arrow

महाधिवेशनमा कांग्रेस

पाँच सालमै आत्तिएको थियो राणाशासन कांग्रेससँग  

नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो तथा अन्तिम महाधिवेशनमा यसो भने पार्टीका प्रधानमन्त्री बालचन्द्र शर्माले 

logo
बाबु नेपाली,
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
napali-rastriya-congress-3rd-convention.jpg

काठमाडौं । २००३ सालमा खडा भएको नेपाली राष्ट्रिय कांग्रेसले पार्टीको अस्तित्व रहुन्जेल तीन वटा महाधिवेशन गर्यो । अर्थात् उसले हरेक वर्ष महाधिवेशन गर्यो । २००६ सालमा भने दुई पार्टीबीच एकता भएसँगै नेपाली कांग्रेसमा परिणत भयो । यस अर्थमा राष्ट्रिय कांग्रेसले तीन वटामात्र महाधिवेशन गर्न पायो । नेपाल र नेपालीको हकहितका लागि भए पनि यसले नेपालमा प्रत्यक्ष गतिविधि भने गर्न पाएन । तर जति गर्यो त्यो धेरै थियो । 

जहाँनियाँ राणाशासनका कारण उसले प्रत्यक्ष रुपले राजनीति गर्न पाउने माहोल पाएन । अझ भनौं कुनै अस्तित्व पाएन । तर यही राष्ट्रिय कांग्रेसको जगबाट २००६ सालमा बनेको नेपाली कांग्रेस अहिलेसम्म सबैभन्दा मुख्य लोकतान्त्रिक पार्टीका रुपमा स्थापित छ । २००७ सालको प्रजातन्त्र ल्याउनदेखि नेपालका हरेक परिवर्तनमा मूख्य भूमिकामा कांग्रेस रहिआएको छ । 

नेपाली राजनीतिमा सबैभन्दा सशक्त दल नेपाली कांग्रेसको जग नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो महाधिवेशन भारतको बिहार राज्यको दरभङ्गामा भएको थियो । २००५ साल फागुन १८ गते भएको महाधिवेशनले के कस्ता कार्यक्रम तय गरेको थियो त भनी दस्तावेज खोतल्दै जाँदा पार्टीका प्रधानमन्त्री बालचन्द्र शर्माले दिएको सम्वोधन भाषण निकै नै फलदायी हुने देखिन्छ । 

यो सम्वोधनबाटै नेपालमा छिट्टै प्रजातन्त्र आउने दाबी गरिएको छ । विराटनगर जुटमिलबाट थालिएको विद्रोहको उद्घोषपछिको दुई वर्षमा निकै नै सफल भइसकेको दाबीसमेत गरिएको छ । त्यसैगरी राणाहरु राष्ट्रिय कांग्रेसको गतिविधिप्रति आत्तिएकोसमेत बताइएको छ । 

साथै उक्त सम्वोधनमा भारतमा महात्मा गान्थीको अहिंसावादी आन्दोलन सफल भएकाले नेपालमा पनि आफूहरु हिंसारहित आन्दोलनबाटै सफल हुने समेत दाबी गरिएको छ । उक्त महाधिवेशनमा वीपी कोइराला भने उपस्थित थिएनन् । उनी काठमाडौंमा गिरफ्तार भएका थिए । 

हामीले यो दस्तावेजलाई डा. सूर्यमणि अधिकारीले ‘नेपाली कांग्रेसको इतिहास (२०५९) बाट लिएका हौं । शर्माले फागन १८ गतेको महाधिवेशनमा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

