- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता, सभापति एवं प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले ७२ वर्ष अगाडि जे भनेका थिए नेपालको अवस्था अहिले पनि त्यस्तै रहेको छ । दूरदर्शी नेता मातृकाले २००६ सालमा नेपाली कांग्रेसको एकता महाधिवेशनका क्रममा आफू सभापतिमा चयन भएपछि त्यतिबेलाको अवस्था जस्तो देखेका थिए नेपालीहरुको अहिलेको अवस्थामा खासै सुधार हुन सकेको छैन ।
नेपालमा सबै स्रोत र साधन भएर पनि नेपालीहरु त्यसबाट वञ्चित भएको उनले बताएका थिए । त्यतिबेला हुनुपरेको शोषणबारे उनले भने, ‘जुन प्रकारले हाम्रो जाति दलित र शोषित छ त्यो पनि हामी सबैलाई थाहा छ । औ सोही दलन र शोषणको विरोधमा नै हामी सङ्गठित भई लड्न कटिबद्ध भएर अगाडि सरेका हौं ।’
उनले नेपालमा गौतम बुद्ध, दूर्गा, पार्वती र नारी शिरोमणि सीताको जन्म भए पनि देश भने अझै अँध्यारो भएको बताएका थिए । उनले भने, ‘जुन देशको गौरव अमर सिंह र बलभद्रजस्ता वीरहरूले बढाए, जुन देशमा जयस्थिति मल्लजस्ता नियम प्रवर्तक भए, भीमसेन थापा जस्ता योग्य राजनीतिज्ञ भए आज त्यस देशमा अँघ्यारै अँध्यारो छ ।’
कोइरालाले भने, ‘आज त्यस देशका वासीहरूको परिचय केवल डोको र नाम्लो छ । इलमका नाममा हलो जोत्ने र अर्काका लागि मर्नु सिवाय अरू केही छैन । आज जहाँ अरू देश आफ्नो इलम र शिक्षाका बलले समृद्धशाली छन् उहाँ हाम्रो प्यारो देश सबै साधनले परिपूर्ण भए तापनि दुःख, बेरोजगारी र भोकको खाडलमा गाडिएको छ ।’
धनीको परिचय त्यतिबेला जे थियो आज पनि त्यही नै छ । निकै कारुणिक तस्वीर चित्रित गर्दै सभापति कोरालालाले भने, ‘दुई छाक धानको भातमात्र खान पाउने आज त्यस देशमा धनी गनिन्छ । किन भाग्य र पुर्पुरोलाई दौष दिने ? जमाना धेरै अघि नै बढिसक्यो । आजको संसार भाग्य मान्दैन, पुर्पुरोको दोष भनी चुप लाग्दैन, विश्वास गर्ने त कुरै पर जाओस् । आज देशको यो गति किन भयो ? के कारणले हामी अरू देशका मानिस सरह नै हात, गोडा, आँखा, कान छँदा छँदै पनि पशुवत् जीवन बिताइरहेका छौं ?’
उनले हिमाल, पहाड र तराईको भूभागबाट पाइने परिणामबारे झल्काउँदै त्यसको फाइदा उठाउनु पर्ने प्रसङ्ग कोट्याउँदै भने, ‘आज यो गम्भीरतापूर्वक विचार गर्ने कुरो छ । हाम्रा देशमा उन्नतिको सबै साधन माल, प्रचुर मनुष्य शक्ति तथा औद्योगिक शक्तिका लागि जताततै छाँगा र छहराहरू हुँदा त्यसको उपयोग हुन नसकी किन दुःख र दैत्यको समुद्रमा चुर्लुम्म डुबेको छ । जुन देशमा तराईको गर्मी, पहाडको शीतोष्ण प्रदेश र लेश हिमालको शीत प्रदेश तीन प्रकारको जलवायु प्रकृतिले प्रदान गरेको छ तथा त्यहीँ यी तीन प्रकारका जलवायुमा पैदा हुन सक्ने तीनै प्रकारका पैदावार, फलफूल इत्यादि प्रशस्त परिमाणमा हुन सक्तछ ।’
मातृकाले एउटै खालको चीजमात्र किन भन्दै अगाडि भने, ‘किन फापर, मकै, कोदो र केही धान गहुँको सिवाय अरू चीजको पैदावार हुन्न ? जुन देशमा प्रकृतिले रमणीय दृश्यको गिन्ती राखेको छैन, जसलाई हेर्नमात्र पाउँदा अरू देशका मानिस धन्य ठान्दछन्, त्यो रमणीयताको शक्तिशालिनी नदीहरू छन् त्यस देशमा सधैं सुख्खा किन ? जुन देशमा थरिथरिका वनौषधिहरू छन्, त्यहीँ सदा रोग र व्याधिको वास किन ? जुन देशका सालका काठले अरूका महल तयार हुन्छन् त्यसै देशका प्रजाको छाप्रोमात्र किन ?’
