arrow

‘जय नेपाल’ शब्दबारे रोचक इतिहासः सात सालको क्रान्तिमा घन्किएको जय नेपाल संविधानमै राख्न दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
jay nepal.jpg

काठमाडौं । यतिबेला नेपाली कांग्रेसको १४औं महाधिवेशनको रौनक छ । कांग्रेस कार्यर्ताहरु सभा, सम्मेलन, भेटघाटमा व्यस्त छन् । संभवत यो समयमा ‘जय नेपाल’ शब्द औधी प्रयोग भइरहेको छ । विशेषत कांग्रेस कार्यकर्ताहरु भेट हुँदा र छुट्टिदा ‘जय नेपाल’ भन्ने गर्छन् । त्यसैले यो शब्दलाई कांग्रेसको निजी शब्द भनियो ।

सामान्यत भेटघाटका क्रममा जसले ‘जय नेपाल’ भन्यो उ नेपाली कांग्रेस पार्टीसँग आस्थावान रहेछ भनेर बुझियो । नेपालका कम्युनिष्ट पार्टीहरुले यो शब्दलाई प्रयोग गर्न त्यति रुचाउँदैनन् । उनीहरु ‘लाल सलाम’ वा ‘अविवादन’ भन्न रुचाउँछन् । नेपालको भलो होस, राम्रो होस, प्रगति होस भनेर सम्बोधन गरिने जय नेपाल शब्दका बारेमा धेरैलाई भ्रम छ । यसको ऐतिहासिक महत्व र सान्दर्भिकताका बारेमा धेरैलाई अनभिज्ञता हनुसक्छ ।

किनकी व्यक्ति पेशा र सन्दर्भमा फरक फरक अर्थ लाग्ने गरि यो शब्दको प्रयोग भइरहेको छ । यो वाक्य राष्ट्रिय अभिवादनको रुपमा पनि प्रयोग भैरहेको छ । सैनिक प्रहरीले आफ्नो अभिवादनमा जय नेपाल शब्द प्रयोग गर्ने गर्छन । यस्तै राजनीतिक रुपमा कांग्रेस र कांग्रेस निकट रहेकाहरुले पनि अभिवादन गर्नुपरे जय नेपाल भन्ने गर्छन् ।

कसैले जय नेपाल भन्यो भने कि त्यो सेना वा प्रहरी हो कि त्यो नेपाली कांग्रेसको कार्यकर्ता हो बुझ्ने चलन छ ।  विदेशमा जय नेपाल भनेर सम्बोधन भएमा नेपाली रहेछ भनेर बुझ्ने गरिन्छ । खासमा यो वाक्य कसरी प्रयोगमा आयो कसले प्रयोगमा ल्यायो भन्ने बारेमा बुझ्नु जरुरी छ । गोपालप्रसाद रिमाल र शुक्रराज शास्त्रीले जय नेपाल भन्ने चलन चलाए भन्ने पनि छ । तर त्यसको आधिकारिक प्रमाण रेकर्ड पाइदैन । प्राप्त जानकारी अनुसार क्रान्तिकारी कवि रिमाललगायतका युवाहरु आपसी भेटमा जय नेपाल भनेर अविवादन गर्दथे । वि.स.१९९७ सालमा शुक्रराज शास्त्रीलाई फाँसीको बेला राणाहरुले अन्तिम इच्छाका बारेमा सोध्दा ‘जय नेपाल’ शब्द उच्चारण गरेको इतिहास पाइन्छ ।

त्यस्तै नेपालमा राणा शासन छँदा कै कुरा हो । भारतमा अंग्रेजहरुको उपनिवेस शासन थियो । त्यो बेला स्वतन्त्रता आन्दोलनमा लागेका भारतीय कांग्रेस र समाजवादी नेताहरु आपसमा जय हिन्द भनेर सम्बोधन गर्दथे ।  बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायत धेरै नेपाली युवाहरु भारतीय स्वतन्त्रता आन्दोलनमा सकृय रुपमा सहभागी थिए । भारत स्वतन्त्र नभएसम्म नेपालबाट राणा शासन अन्त्य गर्न सकिदैन भन्ने उनीहरुको वुझाई थियो ।

