- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हालको नेपाली कांग्रेस २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेस हुँदै २००६ सालमा मात्र नेपाली कांग्रेस नामाकरण भएको हो । त्यसयता नेपाली कांग्रेस अनवरत चलिरहेको छ ।
नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएसँगै यसको पहिलो महाधिवेशन २००३ साल माघ १२ र १३ गते भारतको कोलकाता (तत्कालीन कलकत्ता) मा भएको थियो । त्यहीँ यसको नामाकरण नेपाली राष्ट्रिय कांग्रेस गरियो । वीपी कोइराला कार्यकारी सभापति रहेका थिए भने टंकप्रसाद आचार्यलाई मानार्थ सभापति दिइएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेसको दोस्रो महाधिवेशन २००४ सालको माघ २० देखि २२ गतेसम्म भारतको बनारसमा भएको थियो । कार्यकारी सभापति वीपी कोइराला नै रहेका थिए । उनकै वौद्धिक विवेकमा कांग्रेसले अहिंसात्मक आन्दोलनलाई तीव्रता दिने बताएको थियो ।
सभापति टंकप्रसाद उपाध्याय सात वर्षदेखि जेलमा रहेका कारण वीपीले कार्यकारीका रुपमा पार्टी संचालन गरेका थिए । उक्त दोस्रो महाधिवेशनमा वीपीले आफूलाई खोक्रो वैधानिक परिवर्तन नचाहिएको बताए । उनले देशमा हुने हरेक परिवर्तनको अधिकांश जश कांग्रेसलाई जानेसमेत उल्लेख गरे ।
उक्त महाधिवेशनमा पाँच वटा प्रस्तावहरु राखिएका थिए । ती प्रस्ताव सबै सर्वसम्मत निर्विरोध पारित भएका थिए । उक्त महाधिवेशनले भारतको जवाहरलाल नेहरू नेतृत्वको सरकारलाई सहयोग गर्नेसमेत निर्णय गरेको थियो ।
तत्कालीन अवस्थामा नेपालको जनसंख्या एक करोडको हाराहारीमा थियो । त्यसमा पनि सबैजसो किसान । तर किसानको आर्थिक जीवनोस्तर उकास्नेबारे कसैले सोचेको थिएन । पहिलो पटक कांग्रेसले किसानका समस्या र नेपालको अरु आर्थिक जीवन सम्बन्धी चासो राखेर त्यसलाई अगाडि बढाउने निर्णय गरेको थियो ।
नेपाली राष्ट्रिय कांग्रेसको दस्तावेजीकरणका लागि तत्कालीन अवस्थामा के भएको थियो भनी नेपाली राष्ट्रिय कांग्रेसको दोस्रो महाधिवेशनबारे ‘नेपाली कांग्रेस ऐतिहासिक दस्तावेजबाट’ जस्ताको त्यस्तै यी प्रसङ्गहरुलाई साभार गरेका छौं ।
‘नेपाली राष्ट्रिय काँग्रेसको यो द्वितीय अधिवेशन यो निणर्य गर्दछ कि नेपालका एक करोड जनता, जो वर्तमान राजनीतिक, आर्थिक र सामाजिक आदि हरतरहको विषमताले थिचिई मिचिई साधारण मनुष्योचित अधिकार र जीवन धारणाका साधनसम्मबाट बञ्चित भई जुन गहन दरिद्रताको ज्वाला र अन्धकारका गतिमा डुबेका छन् त्यसबाट छुटकारा पाउनलाई छटपटिइरहेको आन्तरिक भावनालाई उन्मुक्त गरी राष्ट्रिय चेतना जगाई जनबलद्वारा साधारण जनताका भलाईका लागि आफ्नु अधिकार प्राप्तिका निमित्त अग्रसर गराउने यस प्रकारको जनताको संस्था आवश्यक सम्झी यो नेपाली राष्ट्रिय काँग्रेसको जन्म भएको हो । यसको मूख्य उद्देश्य नेपालमा श्री ५ महाराजाधिराजको वैधानिक अधिनायकत्वमा उत्तरदायी शासन कायम गर्नु नै हो ।
तथापि समय र परिस्थितिअनुसार सो चरम लक्ष्यको पूर्तिलाई राजनैतिक कदम बढाउँदा क्रमशः अगाडि बढ्दै जानु पर्ने र आफ्नू अन्तिम लक्ष्यसम्म पुग्न नसके तापनि त्यस तर्फको अग्रसर प्रगतिमा आंशिक सफलता प्राप्तिले पनि केही कालका लागि सन्तोष गर्नु पर्ने आवश्यकता परिआउने हुन्छ । यस संस्थाद्वारा सञ्चालन भएका हालैका ऐतिहासिक आन्दोलनले गर्दा अभूतपूर्व चेतना र जागृति नेपालका मूक जनतामा आयो । एवम् यसले गर्दा नेपाल सरकारलाई केही सुधारको घोषणा गर्न बाध्य हुनुपर्यो ।
सो घोषणामा विस्तृत रूपले हुने सुधारको विवरण देखिएको छैन र विस्तृतरूपले प्रकाशित भएको बेला त्यसको विवेचना गर्नु उपयुक्त होला । तर हामीले यस कुराको ध्यान राख्नु उचित छ कि सो हुने घोषणामा वर्तमान नेपालमा चलिरहेको शासन प्रणालीको बिल्कुलै मूलोच्छेद अवश्यै एकै पटकमा रहेको हुनेछैन ।