शर्माको उक्त वार्षिक प्रतिवेदन जस्ताको त्यस्तै–
 २००५ फागुन १८ गते, दरभङ्गा
 आदरणीय सभापतिज्यू,
निमन्त्रित सज्जन एवं महिलागण तथा साथी,
आज हामी यहाँ आफ्नू प्यारो संस्था –नेपाली राष्ट्रिय काँग्रेसको तृतीय वार्षिक अधिवेशन गर्न भेला भएका छौँ । नेपाल जस्तो देशमा जहाँ स्वार्थी शासक वर्गको नाना प्रकारको कुचक्र र अमानुषिक दमन–नीतिले आजको यस्तो प्रगतिशील युगमा पनि देश र राष्ट्रको प्रति समुचित प्रेम, भक्त र कर्तव्यपरायणताको भावना उदय पनि हुन दिएको थिएन । काम गर्ने कुनै राजनीतिक संस्थासित दुई वर्षको सानु अवधिमा कुनै ठूलो र स्पष्ट लाभको आशा गर्नु उचित मानिन सकिन्छ । तापनि यति नै समयमा हाम्रो प्रिय संस्था र त्यसमार्फत हाम्रो स्वदेशले जे जति उन्नति गर्न सक्यो त्यो निकै उत्साहवर्धक छ । विराटनगर–मिल हड्ताल र त्यसपछिको हाम्रो तत्वाधानमा नागरिक हकका निमित्त चल्ने नेपालको प्रथम अहिंसात्मक र शान्तिपूर्ण जनआन्दोलन र त्यसको महत्वउपर हामीले अनेक पटक विभिन्न स्थलमा विचार गरिसकेका छौ र यहाँ ती सबै कुराको फेरि चर्चा गर्नु अनावश्यक छ । 

संक्षेपमा–नेपाली राष्ट्रिय काँग्रेसद्वारा उपयुक्त घटनाले गर्दा युग युगदेखि दलित–पिसित, सुख र उन्नतिदेखि निराश भइसकेका हाम्रा स्वदेशी बन्धुहरूको मनमा पनि आशाको नवीन किरण प्रस्फुटन हुन लाग्यो । आज हाम्रा देशवासी–स्वदेश वा प्रवासमा–हाम्रा संस्थातिर आशालु नयनले हेर्दै आफ्नू मानबौचित अधिकार–प्राप्तिको दिन गन्दै छन्‌ । साथै हामी एक कोटी जनताको सारा अधिकार आजसम्म आफ्नु मुठ्ठीमा कसिराख्ने व्यक्तिहरू पनि अनुभव गर्दैछन्‌ कि उनीहरूको पञ्जा विस्तारै शिथिल हुँदै गइरहेको छ ।

त्यसको बचावटको निमित्त अनेक दाफैँपेच चल्दै छन्‌ । कहिले सुधारको मृगमरीचिका देखाइन्छ, कहिले अन्तर्राष्ट्रिय गुटबन्दीमा प्रवेश गरी खस्न लागेको एकतन्त्रलाई भर दिने प्रयत्न गरिएको देखिन्छ, कहिले देशको रहे–सहेको श्रीसम्पत्ति अर्काको हातमा सुम्पने अनेक दुरभिसन्धिको गन्ध पनि पाइन्छ । हाम्रा वर्तमान शासकहरूको यो वेचैनीले पनि हामीलाई निकै बल दिन्छ । हाम्रो लक्ष्य अब टाढा छैन । यस कुराको प्रमाण यो कुराबाट पनि स्पष्ट छ ।

हाम्रो पछिल्लो दुई वर्षको इतिहास संघर्षको रह्यो । विराटनगर हड्तालदेखि आजपर्यन्त हामीले अनेक प्रकारका बाधामय परिस्थितिसित संघर्ष गर्न परेको छ । नेपालको वर्तमान शासन आजको बीसौं शताब्दीमा पनि हाम्रो प्यारो देशमा शिक्षाको नितान्त अभाव, बाटोघाटोको एक प्रकारको शून्यता नै सब प्रकारका प्रगतिशील विचारहरूको निमित्त विरोधी वातावरण कायम राख्नुमा नै आफ्नू सारा शक्ति खर्च गरेको छ । हाम्रा देशका सर्वसाधारण व्यक्ति आर्थिक रूपले यसरी पिस्सिएका छन्‌ कि उनीहरूलाई निम्नतम प्रकारको भोजनसम्म सौभाग्यको कुरा भएको छ । नून, कपडा, फलाम, चामल, जस्तो अभाव सारा देशमा छ त्यो कुरा प्रत्येकले अनुभव गरेको छ । 

