नेकपाको दोस्रो महाधिवेशन : पुष्पलाललाई हराउँदै नेतृत्वमा रायमाझीको पकड
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
1.5k
Shares
पहिलो महाधिवेशन भएको चार वर्षपछि नेपाल कम्युनिस्ट पार्टी नेकपाको दोस्रो महाधिवेशन २०१४ साल जेठ १५–२५ मा अहिले निर्वाचन आयोग भएको स्थल काठमाडौँको फोहरा दरबारमा खुला रूपमा सम्पन्न भयो । महाधिवेशनको झन्डोत्तोलन पुष्पलाल श्रेष्ठले गरेका थिए ।
उद्घाटन त्यस बेलाका कार्यवाहक महासचिव केशर जङ्ग रायमाझीले गरेका थिए । पहिलो महाधिवेशनद्वारा निर्वाचित महासचिव मनमोहन अधिकारी चीनमा उपचारका लागि बसेपछि उनी सो महाधिवेशनमा उपस्थित भएनन् । रायमाझीले नै कार्यवाहक महासचिवकै हैसियतले महाधिवेशन गराए ।
दोस्रो महाधिवेशनमा केशर जङ्ग रायमाझीले पार्टीको कार्यक्रम परिवर्तनको प्रस्ताव राखेका थिए । प्रस्तुत पार्टी कार्यक्रममा परिवर्तन किन ? भन्ने दस्ताबेज पूर्ण रूपमा अस्वीकृत भयो र गणतन्त्रको कार्यनीति नारा पास भयो । महाधिवेशनमा पुष्पलालद्वारा प्रस्तुत कार्यक्रमको मुख्य मुख्य बुँदाको मस्यौदा पनि पास भयो । यसकै आधारमा कार्यक्रमको पूर्ण मस्यौदा तयार गरी केन्द्रीय समितिद्वारा जारी गर्ने निर्णयसमेत लिइयो ।
महाधिवेशनमा रायमाझीद्वारा प्रस्तुत लाइन अस्वीकृत भए पनि नेतृत्वमा रायमाझी गुटको नियन्त्रण रह्यो र रायमाझी दोस्रो महाधिवेशनद्वारा पुनः महासचिव बन्न पुगे । यो महाधिवेशनको रमाइलो पक्ष के हो भने नेतृत्वको लागि भएको मतदानमा रायमाझीले १७ मध्ये १२ मत पाएका थिए भने पुष्पलालले पाँच मत मात्रै पाएका थिए ।
अल्पमतमा रहेका पुष्पलालको कार्यक्रम पारित भएका कारण त्यसलाई लागु गर्न बहुमतको नेतृत्वले ध्यान दिएन । त्यसपछि उनले योजनाबद्ध रूपमा महाधिवेशनद्वारा पारित कार्यक्रम र कार्यनीतिलाई अस्वीकार गर्ने काम गरे ।
दुई–दुई वर्षमा महाधिवेशन गर्ने दोस्रो महाधिवेशनको निर्णयलाई केन्द्रीय समितिको बहुमतको आडमा रायमाझी गुटले ६ वर्षसम्म टार्ने काम गर्यो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेको दक्षिणपन्थी अवसरवादी रायमाझी गुटले नेपालको कम्युनिस्ट आन्दोलनलाई लामो समयसम्म असर पार्यो ।
अहिले पनि कुनै न कुनै रूपमा त्यसको प्रभाव देखिने गरेको छ । दोस्रो महाधिवेशनबाट तेस्रो महाधिवेशन नहुँदै नेपालमा राजा महेन्द्रले पञ्चायत सुरु गरे । प्रजातन्त्रलाई कु गरियो धेरै नेताहरू जेल परे । उता चीनबाट उपचार गरी फर्किएका मनमोहन अधिकारीलगायत धेरै नेताहरू जेलमा परेपछि अन्यौलता छायो ।
पार्टीका निर्वाचित महासचिव त्यति बेला रुस थिए । उनले मस्कोबाटै राजाको कदमको स्वागत गरिदिए । उनी पूर्ण रूपमा राजावादी कम्युनिस्ट भइसकेको आरोप लाग्यो । त्यो आरोप पछि प्रमाणित भयो ।
त्यो समय नेकपाको लागि निकै कठिन बनेको थियो । पार्टी प्रतिबन्धित थियो । त्यसमाथि प्रभावशाली नेताहरू जेलमा पनि परेका थिए । जेलबाहिर र भित्रका नेताहरूबीच प्रभावकारी सम्पर्क हुन सकेको थिएन ।
