टोकियो ओलम्पिक : चीन १४ स्वर्ण पदकसहित शीर्ष स्थानमा
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
705
Shares
काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन १४ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनले ६ रजत र ९ कांस्यसहित कुल २९ पदक हासिल गरेको छ।
त्यसैगरि अमेरिका १३ स्वर्णसहित दोस्रो स्थानमा रहेको छ। अमेरिकाले १३ रजत र १० कांस्यसहित कुल ३६ पदक प्राप्त गरेको छ । तेस्रो स्थानमा जापान रहेको छ। जापानले १३ स्वर्ण ४ रजत र पाँच कांस्य प्राप्त गरेको छ।
यस्तै सात स्वर्ण, ११ रजत र सात कांस्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।
यसैगरी अस्ट्रेलिया सात स्वर्ण, दुई रजत र दश कांस्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत पाँच स्वर्ण, छ रजत र पाँच कांस्यसहित छैटौँ, दक्षिण कोरिया चार स्वर्ण, दुई रजत र पाँच कांस्यका साथ सातौँ, जर्मनी तीन स्वर्ण, तीन रजत र पाँच कांस्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, तीन रजत र तीन कांस्यका साथ नवौँ तथा इटाली दुई स्वर्ण, सात रजत र नौ कांस्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले खेलिसकेका छन् । चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन् ।
परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल तथा सिंहले १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेका थिए ।
टोकियो ओलम्पिकमा अब एथलेटिक्सकी सरस्वती चौधरीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । उनले शुक्रवार आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछिन् ।