- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपाली कांग्रेसले २००५ सालमै राणाशासन आफ्नो पार्टीसँग झुक्न थालिसकेको संकेत गरिसकेको थियो । कांग्रेसी नेताहरु राणा सरकार अताल्लिएर अन्य विकल्पहरु खोजेर हिँडिरहेकाले आफूहरु सचेत हुनुपर्ने सन्देश एकअर्कालाई दिइरहेका थिए । उनीहरुको मतलब थियो ‘डिभाइड एण्ड रुल’ । कांग्रेसभित्रै खेलेर नेताहरुलाई लाखापाखा सकियो भनेमात्र आफूहरुको शासन बच्ने नत्र ढल्ने निष्कर्षमा राणाहरु पुगेका थिए ।
तर यत्तिले कांग्रेसी नेताहरु चुप लागेर बसेनन् । उनीहरु थप सशक्त हुँदै गए । यही सशक्त हुँदाहुँदै २००५ सालमा नेपाली राष्ट्रिय कांग्रेस फुट्यो । यसले त झन् विपद् ल्यायो भन्ने सबैलाई भयो । तब २००६ सालमा फेरि पार्टी एकीकरण भयो र नाम जुर्यो नेपाली कांग्रेस । अनि २००६ को चैतमा महाधिवेशन भयो । एकता महाधिवेशन कांग्रेसको चौथो महाधिवेशन थियो ।
त्यो महाधिवेशन निकै संवेदनशील थियो । एकातिर नेताकार्यकर्ताहरु सशक्त भएर मिलेर जानुपर्ने र अर्कातिर एक सय चार वर्षे जहाँनियाँ राणाशासनलाई ढलाएर देशमा प्रजातन्त्र ल्याउनु पर्ने जिम्मेवारी । नेताहरुलाई अझै पनि लागेको थियो कि देशभर कांग्रेसले विद्रोहको बिगुल फुकेको छैन ।
यस्तो बेलामा एकता महाधिवेशनले सभापतिको जिम्मेवारी तोक्यो मातृकाप्रसाद कोइरालालाई । दूरदर्शी नेता कोइराला निकै चलाख थिए । सम्वोधनको शुरुआतमा उनले आफूलाई जिम्मेवारी दिएको बारे यसरी शुरु गरे, ‘हाम्रो देश नेपालको यस संक्रमणकालमा कालमा तपाईहरूले यो सभापतित्वको गह्रौं भार मेरो निर्वल काँधमा सुम्पनु भयो । के कारणले सो सुम्पनुभएको हो त्यो मलाई थाहा छैन । आजको जटिल परिस्थितिमा जुन होशयारीसित यस पदको मर्यादा थाम्नु छ । त्यसको लायक त म होइन तर तपाईहरूको विश्वासको प्रेरणाले र सहयोगको भरमा नै मैले यो पद आफ्नो कमजोरी थाहा पाई पाई पनि ग्रहण गर्नुपरेको छ ।’
उनले अगाडि भन्दै गए, ‘हाम्रो देश नेपालको जुन विकट दशा छ त्यो हामी तपाई सबैले थाहा पाएकै कुरो हो । जुन प्रकारले हाम्रो जाति दलित र शोषित छ त्यो पनि हामी सबैलाई थाहा छ । औ सोही दलन र शोषणको विरोधमा नै हामी सङ्गठित भई लड्न कटिबद्ध भएर अगाडि सरेका हौं ।’
उनले नेपालीको तत्समयको दशा पनि बताउन थाले, ‘दुई छाक धानको भातमात्र खान पाउने आज त्यस देशमा धनी गनिन्छ । किन भाग्य र पुर्पुरोलाई दौष दिने ? जमाना धेरै अघि नै बढिसक्यो । आजको संसार भाग्य मान्दैन, पुर्पुरोको दोष भनी चुप लाग्दैन, विश्वास गर्ने त कुरै पर जाओस् । आज देशको यो गति किन भयो ? के कारणले हामी अरू देशका मानिस सरह नै हात, गोडा, आँखा, कान छँदा छँदै पनि पशुवत् जीवन बिताइरहेका छौं ?’
गरिब छाप्रामै बस्नुपर्ने बारेमा मातृकाले भने, ‘जुन देशका सालका काठले अरूका महल तयार हुन्छन् त्यसै देशका प्रजाको छाप्रोमात्र किन ? त्यसको एकमात्र जवाफ छ – हाम्रो देशको दूषित शासन प्रणाली । जुन बखत अरू देश किसिम किसिमका आविश्कार, उद्योगधन्दा बनाउन लागे सोही बखतमा हाम्रो देशमा एउटा ठूलो राजनीतिक परिवर्तन भयो । त्यो हेरफेर हो, हाम्रो देशको आजको राजकाजको थिति अर्थात् राणाशाहीको जन्म । राणाशाहीले सन् १८४६ मा जन्म लिएको हो तथा त्यस बेलादेखि आजसम्म देशका हातखुट्टालाई मकिई बाँध्ने एउटा पासो भइसकेको छ ।’
मातृकाले समग्र परिस्थितिको आँकलन गर्दै सम्वोधनमा बेलिविस्तार लगाए । उनले छिमेकी राष्ट्रहरुसँगको मित्रता र चालका बारेमा पनि छरपष्ट पारे । त्यतिमात्र हैन अबको दिशा कस्तो हुनुपर्छ पनि भनेर भने ।
उनले सहभागी नेपालीलाई जोस्याउन खोजे । किनकि १०४ वर्षे जहाँनियाँ राणाशासन फाल्न जोश र हिम्मतसँगै बलिदान बिना सम्भव छैन । तब मातृकाले सम्वोधनका क्रममा भने, ‘हामीले आगामी आन्दोलनका लागि कठिनभन्दा कठिन विपतको सामना गर्नु छ । किनभने त्याग र बलिदानको जगमाथि नै जनताको राज कायम हुन्छ । जनताले आफ्नो अधिकार पाउनका लागि केही मोल नतिरी हुन्न । आज हामी आफ्नो मुटुसित सोधौं हामी कतिसम्म सो मोल तिर्न तयार छौं ?’
