arrow

यसरी भयो नेपाली कांग्रेसको जन्म र पहिलो महाधिवेशन

logo
बाबु नेपाली,
प्रकाशित २०७८ भदौ १९ शनिबार
nepali-congress-1st convation.jpg

नेपाली कांग्रेस नेपालमा स्थापित सबैभन्दा पुरानो दल हो । पहिले सीमित उद्धेश्यका साथ खोलिएको यो दलले वृहत रुप लिँदै गर्दा पटक पटक सत्ताको बागडोर सम्हालिसकेको छ । जति अहिले कांग्रेस स्थापित पार्टी छ यसको जग हाल्न भने त्यत्ति नै गाह्रो भएको थियो । 

जहाँनियाँ राणा शासनका अगाडि जस्तासुकै अठोटलाई पनि पछार्ने काम हुँदै आएको जमाना थियो । चार शहीदले त्यसै आफ्नो प्राणको आहुती दिएका हैनन् । उनीहरुलाई जब निहत्था तड्पाइतड्पाइ मारियो तब बाहिर खुल्ने अवस्था रहँदै रहेन । 

तर तानाशाहको अन्त्य जरुरी छ भन्ने वौद्धिक लहर भित्रभित्र बढेको थियो । त्यसै अनुरुप नेपालमा एकत्रित हुन नसकेका बेलामा भारतमा रहेका नेपालीलाई संगठित गर्ने उद्देश्यले नेपालीहरु भेला भएर यसको स्थापना गरेका थिए । जननायक वीपी कोइरालाले २००३ साल असोज १६ गते (२ अक्टुबर १९४६) मा भारतको पटनाबाट प्रकाशित हुने ‘द सर्च लाइट’ पत्रिकामार्फत भारतमा रहेका नेपालीलाई संगठित गर्ने उद्देश्यले नेपालीको अखिल भारतीय संगठन निर्माणका निम्ति गरेको आह्वानबाट यसको जन्म भएको मानिन्छ । 

त्यही आह्वानपछि वीपीको सक्रियतामा २००३ साल कार्तिक १५ (३१ अक्टोबर, १९४६) गते ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ नामक संस्थाको स्थापना भयो । बनारसमा बस्ने नेपालीलाई संगठित गरी वीपीका बाबु कृष्णप्रसाद कोइरालाका समकालीन देवीप्रसाद सापकोटाको सभापतित्वमा यो संस्था स्थापना भएको हो । 

संगठनलाई थप सशक्त बनाएर एजेन्डासहित अगाडि बढ्नका लागि समारोह आयोजना गर्ने तय भयो । सोही अनुरुप २००३ माघ १२ र १३ गते विशेष समारोह आयोजना भयो । उक्त समारोहको सभापतित्व वीपी कोइरालाले गरे । तत्कालीन कलकत्ताको भवानीपुरस्थित खालसा हाइस्कुलमा  भएको उक्त कार्यक्रमको झण्डोत्तोलन डा. डिल्लीरमण रेग्मीले गरेका थिए । उक्त भेलामा नेपालको जेल तोडेर गएका गणेशमान सिंहलगायत नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका नेपाली प्रतिनिधिको सहभागिता रहेको थियो । उक्त भेलालाई पार्टीको प्रथम महाधिवेशनको रुपमा परिणत गरी पार्टीको नामसमेत परिवर्तन गरी ‘नेपाली राष्ट्रिय कांग्रेस’ राखिएको थियो ।

यसरी औपचारिक रुपले नेपाली राष्ट्रिय कांग्रेस जन्मियो । त्यही महाधिवेशनले वीपीलाई पार्टीको कार्यकारी सभापति र आजीवन कारावासको सजाय तोकिएका टंकप्रसाद आचार्यलाई मानार्थ सभापति चयन गर्यो । यही महाधिवेशनले ‘जनताका अधिकार नबुझ्ने राजा प्रजाको शत्रु हो’ भन्ने मान्यता आत्मसात गरेको थियो । 

उक्त महाधिवेशनलाई भारतीय राष्ट्रपतिलगायत दर्जनौँ भारतीय नेताले शुभकामना सन्देश दिएका थिए । वीपीले भारतीय संग्राममा समेत अग्रस्थानमा रहेर भाग लिएकाले गर्दा नेताहरु उनलाई राम्रोसम्म चिन्दथे । यही महाधिवेशनले नेपालमा प्रजातन्त्रको आवश्यकता खड्किएको निष्कर्ष निकाल्यो र प्रजातन्त्रका लागि बिगुल फुक्यो । त्यसका लागि अहिंशात्मक जनक्रान्ति गर्ने उद्देश्य राख्यो । 

त्यसपछि २००४ सालमा बनारसमा र २००५ सालमा दरभंगामा राष्ट्रिय कांग्रेसको महाधिवेशन भएको थियो । यस अवधिमा राणा विरोधी आन्दोलनका क्रममा वीपी कोइराला बन्दी भए । वीपी बन्दी भएपछि डिल्लीरमण र मातृकाप्रसादलाई २००४ र २००५ का महाधिवेशनले पार्टी सभापति चयन गरेको थियो । 

वीपी जेलमुक्त भएपछि आफैँ पार्टी सभापति रहेको दाबी गरे । त्यसपछि नेपाली राष्ट्रिय कांग्रेस विभाजनतर्फ लाग्यो । रेग्मी र कोइराला समूहमा कांग्रेस विभाजित भयो । यही किचलो चलिरहँदा २००५ सालमा सुवर्ण शमशेर राणाले कलकत्तामै ‘नेपाल प्रजातन्त्र कांग्रेस’ गठन गरे ।

यता पनि कांग्रेस र उता पनि कांग्रेस हुँदा केही समय तनाव उत्पन्न भयो । नेपालीहरु बाँडिए । यसले प्रजातन्त्र प्राप्तिको लक्ष्य धर्मलाउने स्थिति ल्यायो । तानाशाहले थप खेल्ने अवसर पाउने स्थिति बन्यो । तब दुवै पार्टी एक हुने निर्णय भयो । अनिमात्र २००६ सालमा पार्टी एकता भएर ‘नेपाली कांग्रेस’ जन्मियो । 

२००६ सालमा कोइराला समूह र सुवर्ण शमशेरको प्रजातन्त्र कांग्रेसबीच एकता भई कोलकातामा दुई पार्टीबीच एकता महाधिवेशन भएको थियो । त्यसपछि मात्रै नेपाली कांग्रेसको विधिवत् पहिलो महाधिवेशन २००६ चैत २७ गते भारतको कलकत्ता (हालको कोलकाता) मा भयो । यो महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सभापति चुन्यो । (विभिन्न दस्तावेजहरुको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