भारत स्वतन्त्र हुने करिव करिव तय भएपछि नेपालमा राजनीतिक दलहरु खुल्न थाले । नेपाली कांग्रेसका नेताहरु बीच जय नेपाल भनेर सम्बोधन गर्ने चलन त्यही बेला शुरु भएको हो भन्ने पाइन्छ । त्यो बेलासम्म नेपाललाई गोर्खा भनिन्थ्यो । काठमाडौंलाई मात्र नेपाल भन्ने चलन थियो । पछिसम्म पनि त्यो चलन रह्यो । हामी भन्दा अघिको पुस्ताले काठमाडौंलाई नेपाल नै भनिन्थ्यो ।

नेपाली कांग्रेसमा खास गरी बीपी कोइरालाले काठमाडौंलाई काठमाण्डौं र मेची देखि महाकालीसम्मलाई नेपाल भन्ने चलन चलाएका थिए । २००७ सालको क्रान्ति देखि त्यसलाई आन्दोलनकै रुपमा अघि वढाइयो । मुक्ति सेनाका जवानहरु विच भेट्दा र छुट्टिदा जय नेपाल भन्ने चलन शुरु भयो । त्यसैको आधारमा पुलिसले अहिले पनि जय नेपाल नै भन्ने गरेको छ । २००७ सालको क्रान्तिका बेला पनि जय नेपालको नारा खुबै घन्किएको बुढापाकाहरु बताउने गर्छन् ।

यसबारेमा अर्को तथ्य पनि छ । ०७ सालको क्रान्ति सफल भएपछि मुक्ति सेनाका धेरै कमाण्डरहरु नेपाल प्रहरीमा समाहित भए । प्रहरीको उच्चपद आईजीपी पनि भए । जसमा जीबी याकथुम्वा, पूरण सिंह खवास, रोमवहादुर थापा र डीबी लामा लगायत थिए । त्यसबेला पनि जय नेपाल वाक्य प्रयोग गरिएको थियो ।

त्यसैगरी रेडियो नेपालले अहिले पनि दिनको सुरुवात जय नेपालबाट गर्छ । किनभने नेपाली कांग्रेसले क्रान्तिको वेला तारिणीप्रसाद कोइरालाले खोलेको प्रजातन्त्र रेडियोले ‘जय नेपाल’ भनेर प्रशारण शुरु गर्दथ्यो । पछि विराटनगरबाट त्यही रेडियोलाई काठमाडौं ल्याएर रेडियो नेपालमा परिणत गरियो । त्यसैले रेडियो नेपालले अहिले पनि प्रशारण शुरु गर्दा जय नेपाल भनेर प्रशारण शुरु गर्छ ।

सिङ्गो नेपालको कल्याण होस भनेर शुरु भएको जय नेपाल सम्बोधन अहिले कांग्रेस र प्रहरीले मात्र प्रयोग गर्नुलाई त्यति उचित मानिएको छैन् । कांग्रेस नेता एवम सांसद भीमसेनदास प्रधानले जय नेपाल शब्दलाई राष्ट्रिय अभिवादनका रुपमा स्वीकार्नुपर्छ भनेर संसदमा पटक पटक आवाज उठाउँदै आएका छन् । उनले संविधान संशोधन गर्दा राष्ट्रिय अभिवादनका रुपमा संविधानमा जय नेपाल शब्द राख्नुपर्ने बताउँछन् । उनी भन्छन्,‘हाम्रो राष्ट्रिय जनावार, राष्ट्रिय गान छ त्यसैले अभिवादनका रुपमा जय नेपाल शब्द संविधानकै सूचीमा राख्नुपर्छ ।’ विदेश जाँदा होस या राष्ट्रिय सभा समारोहमा यो शब्द प्रयोग गरिनुपर्ने सांसद प्रधानको माग छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जय नेपाल शब्दबारे त तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले ‘जय नेपाल’ शब्द राजा महेन्द्रले २०१७ साल पुस १ गते ‘कु’ गर्ने बेला शुरु गरेकाले कांग्रेसले किन प्रयोग गरिरहेको भनेर प्रश्न उठाएपछि आपत्ति जनाउँदै जय नेपालको स्वाभिमानी भावलाई कसैले विवाद र बहसमा ल्याउन नहुने भन्दै आक्रोश नै ब्यक्त गरेका थिए । उनले भनेका थिए, ‘कमरेड, हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिन्न ।’ हुनत हालको राष्ट्रगानमा पनि अन्तिम हरफमा ‘जय जय नेपाल’ प्रयोग गरिएको छ । किनकी जय नेपाल शब्द राष्ट्रियताको प्रतिकका रुपमा स्वीकार्नुपर्ने आवज उठेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