उनले राणाशासन फाल्न कसरी सम्भव छ त भनी सच्चा कांग्रेसी बढाउनु पर्नेमा जोड दिँदै भने, ‘म यो दावाका साथ भन्न सक्दछु यदि प्रत्येक जिल्लामा केवल दुई सय मानिस सच्चाका साथ देशका लागि होमिन तयार छन् भने त्यस जिल्लामा जनताको राज कायम गराउन सक्तछन् । सरकारले फस्ल्याङ् फुस्लुङ पारी जनतालाई अब ठग्न सक्दैन ।’
मातृका राजनीतिक सङ्ग्रामलाई अहिंशाबाटै जित्न सकिने भन्दै अगाडि भन्छन्, ‘अब हाम्रो सङग्रामका साधनका विषयमा पनि केही भनौं । हामीले नेपाली जनसङ्ग्राममा अहिलेसम अहिंशालाई नै अपनाइराखेका छौं । भारतमा अहिंशाको परीक्षा र त्यसको सफलता देखेपछि हामी नजिकै बस्ने छिमेकीहरूमा त्यसको प्रभाव र उपयोगितामा विश्वास हुनु स्वाभाविक नै हो । हामीले सोही साधनलाई आफ्नो हतियार बनाउनु छ । अहिंशाका लागि हिंशाको भन्दा ठूलो साहस र नैतिकताको जरूरी छ ।’
सहभागीतलाई थप जोश प्रदान गर्दै उनले सम्वोधनका क्रममा भने, ‘नेपालीहरू सुरा छन् । जो सुरो हुन्छ त्यो सोझो हुन्छ । जो सोझो र सुरो छ, त्यसले अहिंशालाई सहजै अँगाल्न सक्तछन् । तर हामीले यो कुरा बिर्सनुहुन्न कि अहिंशा वीरको हतियार हो अहिंशा युगप्रवर्तक विश्ववरेण्य महात्मा गान्धीले भन्नुभयो – हिंशा पाप हो तर त्यो भन्दा ठूलो पाप कायरता हो, यदि हामीमध्ये कसैले अहिंशाको आडमा आफ्नो कायरता र काँतरपनलाई लुकाउन खोज्यो भने हामी आफ्नो मातृभूमिलाई मात्र होइन आफ्नो आत्मालाई समेत धोका दिनेछौं । कायरभन्दा हिंस्रक भई मर्नु धेरै निको हो । यो पनि हामीले बुझिराखौं सरकारले हामीलाई बराल्न, आफ्नो बाटो छोडाउन हरप्रकारको हिंशाद्वारा उत्तेजित गराउला । तर हामीले आफ्नो अभीष्ट लक्ष्यलाई नबिर्सी अविचलित रहनु यी जतिसुकै उत्तेजना उराल्ने कोसिस उताबाट भए पनि हामीले शान्तिकै अवलम्बन तर वीरता र दृढतापूर्वक गर्नु छ ।’
अन्त्यमा उनले जोश थप्दै भने, ‘आज हामी यो महान् उद्देश्यलाई अगाडि राखेर एक जिउ भई काम गर्न सम्मिलित भएका छौं । आज हाम्रो अगाडि एउटै ध्येय एउटै लक्ष्य छ, नेपालमा जनताको उत्तरदायी शासन कायम गराउनु । हाम्रो यो मिलन देखेर धेरैको पेट पोलेको छ । यस्तो पेट पोल्नेहरूले तपाई हामीभित्र पसी हामीमा फाटो पार्ने कोसिस पनि अवश्य गर्नेछन् । पुराना कुरा, बिझ्ने कुराहरू भएका नभएका अपनाई हामीलाई बराल्ने कोसिस गर्नेछन् । हामीले त्यस्तालाई देशका शत्रु ठानी तिनका कुरा नसुन्नेमात्र होइन, त्यस्तालाई चिनेर हुत्याउनु पर्दछ । आज हामी जुन चरम त्याग र बलिदानको आगो आफ्नो हृदयमा बालेर देशका लागि केही गर्ने सङ्कल्प गरेर एक भएका छौं त्यही आगोमा हामीले यी सबै कसिङ्गर र कचिङ्गल उठाएर खरानी पार्नु छ । आज हामीमध्येका प्रत्येक साथी सहोदर दाजुभाइले एउटालाई बचाउन अर्कोले आफ्नो घिच्रो माथि पार्नु छ । हृदयमा केही अन्तर रह्यो भने एकता हुँदैन । एकता भएन भने शक्ति सङ्गठित हुँदैन । शक्तिको सङ्गठित बिना लक्ष्य प्राप्ति हुँदैन । अतः हामीले यसमा पूरा सचेत रही आफ्नो मनभित्रको दुश्मनलाई चिनेर त्यसलाई हुत्याएर अगाडि बढौं । हामी चाँडै आफ्नो लक्ष्यमा पुग्नेछौं ।’ (मातृकाको यो जोश र सुझबुझ भरिएको सम्वोधनको भाग ‘ नेपाली कांग्रेसको ऐतिहासिक दस्तावेज’ बाट साभार गरिएको हो )