यस परिस्थितिमा प्रगतिशील विचार धारालाई यति थोरै समयमा हुर्काउनु कष्टको कुरा हो । तैपनि हाम्रा बहादुर साथीहरूले आफ्नूआफ्नू कर्तव्यको पालना गर्नुभयो । त्यसको अभूतपूर्व फलको सम्बन्धमा हामीले माथि विचार गरिसकेका छौं । हाम्रो सफलताले हामीलाई उत्साह दिने छ र वाधाहरूले हामीलाई अझै विचारपूर्वक योजना बनाई काम गर्ने प्रेरणा । यसैबीच हाम्रो सौभाग्यले अथवा भनूँ सम्पूर्ण एसियाको सौभाग्यले हाम्रो छिमेकी भारत विदेशी दासताबाट मुक्त भयो । 

नेपालको इतिहासमा यसको के कस्तो प्रभाव पर्न सक्तछ अथवा परिरहेको छ यो कुरा हामीले नेपाली राष्ट्रिय काँग्रेसको स्थापनाकै अवसरमा आफ्ना उद्देश्य–(१) नेपालमा महाराजधिराजको वैधानिक नायकत्वमा जनताको उत्तरदायी शासनको स्थापनाका साथै (२) भारतको पनि पूर्ण स्वतन्त्रता भनी विचार गरिसकेका छौं । 

पूज्य गान्धीजीको जुन अहिंसाको साधनले भारत स्वतन्त्र भयो त्यै हाम्रो  हातमा छ । भारतमा त्यसको सफल प्रयोगले हामीमा त्यसको प्रति अझै ठूलो विश्वास उत्पन्न गरेको छ र निश्चित छ त्यसैको बलले हामी आफ्नू शेष रहेको नेपालसम्बन्धी उद्देश्य पनि शीघ्र नै प्राप्त गर्ने छौ । हाम्रो शक्तिको एउटा साधन भारतको शान्ति र समृद्धि पनि हो यो कुरा हामीले बिर्सन हुन्न । नेपालका भूतपूर्व प्रधानमन्त्री श्री पद्मशमशेरले घोषणा गरेको विधानको कुरा त अब पुरानो भइसक्यो । 

यद्यपि उक्त विधान अनेक दृष्टिले अपूर्ण छ । तापनि नेपालमा प्रजातन्त्रको स्थापनामा यो पहिलो कदम भएकाले हाम्रो द्वितीय वार्षिक अधिवेशनको क्रममा हुने प्रतिनिधि सम्मेलनले केही शर्तका साथ यसप्रति उदार दृष्टि राखेको थियो । किन्तु खेदको कुरा हो कि नेपालका वर्तमान शासकहरूले आफ्नू पुरानो छल नीति छाडेनन्‌ । हाम्रो मागको अवहेलना गर्दै राजबन्दीहरू अझै सास्तीमा राखिएकै छन् । 

नागरिकहकको उस्तै अपहरण छ । हाम्रो उदारताप्रति अवहेलना गर्दै हाम्रो संस्था अवैध घोषणा गरियो । आर्थिक, धार्मिक, सामाजिक, राजनैतिक सबै दृष्टिले नेपालका जनताको यस्तै शोषण हुँदैछ । कुलो, पानी, बाँधको सुधार र यसप्रकार हाम्रो देशमा अधिकांश संख्यामा भएका किसानहरूको उन्नतिको कुरो त परै । यता मालपोतको वृद्धि र धान विगहट्टी आदिको रूपमा प्रजा उपर अनेक प्रकारका अन्याय थपिँदैछन्‌ र त्यसको आडमा दाजुभाइको बीच झगडा फुट उत्पन्न गर्ने पुरानो साम्राज्यवादी चाल चलिँदै छ । 