पार्टीका सानातिना विवाद पनि ठुला देखिन थाले । अप्ठ्यारो परिस्थिति भएका कारण पार्टी कार्यनीति र रणनीतिमा मेल खाएन । रुसी संरचनाको पार्टी बनाउने कि चिनियाँ संरचनाको पार्टी बनाउने भन्ने बारेमा निकै विवाद थियो ।
यही बीचमा २०१७ फागुन–चैतमा भारतको दरभंगामा बसेको पार्टीको विस्तारित बैठकले ९ महिनाभित्र पार्टीको दोस्रो महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर दस्ताबेज, प्रतिनिधित्व, स्थान, खर्च लगायतको विषयमा निर्णय नभएको भन्दै तोकिएको समयमा महाधिवेशन हुन सकेन ।
०१७ पुस १ गतेदेखि सुरु भएको पञ्चायती शासनमा पार्टीहरू प्रतिबन्धित भएका कारण महाधिवेशन झन् कठिन बन्दै गयो । महाधिवेशन नै नभएपछि पार्टीभित्र बहुमत र अल्पमतबीच विवाद बढ्न थाल्यो ।
पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारी भने रायमाझीको विपक्षमा थिए । रायमाझी कालान्तरमा राजदरबार पसे । पुष्पलाल, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारीजस्ता नेताहरू पनि क्रमशः त्यतिखेरका शक्तिशाली कम्युनिस्ट राष्ट्रलाई हेर्ने दृष्टिकोणमा विभाजित हुन थाले ।
२०१४ सालमा पार्टीको दोस्रो महाधिवेशनमा मोहनविक्रम केन्द्रीय समितिमा निर्वाचित भए । त्यसपछि पुष्पलाल र मोहनविक्रम बीचको सम्बन्ध घनिष्ठ हुँदै गयो । वैधानिक राजतन्त्र मान्ने कि गणतन्त्र ?
यो प्रश्नमा पार्टीमा कडा अन्त सङ्घर्ष चल्यो । महाधिवेशनले गणतन्त्रको सिद्धान्त पारित गर्यो । यो सिद्धान्त पास हुनुमा पुष्पलाललाई मोहनविक्रम सिंहको साथ थियो ।
२०१६ पुसमा काठमाडौँमा भएको केन्द्रीय समिति बैठकमा सबै नेता आलोचित भएका थिए । पुष्पलालमाथि ‘व्यक्तिवादी’ र ‘नेतृत्वको महत्त्वाकाङ्क्षी’ भएको आरोप लगाइएको थियो भने तुलसीलाल अमात्यमाथि ‘संसदीय मोर्चामा सक्रिय भूमिका खेल्न नसकेको’, केशर जङ्ग रायमाझीलाई ‘राजावादी भएको’, डीपी अधिकारीलाई ‘काँग्रेस पन्थी’ को आरोप लगाइयो ।
तेस्रो महाधिवेशनमा नहुँदै २०१५ सालमा भएको आम निर्वाचनमा देशभरबाट ४ सिट मात्रै विजय हासिल गरेको थियो । १०९ सिटका लागि २०१५ सालमा भएको आम निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले ४ सिट मात्रै जितेको थियो । नेपाल कम्युनिस्ट पार्टीले १ लाख २९ हजार १ सय ४२ मत पाएको थियो ।
२०१५ सालको पहिलो आम निर्वाचनमा पुष्पलाल श्रेष्ठ काठमाडौँबाट काँग्रेसका गणेशमान सिंहसँग पराजित भए । ललितपुरबाट तुलसीलाल अमात्य र पाल्पाबाट कलमराज रेग्मी दुई पोलिटब्यूरो सदस्यले मात्र चुनाव जिते ।
बाँकी २ जना रौतहटका स्थानीय कार्यकर्ता थिए । चार सदस्यीय संसदीय दलमा तुलसीलाल अमात्य संसदीय दलको नेता भएका थिए । ०१७ सालमा राजा महेन्द्रले कु गरेपछि भने कम्युनिस्ट पार्टीको अवस्था निकै कमजोर बन्यो ।
