- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। विश्व खेलकुदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रूपमा उद्घाटन आज हुँदै छ। जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबिच ओलम्पिकको अपराह्न ४ बजेर ४५ मिनेटमा उद्घाटन हुनेछ।
उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधवारदेखि नै सुरु भइसकेको छ। ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो पुगिसकेका छन्। नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ।
उद्घाटन समारोहको मार्च पासमा नेपालको झन्डा पौडीकी कीर्तिमानी खेलाडी गौरीका सिंह र एलेक्जेन्डर (एलेक्स) शाहले बोक्नेछिन्। सन् २०२० मा आयोजना हुने मिति तय भएको ओलम्पिक कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो। दर्शकको उपस्थितिबिना प्रतियोगिता सञ्चालन हुन गइरहेको छ।
सुटिङकी कल्पनाले शनिवार बिहान प्रतिस्पर्धा गर्ने
नेपालबाट टोकियो ओलम्पिकमा सहभागी पाँच खेलाडीमध्ये सुटिङकी कल्पना परियारले शनिवार बिहान प्रतिस्पर्धा गर्ने छिन्। परियारले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। उनले एक साताअघि नै जापान पुगेर अभ्यास थालेकी थिइन्। परियारको खेल बिहान ५:१५ बजे सुरु हुनेछ।
टोकियो ओलम्पिकमा पौडीबाट गौरीका, एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने छन्। सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् भने अन्य चार खेलाडी पहिलो पटक ओलम्पिकमा सहभागी भएका छन्।
पौडीकी गौरीकाले पहिलो पटक सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन्। नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक प्राप्त गरेकी थिइन्। उनले महिला १०० मिटर फ्रि स्टाइल तथा शाहले पुरुष १०० फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्।
यसै गरी भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउनुहुनेछ । टोकियो ओलम्पिक यही साउन २४ गते सम्पन्न हुनेछ।