किन्तु आजको जागरणको युगमा प्रजाको आँखामा छारो हाल्ने नीति कहिले सम्म चल्न सक्दछ ? यता काठमाडौ र नेपालका अन्य भागमा पनि झनझन बढ्दो जनताको क्षोभ र चेतनाको कुरा तपाईँहरू सुन्दै हुनुहोला । नेपाल जस्तो देशमा जहाँ सम्भवतः संसारको सबैभन्दा ठूलो आर्थिक वैषम्य छ । यस्तो अनेक घातक विचारधाराहरू बलवान हुने सम्भावना छ । जो भविष्यमा हाम्रो देश र एसियाको नवआर्जित स्वतन्त्रताको निमित्त पनि ठूलो हानीको विषय हुन जान सक्ने छ । चीन र बर्माको अशान्तिले हामीलाई चिन्तित बनाएको छ । यस्ता परिस्थितिमा हाम्रो देश नेपालमा अझै मध्ययुगी सामन्त शाही शासन रहनु चिन्ताको विषय हो । 

यी सबै कुराको विचार गरी हानिकारक परिणामदेखि आफ्नो देशलाई बचाउन र देशव्यापी हुन लागेको घातक जनविरोधलाई शान्तिपूर्ण राष्ट्रउन्नतिको बाटोमा लैजान यो आवश्यक थियो कि हाम्रा केही व्यक्तित्व भएका साथीहरू यस्ता विक्षोभग्रस्त स्थलमा गएर परिस्थिति सँभालुन्‌ ।

यसै कारण हामीले आफ्ना साहसी र विचारशील नेता श्री विशेश्वरप्रसाद कोइरालालाई दुई जना अरू साथीहरूको साथ काठमाडौं पठाउनु पर्यो । उहाँहरूले काठमाडौंमा एक डेढ मास (महिना) बढी कुन रीतिले कस्तो काम गर्नुभयो । यो अहिले साफसाफ प्रकट गरेको खण्डमा संस्थाको क्षति हुन जानेछ । सारा घटना समयमा प्रकट हुने नै छन्‌ । तर यति अवश्य भन्न सकिन्छ कि श्री कोइरालालाई काठमाडौं पठाउनु र उहाँको गिरफ्तारीले हाम्रो संस्थालाई बलियै बनाएको छ। राष्ट्र उन्नतिमा बलिदानीको आवश्यकता पर्दछ। यद्यपि श्री कोइरालाको गिरफ्तारीले हामी आजको संकटपूर्ण परिस्थितिमा उहाँको सक्रिय नेतृत्वदेखि बन्चित हुन गयौं । परन्तु उहाँको यो वीरतापूर्ण बलिदानले हाम्रो लक्ष्य अझै वर आयो ।

अब आफ्नो संस्थाको गत वर्षको कामउपर साधारण तवरले विचार गरौं जुन परिस्थितिमा हाम्रो पछिल्लो आन्दोलन प्रारम्भ भएको थियो त्यसमा हामीले आफ्नो संस्थाको सन्देश नेपालका गाँउ गाँउसम्म पुर्याउन सकेका थिएनौं । हामीमा संगठनको ठूलो त्रुटि थियो । एक शब्दमा भनुँ भने नेपाली राष्ट्रिय काँग्रेसको जरो नेपाल भूमिमा पस्न पाएको थिएन । यसैकारण यस वर्षको कार्यक्रम विशेष गरी संगठनात्मक रह्यो । पुराना शाखाहरूमा सदस्यताको संख्या पहिले भन्दा दोब्बर बढेको छ । नेपालका पश्चिमी जिल्लाहरूका जहाँ नेपाली राष्ट्रिय काँग्रेसको सन्देश पुग्न सकेको थिएन, चार नयाँ शाखाहरूको स्थापना भएको छ ।

