- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जहाँनियाँ राणा शासनका अगाडि जस्तासुकै अठोटलाई पनि पछार्ने तानाशाही प्रवृत्तिले चार शहीदले प्राणको आहुती दिएपछि सशक्त शक्ति निर्माण नगरी राणा शासनको अन्त्य नहुने निष्कर्षसहित संगठित संस्था गठन भयो । त्यो नै नेपाली राष्ट्रिय कांग्रेस थियो त्यतिबेला । तानाशाहको अन्त्य जरुरी छ भन्ने बौद्धिक लहर भित्रभित्र बढेपछि नेपालमा थप आवाज उठाउन नसकिएपछि छिमेकी भारतमा रहेर संगठन बनेको थियो ।
त्यसै अनुरुप नेपालमा एकत्रित हुन नसकेका बेलामा भारतमा रहेका नेपालीलाई संगठित गर्ने उद्देश्यले नेपालीहरु भेला भएर यसको स्थापना गरेका थिए । जननायक वीपी कोइरालाले २००३ साल असोज १६ गते (२ अक्टुबर १९४६) मा भारतको पटनाबाट प्रकाशित हुने ‘द सर्च लाइट’ पत्रिकामार्फत भारतमा रहेका नेपालीलाई संगठित गर्ने उद्देश्यले नेपालीको अखिल भारतीय संगठन निर्माणका निम्ति गरेको आह्वानबाट यसको जन्म भएको मानिन्छ ।
त्यही आह्वानपछि वीपीको सक्रियतामा २००३ साल कार्तिक १५ ९३१ अक्टोबर, १९४६० गते ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ नामक संस्थाको स्थापना भयो । बनारसमा बस्ने नेपालीलाई संगठित गरी वीपीका बाबु कृष्णप्रसाद कोइरालाका समकालीन देवीप्रसाद सापकोटाको सभापतित्वमा यो संस्था स्थापना भएको हो ।
संगठनलाई थप सशक्त बनाएर एजेन्डासहित अगाडि बढ्नका लागि समारोह आयोजना गर्ने तय भयो । सोही अनुरुप २००३ माघ १२ र १३ गते विशेष समारोह आयोजना भयो । उक्त समारोहको सभापतित्व वीपी कोइरालाले गरे । तत्कालीन कलकत्ता (हाल कोलकाता) को भवानीपुरस्थित खालसा हाइस्कुलमा भएको उक्त कार्यक्रमको झण्डोत्तोलन डा डिल्लीरमण रेग्मीले गरेका थिए ।
उक्त भेलामा नेपालको जेल तोडेर गएका गणेशमान सिंहलगायत नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका नेपाली प्रतिनिधिको सहभागिता रहेको थियो । उक्त भेलालाई पार्टीको प्रथम महाधिवेशनको रुपमा परिणत गरी पार्टीको नामसमेत परिवर्तन गरी ‘नेपाली राष्ट्रिय कांग्रेस’ राखिएको थियो ।
यसरी औपचारिक रुपले नेपाली राष्ट्रिय कांग्रेस जन्मियो । त्यही महाधिवेशनले वीपीलाई पार्टीको कार्यकारी सभापति र आजीवन कारावासको सजाय तोकिएका टंकप्रसाद आचार्यलाई मानार्थ सभापति चयन गर्यो । यही महाधिवेशनले ‘जनताका अधिकार नबुझ्ने राजा प्रजाको शत्रु हो’ भन्ने मान्यता आत्मसात गरेको थियो ।
उक्त महाधिवेशनलाई भारतीय राष्ट्रपतिलगायत दर्जनौँ भारतीय नेताले शुभकामना सन्देश दिएका थिए । वीपीले भारतीय संग्राममा समेत अग्रस्थानमा रहेर भाग लिएकाले गर्दा नेताहरु उनलाई राम्रोसम्म चिन्दथे । यही महाधिवेशनले नेपालमा प्रजातन्त्रको आवश्यकता खड्किएको निष्कर्ष निकाल्यो र प्रजातन्त्रका लागि बिगुल फुक्यो । त्यसका लागि अहिंशात्मक जनक्रान्ति गर्ने उद्देश्य राख्यो ।
