ४ सय गरी कुल १ करोड ३६ लाख ६ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको थिए।

अधिकृत स्तर तर्फ स्टेसन मास्टरका लागि ९ सय ८ जना, शाखा अधिकृतका २ सय ५४ जना र कानुन अधिकृतका लागि ६२ जनाले दरखास्त दिएका थिए । यता नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले मन्त्रीपरिषद्को निर्णय अनुसार नै करारमा कर्मचारी भर्नाको लागि विज्ञापन आह्वान गरे पनि लोकसेवा आयोगको हस्तक्षेपको कारण विज्ञापन रद्द गर्नु परेको भन्दै दरखास्त दिएकाहरूको रुपैयाँ फिर्ता हुने जानकारी दिए।

 पैसा फिर्ता गर्नेमा कुनै शङ्कै नरहेको भन्दै हामीले कुन प्रक्रियाबाट पैसा फिर्ता गर्ने त्यसमा छलफल भइरहेको र ३२ हजारलाई व्यक्तिगत रूपमा पैसा फिर्ता गर्न सम्भव नहरेको भट्टराई ले बताए ।त्यसैले बैङ्कसँग छलफल चलिरहेको छ उनले भने ।

भट्टराईले दरखास्त भर्नेहरूमध्ये धेरैको बैङ्क खाता हुन नसक्ने भएकोले र सरकारी निकायले नगदमा पैसा फिर्ता गर्न नसक्ने भएकोले बैङ्कबाटै भुक्तानी गर्न छलफल चलिरहेको बताए ।

नेपाल सरकारले गत असोज २ गते नै दुई सेट रेल नेपाल ल्याइसकेको छ । हाल दुवै सेट रेल धनुषाको इनरुवा स्टेसनमा राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