arrow
ADVERTISEMENT

प्रेस विश्वभर नै शक्तिशाली शक्ति : मन्त्री खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
Kumar Khadka.jpg

पोखरा । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जनताको हित र अधिकारको मर्यादा राख्ने काम पत्रकारिताले गरेको भन्दै प्रेस नेपालमा मात्रै नभई संसारभर नै शक्तिशाली शक्तिका रुपमा हेरिएको बताएका छन् ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ कास्कीको संयोजनमा पोखरामा आयोजित पत्रकार आचार संहिता जागरण कार्यक्रम कार्यक्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

मन्त्री खड्काले जबसम्म पत्रकारमा म नै प्रेस काउन्सिल हो भन्ने भावनाको विकास हुँदैन तबसम्म पत्रकारिता मर्यादित नहुने बताए । 

उनले बेलायतको उदाहरण दिँदै भने,‘म अध्ययनको क्रममा बेलायत बस्दा त्यहाँका पत्रकारहरुले म नै प्रेस काउन्सिल हो भनेको सुन्दा अचम्म लाग्थ्यो । सकारात्मक सूचना प्रवाहमा उनीहरु लागेका छन् । त्यसैले त आज विकासको दृष्टिकोणबाट पनि अगाडि छन् ।’

मन्त्री खड्काले अल्पविकसित राष्ट्रहरुमा पत्रकारहरुले दिएको न्यूज न्यूजमा मात्रै सीमित नरही भ्यूज बन्ने गरेको धारणा राखे । उनले  पत्रकारका समाचारका आधारमा नागरिकको धारणा बन्ने गरेको बताए । 

अझै पनि नेपालमा पाठ्यपुस्तक र अखबारलाई समान दर्जामा हेर्ने चलन रहेको उल्लेख गर्दै मन्त्री खड्काले पत्रकारहरुले दिएका सूचनाहरुले धेरै ठूलो महत्व राख्ने स्पष्ट पारे । 

कलम चलाउँदा पत्रकार गम्भीर र जिम्मेवारी बन्नुपर्ने आवश्यकता रहेको भन्दै उनले पत्रकारका केही हेडलाइनका कारण आत्महत्या गर्नुपर्ने अवस्था पनि समाजमा आएको बताए । उनले मूल्यमान्यता विपरित पत्रकारिता गर्ने पत्रकारहरुलाई नियमनमा ल्याउनुपर्नेमा जोड दिए । 

उनले भने, ‘अहिले नेपालको पत्रकारिता क्षेत्रमा नकरात्मक विषयलाई मात्र बढी प्रशयका साथ प्रस्तुत गरिएको पाइन्छ । टिआरपी बढाउन चरित्र हत्या गर्ने खालका प्रयास समेत हुने गरेको छ । जसले गर्दा समाजमा राम्रा पत्रकारलाई समेत हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । नकारात्मक समाचारका कारण सकारात्मक समाचार समाजमा प्रवाह भइरहेको देखिंदैन । तथ्य, सत्यहीन समाचारलाई नियमन गरी कार्बाहीको दायराभित्र प्रेस काउन्सिल र पत्रकार महासंघले नै ल्याउनुपर्ने आवश्यकता छ ।’ 

उनले प्रदेश संचार ऐन विधायन समितिमा गएको र पत्रकारिताको आचार संहिता मैत्री बन्ने बताए । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आचार संहिताको मन्त्रलाई पत्रकारले जपेका छन् वा छैनन् ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताए । 

स्वच्छ पत्रकारिताको नमूना पोखरा बन्नुपर्ने धारणा उनको छ । जनताको प्रतिनिधि पत्रकार पनि भएको उल्लेख गर्दै बस्नेतले पत्रकारले रिसर्च ओरियन्टेड काम गर्नुपर्ने बताए । 

उनले पत्रकारले कुनै पार्टीको सदस्यता नलिई स्वतन्त्र हुनुपर्ने तर्फ जोड दिएका छन् । 

कास्कीका प्रमुख जिल्ला अधिकारी प्रमुख जयनारायण आचार्यले पत्रकारले जे लेखे त्यही समाजले पत्याउने भएकाले सत्य र तथ्य परक समाचार मात्र सम्पे्रषण गर्न आग्रह गरे ।

उनले सकारात्मक सन्देश प्रवाह हुने समाचार सम्प्रेषण गर्नुपर्ने दायित्व पत्रकारको भएको उल्लेख गरे । 

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले तथ्यलाई पुष्टी गरेर प्रमाणसहित समाचार लेख्नुपर्ने बताए । 

उनले आचारसंहिताले कुनै पनि पेशा व्यवसायलाई नियममा बाध्ने भएकाले यसलाई मर्यादित ढंगले प्रयोगमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । 

आफूहरुले शंकाका आधारमा सूचना नदिएर पुष्टि सहितको सूचना दिने गरेको जानकारी उनले गराएका छन् । 

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय पत्रकारिता क्षेत्रमा उठेको आचारसंहिताको विषयलाई चिरफार गर्ने ध्येयका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी गराइन् । 

उनले भनिन्,‘पछिल्लो समयमा संचार क्षेत्रमा बढ्दो आकर्षण छ । नयाँलाई पत्रकारिताको आचारसंहिताको विषयमा जानकारी नहुन सक्छ । पत्रकार महासंघ कास्कीले नयाँलाई पनि आचारसंहिताको बारेमा जानकारी दिने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरेको हो ।’ 

आगामी समयमा पनि कास्कीका पत्रकारहरुको हित बमोजिमको कार्यक्रम ल्याउन तर्फ महासंघ केन्द्रीत रहेको भनाई उनको छ । 

कार्यक्रममा पत्रकार आचार संहिता सम्बन्धी प्रस्तुति प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारी राखेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