यस्ता छन् नेपाली राष्ट्रिय कांग्रेसको पहिलो महाधिवेशनमा व्यक्त स्थापनाको उद्देश्य र पारित प्रस्तावहरू–
समयको परिवर्तनको साथै संसारको प्रत्येक कुरामा ठूलो परिवर्तन भइसक्यो । दुनियाँको आचारविचार, रहनसहन, हिँडाइ डुलाई हिजोसम्म कस्तो थियो, आज छैन भोलि के कस्तो हुन्छ भन्न सकिन्न । तर हाम्रो देश, हाम्रो समाज, हाम्रो बसाईउठाइ, हाम्रो धार्मिक, आर्थिक, बौद्धिक र राजनीतिक विचार जडवत्, जस्तो आजभन्दा सय दुई सय वर्षअगि थियो ।
आजको जमानामा पनि उस्तै छ । कतै केही परिवर्तन, केही विकास देखिए पनि त्यो नगन्य छ । आज जब संसारका अरूअरू देश आफ्ना देशमा रहेका सयकडा एक दुई अशिक्षित व्यक्तिलाई पनि आफ्नू निमित्त अपमान र कलङ्क सम्झन्छन् हाम्रो देश र समाजमा समयानुकूल शिक्षा पाएका युवक दुई हातका औलामा गनिनेभन्दा अधिक छैनन् ।
जब संसारका अन्य राष्ट्र विज्ञान बलले असम्भव पनि सम्भव बनाइरहेछन् । हाम्रो देशका अनेक नरनारीले संसारको अति साधारण सवारी रेलसम्म देखेका छैनन् । उनीहरू आफ्नै च्याप्रा, गोठ, गुन्द्रुक, मस्यौरा, ढिडो, डोको, नाम्लो र आफ्नै ककननमा कुहिरहेका छन् । दुर्गाकवच र चण्डी शिक्षाको सीमा छ । धरा गांसेका गुन्यू फरिया शरीरका आभूषण छन् ।
यो कुरा कदापि हैन कि नेपाली जाति कुनैभन्दा हीन छ । उसका वीर पुत्रहरूले आफ्नू देशको पराक्रमको गौरवमय इतिहास फ्रान्स, बेल्जियम, ट्युनिसिया, लिविया, बर्मा आदिका मैदानमा आफ्नू अमूल्य रक्तले लेखेका छन् ।
संसारमा नेपाली अथवा गोरखाली शब्द बहादुरी र मर्दानगीको पयार्य छ । काश्मीरको छेउँदेखि भुटान, सिक्किम तथा रहस्यमय देश तिब्बतका साधारण साधारण पसले पनि न साहुहरूले अगम्य बाटो पार गरी ल्याएका देश विदेशी मालको व्यापार गरी आफ्नू जीविका चलाउँछन् ।
संसारको मुकुटमणि हिमालयले माया गरी आफ्नू काखमा बसाइराखेको हाम्रो यस देश नेपालमा कुन कुराको अभाव छ । हिन्दूस्तानको भकारी तराइ हाम्रो हो । अगणित सुन, चाँदी, फलामका खानीहरू हाम्रै छन् । अनेक बहुमूल्य रत्नका खजाना प्रकृतिमाताले आफ्नी दुलारी छोरी नेपाललाई दिएकी छिन् । हाम्रा अगम्य जङ्गलबाट निस्किने वस्तुले देश विदेशका अनेक कारखाना चल्दछन् ।
हाम्रा देशको छाँगीला नदीहरू अपार विद्युत् शक्ति उत्पन्न गर्न सक्तछन् । किन्तु, तैपनि हामी गरिब छौं अशिक्षित छौं, परवश छौं । हाम्रो वीरता देश विदेशका महाजनहरूको ढोका कुकुरझै कुर्नमा खर्च हुन्छ । हाम्रो व्यापार कुशलता आफ्नू र आफ्ना छिमेकी देशको सम्पत्ति विदेशका उद्योगधन्दालाई पुष्ट गर्न खर्च हुन्छ ।
अनेक युद्धस्थलमा जितेर फर्कँदा आफ्ना देशका अनेक दिदी बहिनीको वैधव्यदेखि बाहेक हामीलाई पुरस्कार नै के मिल्दछ र ? हामी मर्दछौँ । तर अर्काको राज्य बचाउन अगणित बहादुरको ज्यानको मोलमा हाम्रो समाजले पाएकै के छ ?
