arrow

प्रधानमन्त्री देउवा र श्रीलङ्काका राष्ट्रपति राजपाक्षेबीच भेटवार्ता

logo
भीष्मराज ओझा,
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
pm-deuba-england.JPG

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेबीच द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा भाग लिन आएका उनीहरुबीच मंगलवार ‘साइडलाइन’ भेटवार्ता भएको हो ।

भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए । दुवै देशबीच सुमधुर सम्बन्ध छ । उनीहरुबीच शैक्षिक क्षेत्रमा सहयोग आदानप्रदान गर्ने, द्विपक्षीय संस्कृति मजबुत बनाउने लगायत विषयमा कुरा भएको थियो । सो अवसरमा श्रीलङ्काली राष्ट्रपति राजपाक्षेले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको र त्यसमा नेपालको सदभाव होस् भन्ने चाहना राखेको सचिव पौड्यालले बताए ।

यसैगरी दुवै देशको पर्र्यटनका क्षेत्रमा प्रवद्र्धन गर्ने र सम्बन्ध अझ मजबुत बनाउने तथा उच्चस्तरमा संवादलाई निरन्तरता दिनेलगायतका विषयमा उनीहरुबीच छलफल भएको थियो । सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा यही कात्तिक १२ गते राति संयुक्त अधिराज्य पुगेका थिए ।

 यही कात्तिक १४ गतेदेखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप-२६ कात्तिक २६ गतेसम्म चल्नेछ । नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, विभिन्न मन्त्रालयका सचिवहरु, उच्च अधिकारी, सञ्चारकर्मीलगायत छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