पहाड खण्डमा पनि परिस्थितिको विचार गरी काम भएकै छ । निश्चय नै यो पूर्णरूपेण सन्तोषप्रद भन्न सकिन्न । हाम्रो सदस्यताको संख्या नेपालको जनसंख्याको अनुपातमा अझै निकै थोरै छ । नेपालका कतिपय जिल्लाहरूमा अझै पनि नेपाली राष्ट्रिय काँग्रेसको सन्देश राम्रो रितीले पुग्न सकेको छैन । यसको निमित्त केवल यति नै भन्न सकिन्न कि हामीले बाटो घाटोको अतिशय न्यूनता भएको विस्तृत भू(खण्डमा काम गर्न सारै थोरै समय पाएका छौं । 

सरकारले पनि आफ्नो निरङ्कुश र प्रगति विरोधी नीतिले हाम्रो मार्गमा तगारो अड्काएको छ । फेरि हाम्रा कर्मठ र कार्यकुशल साथीहरूमध्ये निकै जसो अझै पनि जेल यातना सहिरहेका छन्‌ । बाधाहरू अनेक छन्‌ । तर, पछिल्लो काम उपर विचार गर्दा हामीलाई ठूलो आशा लाग्दछ । प्रथम वर्षको भन्दा शाखाहरूको संगठन निकै असल छ । सदस्यताको संख्या कमसेकम चौबर अधिक छ । हाम्रो कार्य क्षेत्र अधिक विस्तृत छ । 

यही प्रकार हाम्रो काम चलेको खण्डमा आगामी वर्ष नेपालमा कुनै पनि व्यक्ति हुने छैन जसले नेपाली राष्ट्रिय काँग्रेसको उद्देश्य राम्रो रीतिले नबुझेको होस्‌, कुनै घर यस्तो हुने छैन जहाँ नेपाली राष्ट्रिय काँग्रेसका सदस्य नहून्। कुनै गाउँ यस्तो हुने छैन जहाँ नेपाली राष्ट्रिय काँग्रेसका परिस्थिति अनुसार खुल्ला अथवा गुप्त रूपले संगठित भएका शाखा तथा उपशाखा नहुन्‌ । हामीलाई आफ्नो लक्ष्य र साधन उपर पूर्ण आस्था छ, आफ्ना साथीहरूको कार्यक्षमता उपर पूर्ण भरोसा छ । सत्यको आकाश फिजिन बेर लाग्दैन । 

बन्धुवर्ग  ! हाम्रो कार्यप्रणाली यस्तो खुल्ला र स्पष्ट छ कि त्यसको निमित्त कुनै विशेष व्याख्याको आवश्यकता छैन । हामीले अब आगामी कार्यक्रमकै सम्बन्धमा विशेष विचार गर्नुपर्दछ । हाम्रो निम्ति दुर्भाग्यको विषय हो कि आजको वैज्ञानिक युगमा पनि संसारको पुरानो र घात शासन प्रणालीद्वारा हामी शासित छौं ।

संसारका प्रत्येक देश कुनै न कुनै दृष्टिले हामी भन्दा अधिक प्रगतिशिल छन्‌ । तर, स्वतन्त्रता र उन्नति भिक्षामा पाइने।कुरा होइनन्‌  । हामीले त्यसको निमित्त प्रयत्न गर्नुपर्दछ । हाम्रो उद्देश्यको गौरबले हामीमा आत्मोत्सर्ग र कर्मठता ल्याओस्‌ ्र। हामी अझै बेगले विकासको बाटोतिर लम्कन सकौं ।
जय नेपाल ! 
बालचन्द्र शर्मा, प्रधानमन्त्री, ३ मार्च १९४९ ई.

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