यसमा दोष कसको ? अपूर्व साधन सम्पन्न हुँदा हुँदै पनि हाम्रो देश र समाजलाई अशिक्षा, दरिद्रता र अद्योपतनको अँध्यारो कैदखानामा सडाउनमा दोषी को ? निश्चय नै हाम्रा शासकहरू हेर ! एकातिर काठमाडौंका नयाँ नयाँ युरोपियन छाँटका राजमहल, दरबार, युरोप र अमेरिकाबाट लाखौं रूपियाँका मोलमा झिकाइएका महाराजका सालिकहरू हेर । अर्कोतिर पथ्थरझैं साह्रो भूमिमा कुटोकोदालो गरी बस्ने ढिंडे, पाखे, नेपाली ।
कस्तो लाज मर्नु पर्ने अन्तर छ । के यिनै हुन् पारसमणि भएको भनी प्रख्यात हुने नेपालका अधिकांश बासिन्दा । लाजले मस्तक निहुरन्छ । नेपालबाट आएका महाशयहरूले देश विदेशका जुवाखाना, रण्डीखाना र घोडदौडमा पानीझै बगाएको धन, देशविदेशबाट झिकाएका करोडौं रूपियाँका विलासिताको सामग्रीहरू देखेर कुन चाहिँ भन्ने नेपालका अधिकांश वासिन्दा गरिब छन् । भोका छन् । नाङ्गा छन् । कस्तो लुट, कस्तो अन्याय, जनताको पैसाको कस्तो अपव्यय ! हामी सोध्दछौँ ।
यस विलासी शासक वर्गसित के उसले कैले आफ्नू प्रजाको सुख, उत्थान र अभ्युदयतिर सपनामा पनि विचार गरेको छ ? तब उठ्नुपर्यो जनताले नै आफ्नू अधिकार लिन, अन्यायी शासकसित खोस्न, परमात्माले कैले पनि कुनै विशिष्ट वर्गलाई आफ्ना दाजुभाइहरूमाथि अत्याचारपूर्वक शासन गर्न उत्पन्न गरेको छैन । ‘ईश्वरको अंश नभै राजा हुन्न’ भने पाखण्डको जमाना गैसक्यो । आफ्नू कर्तव्य नबुझ्ने राजा प्रजाको शत्रु हो । त्योसित आफ्नू अधिकार नखोस्नु प्रजाको नपुसंकता हो ।
युगको यस सन्देशले निकै नेपालीहरूका मनमा घर बनाउन लागि सकेको छ अलिकति पनि बाहिरको स्वच्छ हावा लागिसकेका मानिस आफ्नू दयनीय अवस्था र शासकद्वारा गरेको अत्याचारको पीडा अनुभव गर्न लागिसकेका छन् । समाजमा अनेक संस्थाहरूको उदय भयो ।
उनीहरूले जनतालाई मोहनिद्राबाट ब्युँझाउने प्रयत्न पनि गरेका हुन् । तर आजसम्म स्थापित हुने संस्थाहरूले चाहिएजति व्यापक दृष्टि गर्नसकेनन् । यस्ता संस्था आजसम्म कुनै एउटै, स्थानविशेषको कल्याण गर्नुभन्दा अगाडि बढ्न सकेनन् । आजसम्म कुनै यस्तो संस्थाको निर्माण हुनसकेको थिएन जसले नेपाल र हिन्दुस्तानका कुना कुनामा आहारा खोज्न भनी छरिएका नेपाली दिदी बहिनी, दाजुभाइलाई एउटै सम्बन्ध सूत्रमा बाँधी उनीहरूको एकनास उत्थानको प्रयत्न गरेको होस् । कसैले नेपाल खाल्डोको जनसमाजको उन्नतिलाई आफ्नू लक्ष्य बनायो । कसैले दार्जिलिग, देहरादून, मंसूरी, अथवा अरू कुनै स्थान विशेषको ।
यस्ता स्थानीय अथवा एकदेशीय संस्थाले नेपाल र शेष भारतका सम्पूर्ण समस्याहरूका मूलमा भएका अनिष्टको कारण पत्ता लगाउनतिर ध्यान दिएका थिएनन् । उनीहरूको यस्तो वर्गवादी अथवा साम्प्रदायिक विचारले नेपाली समाजको मनमा पनि उस्तै विष वृक्ष रोप्ने डर भएको थियो जस्ता भारतवर्षमा मुस्लिम लिगले ।