पार्टीलाई स्पष्ट दिशा दिन २०१७ फागुनमा भारतको दरभंगामा अल्पमत पक्षले केन्द्रीय कमिटीको विस्तारित बैठक बोलायो । सोही बैठकले पाँचै जोनका संयोजक सम्मिलित ‘अन्तर–जोन सामञ्जस्य समिति’ बनायो । यो समितिले २०१९ सालमा ‘तलबाट बोलाइएको अधिवेशन’ आयोजना गर्यो ।
अधिवेशनले बहुमत पक्षका महासचिव केशर जङ्ग रायमाझीलाई तीन वर्ष, डीपी अधिकारीलाई दुई वर्ष र शम्भुराम श्रेष्ठ तथा पीढी मल्ल लगायतलाई एक वर्षका लागि पार्टीबाट निष्कासित गर्यो ।
अर्कोतर्फ बहुमत पक्षले अल्पमत पक्षको अधिवेशन हुनुअघि नै पुष्पलाल, तुलसीलाल अमात्य र हिकमतसिंह भण्डारीलाई पार्टीबाट निष्कासन गरिसकेको थियो ।
अल्पमत पक्षले तुलसीलाललाई महासचिव छान्यो । बहुमत पक्षको महासचिवमा केशर जङ्ग रायमाझी यथावत् थिए । रायमाझी गुटबाहेकका नेताहरू पार्टीको अल्पमतमा थिए तर पनि अल्पमतले आन्तरिक विधि पुर्याइ वैशाख ४ देखि १५ गतेसम्म लगाएर २०१९ मा भारतको बनारसमा तेस्रो महाधिवेशन सम्पन्न गर्यो ।
दोस्रो महाधिवेशनपछि कम्युनिस्ट आन्दोलनमा विष्णुबहादुर मानन्धर लामो समयसम्म डा. केशर जङ्ग रायमाझीका साथमा थिए । पछि रायमाझीलाई निष्कासन गरेपछि एक समय मानन्धर पनि महासचिव भए । रायमाझी, मानन्धर, कृष्णराज बर्मा, तुलसीलालहरूका बीचमा एकता र विभाजन भइरह्यो । रायमाझी भने पछि एक्लै परे ।
२०१८ सालमा दरभंगामा कम्युनिस्ट पार्टीको प्लेनम भयो । त्यस प्लेनममा २४ जिल्लाका प्रतिनिधिहरू, केन्द्रीय सदस्यहरू गरी ५४ जना नेता कार्यकर्ताहरूले भाग लिएका थिए । त्यहाँ पेस भएका ३ वटा राजनैतिक दस्ताबेज मध्ये मोहनविक्रम सिंहले पेस गरेको संविधान सभाको लाइनमा २८ मत परेको थियो ।
संविधान सभाको विषयमा २००७ सालमा पनि कम्युनिस्ट पार्टीले उठाएको भए पनि राजाले कु गरेपछि पनि नेताहरूबीच छलफल भई संविधान सभाको चर्चा र परिचर्चा भएको नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
नेपाली काँग्रेसले राजाको कदमको विरोध गरेको भए पनि कम्युनिस्टहरू भने सानो समूहमा रहेका र विभाजित मानसिकता भएकाले उनीहरूको आवाज पनि कमजोर थियो ।
कम्युनिस्ट पार्टीले विघटित संसद्को पुनर्स्थापनाको नारा दिएर निरङ्कुश राजतन्त्र र पञ्चायती तानासाही व्यवस्थाविरुद्ध सङ्घर्ष गर्ने घोषणा गरेको थियो । पुष्पलालले पनि दरभंगा प्लेनममा त्यही नारालाई प्रस्तावित गरे ।
मोहनविक्रमले पहिले देखिको संविधानसभाको नारालाई निरन्तरता दिने कुरामा जोड दिए। त्यसरी दरभंगा प्लेनममा गएर पुष्पलाल र मोहनविक्रमबीचको एकता अन्तर्विरोधमा बदलियो।
रायमाझी पक्षको मत संविधानसभा वा विघटित संसद्को पुनर्स्थापनाजस्तो कुनै नारा नदिएर संसदीय प्रणालीको पुनर्स्थापना गर्नुपर्छ भन्ने थियो।केन्द्रीय कमिटीमा रायमाझीको बहुमत थियो । पुष्पलालको प्रस्तावको पक्षमा तुलसीलाल, शम्भुराम, हिकमतसिंह भण्डारी आदिको समर्थन थियो।