arrow

ओली र गौतमबीच बैठकमै जुहारी, एमालेमा प्यानल नबन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
Bamdev-Gautam-Kp-Oli.jpeg

काठमाडौं। नेकपा (एमाले)को महाधिवेशनमा अब प्यानल नबन्ने भएको छ । केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्तावलाई पारित गर्दै अबदेखि हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दा निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने व्यवस्था गरेको छ । 

उक्त बैठकमा केपी ओली र बामदेव गौतमबीच भनाभनको स्थिति पैदा भएको थियो। गौतमले ओलीको भूमिकालाई लिएर प्रश्न गरेका थिए। पार्टीको संरचनाका बारेमा बसेको बैठकमा एक पक्षलाई बाहिर राखेर बैठक गर्न नहुने तर्क गौतमको थियो। 

ओली र गौतमबीच जुहारी 

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल समूहविना नै अघि बढ्न खोजेपछि स्थायी कमिटी बैठकमा उपस्थित भएका उपाध्यक्ष वामदेवले आपत्ति जनाएका थिए । स्थायी कमिटी बैठकमा एउटा पक्षलाई बाहिर राखेर जे छलफल भइरहेको छ त्यो गलत भएको छ, कि कारबाही गरेर हटाइदिनुस् होइन भने पार्टीभित्र आउने वातावरण बनाएर सँगै राखेर छलफल गर्नुस् भन्दै गौतमले आपत्ति जनाएका हुन् । 

तर ओलीले उहाँहरूलाई आउन कसले छेकेको छ भनेपछि गौतमले तुरुन्तै तपाइले छेकको हो, यसमा तपाई कै भूमिका छ भनेर जवाफ फर्काएका थिए । ‘आजको स्थायी कमिटी बैठकमा वामदेव गौतमले ओलीको भूमिकाको विषयलाई लिएर प्रश्न गरेका छन् जुन जायज थियो’, स्थायी कमिटी बैठकमा सहभागी एक नेताले भने । 

गौतमले विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका यी अधिकारहरू’ भन्ने शीर्षकमा केही अधिकार थप्नुपर्ने भन्दै ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ’ र ‘पार्टी अनुसन्धानात्मक कारबाही’ शीर्षकअन्तर्गत पनि थप केही बुँदाहरू थप्नुपर्ने बताउँदै ओलीलाई व्यङ्ग्य गरेको ती सहभागीले बताए । ‘पार्टी अनुशासन उल्लङ्घन गर्नेहरूमध्ये प्रकृति हेरेर कतिलाई अपराधी भन्न सकिनेछ, कतिलाई गद्दार भन्न सकिनेछ र कतिलाई देशद्रोही पनि भन्न सकिनेछ’ अध्यक्षलाई यो अधिकार दिने गरी विधानमा प्रस्ताव पनि गरौँ भनेर ओलीप्रति व्यङ्ग्य गरेका थिए । 

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भएका राजनीतिक मतभिन्नताका सन्दर्भमा अध्यक्ष केपी ओलीले माधव नेपाललाई अपराधी भन्नुभयो, गद्दार र देशद्रोही पनि भन्नुभयो । अध्यक्षले त्यस्तो भन्न पाइन्छ भनेर विधानमा व्यवस्था गर्नुस्–यो, बोल्नुहुँदैन भने किन बोल्नुभयो ? यस्तो मनपरी गर्न पाइँदैन , पार्टीमा कसैले गल्ती गर्‍यो भने राजनीतिक कारबाही हुने भन्दै अध्यक्षले नै गल्ती गर्दा कारबाही हुने कि नहुने भन्दै थप प्रश्न गरेका थिए । 

ओलीले पनि गौतमको कुरालाई बिचमै काट्दै पार्टीभित्र अराजकता नचल्ने, यसले पार्टीलाई गलत दिशामा लैजाने बताएका थिए । तर गौतमले पार्टीको अध्यक्षले नै जथाभाबी बोल्दै हिँडेपछि कसलाई विश्वास गर्ने ? अध्यक्षको भनाइले घर मुली नै घरका सदस्यलाई घरबाहिर निकाल्ने प्रयास गरिरहेका छन् भन्ने देखाउँदैन र भन्दै प्रश्न गरेका थिए । ओलीसँग सवाल जवाफ गरेपछि उपाध्यक्ष गौतम आफ्नो काम भएको भन्दै केन्द्रीय कमिटीको बैठकमा नबसी बाहिरिएका थिए ।

एमालेको संरचना कस्तो हुने?

यसअघि पार्टीको आठौँ र नवौँ महाधिवेशनमा प्यानलगत रूपमा उम्मेदवारी दर्ता गराएर निर्वाचन भएको थियो । यसले गर्दा महाधिवेशनमा गुटगत अन्त्य हुने छ । पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पारित गरिएको विधानमा अध्यक्ष र सदस्य महाधिवेशन वा अधिवेशनबाट निर्वाचित हुने व्यवस्था राखिएको जानकारी दिए । संशोधित नयाँ विधानमा अन्य पदाधिकारी कमिटीले निर्वाचित गर्नेछ । 

उनका अनुसार अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, उपमहासचिव दुई र सचिव सात जनाको व्यवस्था गरिएको छ । नवौँ महाधिवेशनमा अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव दुई र सचिव पाँच रहेका थिए । पदाधिकारी समावेशिताको व्यवस्था तोके बमोजिम हुने कुरा नयाँ संशोधित विधानमा उल्लेख छ । 

यस्तै पार्टीले सबै तहका पार्टी कमिटी, आयोग वा परिषद्मा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था विधानमा उल्लेख गरिएको छ । हालको केन्द्रीय कमिटीबाट केन्द्रीय कमिटीको सदस्य सङ्ख्या बढाएर २२५ कायम गर्ने भनिएको छ । 

केन्द्रीय कमिटीमा वैकल्पिक सदस्यको व्यवस्था हटाउने र केन्द्रीय कमिटीले मनोनीत गर्न सक्ने केन्द्रीय कमिटीको सदस्य सङ्ख्या बढीमा १० प्रतिशत कायम गर्ने संशोधित विधानमा उल्लेख छ । पोलिटब्यूरोको व्यवस्था हटाउने र केन्द्रीय कमिटीअन्तर्गत ३५ सदस्यीय स्थायी कमिटी गठन गर्ने नयाँ विधानमा रहेको पार्टी कार्यालय सचिव तामाङले जानकारी दिए । 

राजनीतिक तथा सङ्गठनात्मक कामको नेतृत्व गर्न अध्यक्षको नेतृत्वमा सात सदस्यीय सचिवालय र प्रशासनिक तथा व्यवस्थापकीय कामको नेतृत्व गर्न महासचिवको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गर्ने व्यवस्था गरिएको छ । प्रदेश र जिल्ला कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवको व्यवस्था गरिएको छ । 



नयाँ