नेपाल वास्तवमा भारतसित भिन्न छैन, हिन्दूस्तानसित उसको साँस्कृतिक आर्थिक, धार्मिक, सामाजिक र राजनीतिक सम्बन्ध सदा सर्वदा अक्कुण्य रहँदै आएको छ । नेपाललाई नक्कली ढङ्गले शेष भारतदेखि स्वतन्त्र र भिन्न घोषित गर्नमा अंग्रेजहरूको र हाम्रो वर्तमान स्वार्थी शासक वर्गको जुन स्वार्थ सिद्ध हुन्छ त्यो कुरो सबैमा विदित छ र प्रसंगवश त्यसको उल्लेख पनि हुनेछ । यसै दृष्टिले अधिक महत्त्वपूर्ण उद्देश्यलाई सामुन्ने राखी यस नवीन राजनीतिक संस्था नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको हो ।
प्रथम अधिवेशनद्वारा पारित प्रस्तावहरू
१. नेपाली राष्ट्रिय काँग्रेसको विचारमा नेपाल र भारतवर्षसँग अविच्छेद्य सम्बन्ध छ, यद्यपि राजनीतिक दृष्टिले यसको विभाजन गरिएको छ । जातीय र साँस्कृतिक दृष्टिले पनि नेपाल र भारतवर्षमा एकताकै सम्बन्ध देखिएको छ ्र राजनीतिक दृष्टिले पनि नेपाल र भारतवर्षको एउटै समस्या बुझिन्छ । कारण, यद्यपि नाममात्रले स्वतन्त्र भए पनि नेपालका प्रत्येक महत्त्वपूर्ण कार्यमा वृटिश सत्ताकै हस्तक्षेप देखिन्छ । त्यस कारण नेपालले स्वतन्त्र रूपले कुनै काम गर्नमा वृटिश सत्ताको लोप आवश्यक छ जो भारतीय जनक्रान्तिको पनि लक्ष्य हो । नेपालमा प्रजातान्त्रिक शासन तबसम्म छैन जबसम्म भारतबाट ब्रिटिस साम्राज्यको अन्त हुँदैन । साथै, नेपालमा जनशक्ति जति जति बढ्दै जान्छ, त्यति त्यति बृटिश साम्राज्यको विरूद्ध हुने लडाई पनि त्यसको सहायताले बलियो हुँदै जान्छ । तसर्थ, यस अधिवेशनको दृष्टिमा मूलत दुवै देशको समस्या एउटै छ ।’
‘यी सब कुरालाई ध्यानमा राखेर नेपाली राष्ट्रिय काँग्रेस नेपाली दाजुभाई, दिदीबहिनीलाई सल्लाह दिन्छ कि हिन्दुस्तानको स्वतन्त्रताको लडाईमा यथासाध्य सहयोग प्रदान गरून् र साथै हामी यो पनि आशा गर्दछौ कि नेपालमा जनतन्त्रको स्थापनामा हुने हाम्रो प्रयत्नमा भारतका राष्ट्रिय संस्था र नेताहरू पनि यथाशक्य सहयोग र सहायता गर्लान् ।’
२. ‘यो अधिवेशन नेपाल प्रजा परिषद्का कार्यकर्ताहरूको उद्योगलाई प्रशसनीय ठहराउँछ । उनीहरूले नवयुगको चेतनाद्वारा नै प्रभावित भएर नेपालमा पनि उत्तरदायी शासनको स्तुत्य आकांक्षा गरेका हुन् । तर नेपालको स्वेच्छाचारी शासनले जुन क्रुरतापूर्वक ती देश रत्नहरूलाई नष्ट गन्यो त्यसलाई हाम्रो यो नेपाली राष्ट्रिय काँग्रेस अमानुषिक र प्रजा हितविरोधी मान्दछ ।
आफ्नू देश र राष्ट्रको कल्याण कामना गर्दै कष्टको आह्वान गर्ने ती वीरहरू हाम्रा दृष्टिमा सदा प्रशंसनीय ठहरिने छन् । ती कष्ट पाउने वीरहरूको प्रति सहानुभूति राख्दै हाम्रो यो नेपाली राष्ट्रिय काँग्रेस वर्तमान नेपाल सरकारसित उनीहरूमध्ये अझसम्म बन्दीगृहमा रहेका देश र त्नहरूको मुक्तिको माग गर्दछ । यदि राजा प्रजाको हितकै निमित्त हो भने स्वदेश र स्वजातिको निमित्त जीवनलाई तुच्छ ठान्ने वीरहरूको प्रति अत्याचार गर्नु राजाको निमित्त कदापि शोभनीय छैन ।