त्यतिबेलाको देशको शासन प्रणालीका कारण नै नेपाली गरिब भएको प्रसङ्ग जोड्दै उनले भने, ‘त्यसको एकमात्र जवाफ छ – हाम्रो देशको दूषित शासन प्रणाली । जुन बखत अरू देश किसिम किसिमका आविश्कार, उद्योगधन्दा बनाउन लागे सोही बखतमा हाम्रो देशमा एउटा ठूलो राजनीतिक परिवर्तन भयो । त्यो हेरफेर हो, हाम्रो देशको आजको राजकाजको थिति अर्थात् राणाशाहीको जन्म । राणाशाहीले सन् १८४६ मा जन्म लिएको हो तथा त्यस बेलादेखि आजसम्म देशका हातखुट्टालाई मकिई बाँध्ने एउटा पासो भइसकेको छ । केवल राजनीतिक विकास क्षेत्रमा मात्र होइन, यसले आर्थिक, सामाजिक एवम् साँस्कृतिक क्षेत्रमा पनि जकडबन्दी गरिराखेको छ । न त्यो बोल्नै सक्तछ, न त हाँस्नै, न रूनै पाउँदछ ।’
राणाशासनले कतिसम्म मुलुक पछाडि धकेलियो भन्ने प्रसङ्ग जोड्दै सभापति कोइरालाले भने, ‘भाइ रोलको प्रथा र जहानियाँ राजको जो व्यवस्था जङ्गबहादुरका पालादेखि चल्यो । त्यसैले हाम्रो देशको विकासलाई पछाडि घचेट्ने मात्र होइन कि बिलकुलै रोकिदियो । अरू देशले आफ्नो औद्योगिक प्रसारका साथै समृद्धिका साथ साहित्यिक, सांस्कृतिक र बौद्धिक विकास गरे । हाम्रो देश यी सबै कुराबाट बञ्चित रह्यो । एवम् युगधाराको प्रवाह नै कृत्रिम तरिकाले रोकिएर संसारका सभ्यताका दगुराइमा हाम्रो देश टीनका बट्टामा हावा बन्द गरी राखिएको चीज झैं वर्तमान युगको प्रवाहदेखि वञ्चित गरिएर मध्ययुगीन अवस्थामा राखियो ।’
एक सय चार वर्षे राणाशासन कालमा प्रगति हुनुको सट्टा देश अधोगतिमा जानुको कारण खोल्दै उनले भने, ‘राज्यको आमदानी आफ्ना मुलुकको बेहत्तरी र उन्नतिका निमित्त खर्च हुनु सट्टा व्यक्तिगत सङ्ग्रहका लागि विदेशमा थुप्रिन थाल्यो । यो जहानियाँ राजको प्रथाले गर्दा, शासक परिवारको आपसको हानथाप, दरवारी षड्यन्त्र इत्यादिको कथा नेपालीमा साधारण कुरा हुन आयो । आफ्नै परिवारमा एउटाले अर्काको विश्वास राखेन । दाजुलाई उछिट्याउने दाउ भाइले, भाइलाई उछिट्याउने दाउ दाजुले, काकालाई बिताउने भतिजाले, भतिजाहरूलाई सिध्याउन खोज्ने काकाले । यस्तै प्रकारको तानातानको इतिहास नै यो १०४ वर्षको राणाशाहीको इतिहास हो ।’
नेपाली मुद्रा विदेशमा लगेर थुपारेकै कारणले देशको आर्थिक स्थिति धरासायी बनेकोतर्फ केन्द्रीत गर्दै नेता कोइरालाले भने, ‘सारा देशका राज्य–करको थुप्रोको खटन गर्न पाउने प्राइमिनिस्ट (प्रधानमन्त्री) ले आफू र आफ्नो लागि राजस्वको दुरूपयोग गर्न थालेको मात्र होइन, स्वदेशी भइकन विदेशीका झैं आफ्नो देशको प्रतिवर्षको आयको ठूलो भाग देशबाट निस्केर विदेशी बैङ्कमा पुग्यो । औं त्यो धन जसले आफ्नो देशको औद्योगिक प्रसार गर्नुपर्ने थियो, देशलाई दिन प्रतिदिन गरीब तुल्याउँदै विदेशिन थाल्यो । जहाँ एउटा परिवारका मानिस दिन परदिन धनी हुँदै गए उता देशका अरू मानिस दिन परदिन गरिब हुँदै गए । यसरी यो प्रथाले गर्दा देशको आर्थिक सन्तुलन नै भताभुङ्ग पार्यो ।’
गरिबी बढ्नुको कारणबारे थप यसरी खोले मातृकाले आफ्नो भाषणमा, ‘पहाड प्रान्तमा आवादी बढ्दै गएको र सो अनुपातमा जग्गा वा उब्जनी बढ्न नपाएकोले पहाडमा गरिबी झन् झन् बढ्दै गयो । भोकको चपेटा र रन्काले रन्थनिएर देशको एउटा ठूलो सङ्ख्याका मानिस इलम र रोजीका खोजमा दक्षिणतिर झर्न थाले । तिनै भोका र नाङ्गाको दललाई हाम्रो राणाशाहीको पोषक ब्रिटिश सरकारले प्रजातन्त्रको नाम दियो । बहादुर गोरखा सिपाही अङ्ग्रेजी सरकारले देख्यो । सात समुद्र पारीबाट गोरा फौजमात्र ल्याई हिन्दूस्तानलाई अँचेट्न गाह्रो छ ।’ (कोइरालाको सम्वोधन नेपाली काँग्रेस ऐतिहासिक दस्तावेजहरूबाट लिइएको हो)