हाम्रो व्यक्तिविशेष वा वंशविशेषसँग द्वेष नभएकोले साधारण जनताको मौलिक राजनैतिक अधिकारको अपहरण भइरहेको खण्डमा जनतालाई पूरा अधिकार दिई सुधारको घोषणा गर्ने भएमा हाम्रो चरमलक्ष्य अर्थात् पूर्ण उत्तरदायी शासन एकै बाजी हुन नसके तापनि बीचका समयलाई सोभन्दा केही कम्ती जनताले अधिकार पाउने भएमा पनि हामीले घोषित सुधारको गुणदोष विवेचना गरी स्वीकार गर्न योग्य ठहरिएमा स्वीकार गर्नेछौं ।
अरू प्रस्ताव निम्नलिखित विषयका थिएः
बर्माको नवार्जित स्वतन्त्रतामा हर्ष प्रकट गरेको ।
भारतको नेहरू सरकारलाई भारतीय नेपालीले संहयोग दिने ।
नेपालका किसानहरूको समस्या विषयक तथा नेपालको अरू आर्थिक जीवनसम्बन्धी
रेडियोमा नेपाली प्रोग्रामसम्बन्धी
राजबन्दीहरूप्रति उचित व्यवहारसम्बन्धी
सबै प्रस्ताव निर्विरोध स्वीकृत भए ।
यस अधिवेशनमा भाग लिन श्री चन्द्रदास राईका नेतृत्वमा सिक्किम राज्य काँग्रेसले एउटा भ्रातृ प्रतिनिधिमण्डल पनि पठाएको थियो । सम्मेलनले एउटा प्रस्तावद्वारा ही उनीहरुको मागलाई उचित ठहरायो । यस वर्षका लागि पनि श्री टंकप्रसाद उपाध्याय (हाल ७ वर्षदेखिन नेपाल जेलमा) नेपाली राष्ट्रिय काँग्रेसका सभापति र उहाँका स्थानमा काम गर्न श्री विश्वेश्वरप्रसाद कोइराला कार्यकारी सभापति निर्वाचित हुनुभयो । श्री बालचन्द्र शर्मा एमए. साहित्यरत्न नै प्रधानमन्त्री र श्री नरेन्द्रप्रसाद रेग्मी कोषाध्यक्ष हुनुभयो । कार्यकारी सभापतिज्यूले कार्यसमितिका १५ जना सदस्यहरूमध्ये तीन जनाको नाम पछि घोषित गर्ने हुनुभएको छ ।
केन्द्रीय आयव्ययको ब्यौरा
प्रधानमन्त्री श्री बालचन्द्र शर्माले खुल्ला अधिवेशनमा गत वर्षको रिपोर्ट पढ्दै केन्द्रित आय(व्ययको व्यौरा पनि दिनु भयो । नेपाली राष्ट्रिय काँग्रेसको गत वर्ष ९३१ दिसम्बर १९४७ ई। सम्म० आम्दानी कं रू ७५७४ भएकोले संस्थाले कोषध्यक्षलाई कं. रू. ९११ तिर्न परेको रहेछ ।
यो सभा कार्यकारी सभापति श्री विश्वेश्वरप्रसाद कोइरालाको भाषण र अन्तमा राष्ट्रिय गायनपछि समाप्त भयो ।
कार्यकारी सभापति श्री विश्वेश्वरप्रसाद कोइरालाको भाषणको सारांश
कार्यकारी सभापति श्री कोइरालाले खुल्ला अधिवेशनमा व्याख्या दिँदै भन्नुभयो कि नेपाल जो एक वर्षअघि थियो आज छैन । हिजो र आजको नेपालमा ठूलो अन्तर परिसकेको छ । यसबीच भारत वर्षमा जे जे राजनीतिक परिवर्तन भए त्यसको ठूलो प्रभाव नेपालको राजनीतिमा परेको छ । तर, नेपालमा जुन राजनीतिक परिवर्तन हुनेछ त्यसको अधिकांश श्रेय नेपाली राष्ट्रिय काँग्रेसलाई नै छ ।
श्री कोइरालाले अगाडि भन्नुभयो हामीलाई खोक्रो वैधानिक परिवर्तन चाहिन्न । हामीले नेपालमा श्री ५ महाराजाधिराजको वैधानिक अधिनायकत्वमा जनताको उत्तरदायी शासन नै आफ्नू उद्देश्य भन्ने कुरा नेराकाको उद्घाटनको अवसरमा कलकत्तामा नै निश्चित गरिसकेको छ । यदि यस उत्तरदायी शासनको अर्थ केवल खोक्रो वैधानिक परिवर्तन अथवा प्रजातन्त्रवादको बोक्रो सिद्धान्तमा भए यसको हामीलाई कुनै आवश्यकता छैन । हामीले खोजेको उत्तरदायी शासनमा नेपालको सम्पूर्ण जनताको सब प्रकारको सामूहिक सुख सन्निहित छ । हामीले भावी नेपालको जुन कल्पना गरेका छौं । त्यसमा कोही भोको बस्ने छैन, कोई नांगो रहने छैन, कोई अशिक्षित हुनेछैन । यो तबसम्म सम्भव छैन जबसम्म स्वयं जनता आफ्नू हक लिनको लागि सामूहिक रूपले अहिंसात्मक मार्गमा हिँड्न तयार हुन् । जनता स्वयं यसप्रकार तैयार भएपछि विश्वको कुनै शक्ति पनि उसलाई थिचोमिचो पारेर राख्न सक्तैन । ’