‘हाम्रो यो नेपाली राष्ट्रिय काँग्रेस आफ्ना साहसी साथीहरूको प्रति सहानुभूति र शुभेच्छा प्रकट गर्दै सम्पूर्ण राष्ट्रसित आग्रह गर्दछ कि क ती बन्दी वीरहरूका आदरमा कुनै दिन नेपाल राजबन्दी दिवस राष्ट्रिय पर्वको रूपमा मनाओस् ।’
३. नेपाली राष्ट्रिय काँग्रेसको यो अधिवेशन साम्राज्यवादी फ्रान्सले इण्डो चीनमा स्थित सानो तर स्वतन्त्रताप्रेमी भियतनाम प्रदेशमाथि अत्याचार गरी त्यहाँका वीर मानिसहरूलाई कल्पाएर कमारा तुल्याउने अन्यायको घोर विरोध गर्दछ । भियतनाम प्रदेशको स्वतन्त्रताको लडाई नेपालीहरूको स्वतन्त्रताको लडाई झै नै छ । भियतनामी वीरहरूले निजको मातृभूमिलाई फ्रान्सजस्तो विदेशी राष्ट्रको हातबाट मुक्त गराउने जुन आदर्शनीय प्रयत्न गरेका छन् त्यो हामी नेपालीहरूको निमित्त पनि आदर्श छ । यसर्थ हाम्रो यो अधिवेशन उनीहरूको सफलताको कामना गर्दै उनीहरूलाई यस स्तुत्य कार्यका लागि बधाई दिन्छ ।
४. नेपाली राष्ट्रिय काँग्रेसको यो अधिवेशन नेपाल प्रजा परिषदको उद्देश्यको प्रशंसा गर्दछ । किनकी, वास्तवमा आफ्ना त्यसै संस्थाद्वारा राष्ट्रमा नवीन चेतना ल्याउँदै राष्ट्रलाई नवयुगको सिंहद्वार तिर अग्रसर गराउने अभिलाषा भएका युवकहरूको पूर्ण निस्वार्थ सेवा महान् आत्मवलिदानबाट नै प्रेरित भएर हाम्रो यस संस्थाको सृष्टि भएको हो । तर, अब समयको परिवर्तन भएकाले हाम्रो कार्यप्रणालीमा पनि समयानुकूल परिवर्तन गर्नुपरेको छ र यसै निमित्त हामी जनआन्दोलनद्वारा नै आफ्नो उद्देश्यको सिद्धि प्राप्त गर्ने प्रयास गर्नेछौं । यदि राष्ट्रको सेवा गर्नु छ भने हामीले राष्ट्रका प्रत्येक व्यक्तिसम्म आफ्ना सन्देश पुर्याउनुपर्दछ । यो आवश्यक छ कि राष्ट्रका सेवकहरू देशका प्रत्येक दाजु, भाई, दिदी बहिनीहरूलाई उनीहरूको राष्ट्रको प्रति कर्तव्य र अधिकारको ज्ञान गराउछन् ।
त्यसकारण हाम्रो अधिवेशन नेपाल प्रजापरिषदका सदस्यहरूसित प्रार्थना गर्दछ कि ती अब आफ्नू पूर्व निश्चित योजनानुसार गुप्त रूपले काम गर्न छोडी नेपाली काँग्रेसको योजनानुसार प्रकट रूपले अहिंसात्मक जनक्रान्ति गर्नमा हाम्रो सहायक बन्न आउन् । आशा छ, नेपाल प्रजा परिषद् नेपाली राष्ट्रिय कांग्रेसलाई आफ्नै संस्था ठानी आफ्नू बहुमूल्य सहयोग प्रदान गर्ने छ ।’ (यी उद्देश्य र पारित प्रस्तावहरु ‘नेपाली कांग्रेससका ऐतिहासिक दस्तावेजहरू’ डा. राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस (२०५५) र नेपाली कांग्रेस ऐतिहासिक दस्तावेजहरू) बाट साभार गरिएको हो, भाषा पनि सोही अनुसार अनुकरण गरिएको छ ।)