arrow

प्रश्न उठेका श्रीमान्‌ले राजीनामा दिए म पनि दिन तयार छु : प्रधानन्यायाधीश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
cholendra-rana-chief-justic.jpg

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूले सेवाबाट बाहिरिनुपर्ने हो भने प्रश्न उठाइएका अरू न्यायाधीशले पनि राजीनामा दिनुपर्ने बताएका छन् ।  प्रधानन्यायाधीश र न्यायाधीशहरूको बिचमा मङ्गलवार भएको भेटमा उनले  यस्तो बताएका हुन् । 

प्रधानन्यायाधीश जबराले आफूले सेवाबाट बाहिरिनुपर्ने हो भने प्रश्न उठाइएका अरू न्यायाधीशले पनि राजीनामा दिनुपर्ने अनि आफूले राजीनामा दिने समेत छलफलमा भनेका छन् । 

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीशले भनेको कुरा उद्धृत गर्दै भने, “तपाईँहरूले भने जसरी म बाहिरिनु राजी छैन, यदि सेवाबाट मैले राजीनामा दिनुपर्ने हो भने जुन–जुन श्रीमान्का विषयमा प्रश्न उठेको छ उहाँहरुले पनि राजीनामा दिए म पनि राजीनामा दिन तयार छु ।”

प्रधानन्यायाधीशले  संविधान र कानुनले दिएको दायित्व पूरा गरेर मात्र आफू सेवाबाट बाहिरिने बताएका छन् । दाहालका अनुसार प्रधानन्यायाधीशले भने, “संविधान र कानुनबमोजिम नियुक्त भएको प्रधानन्यायाधीशले संवैधानिक दायित्व गर्नुपर्छ, म त्यो पूरा गर्न सक्षम छु, संविधान र कानून दिएको जिम्मेवारी पूरा गरेर म बाहिरिन्छु ।”

प्रधानन्यायाधीश राणाले न्यायाधीशहरुलाई संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् । सर्वोच्च अदालतमा सोमवार र मङ्गलवार पेशी तोकिए पनि बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । जसले गर्दा पालोमा टाढा टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।

प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) सोमबार बस्ने भनिए पनि न्यायाधीशहरू उपस्थित नभएका कारण बस्न सकेन । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरू पूर्ण बैठकमा नगएपछि बैठक बस्न सकेको थिएन । बुधबार फेरि प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच छलफल हुनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