रौतहट । पूर्व पश्चिम विद्युतीय रेलमार्गको निजगढ-बर्दिबास खण्ड अन्तर्गत रौतहटको चन्द्रपुर ८ बेतौनामा निर्माणाधीन ३ नम्बर प्याकेजको काम बन्द भएको छ । कर्मचारी र स्थानीय सप्लायर्सलाई रकम भुक्तानी नगरेको भन्दै काम बन्द गराइएको हो ।
हिम्दुङ ठोकर जेभिले सकार गरेको ठेक्का त्रिनेत्र साकार कोटेश्वरले पेटी कनट्र्याक्टमा निर्माणको जिम्मा लिएको भए पनि २ वर्षदेखि भुक्तानी नगर्दा काम बन्द गराउनु परेको दिनेश गिरीले जानकारी दिए ।
रेल्वेमा काम गर्ने ३० कर्मचारीको करिब ६८ लाख ६१ हजार रुपैयाँ र मिक्स ग्रेभल देखि अन्य सामाग्री सप्लाई गर्नेहरूको ९ करोड ५० लाख रुपैयाँ भुक्तानी हुन नसकेको गिरीले जानकारी दिए । ठेकेदार कम्पनीले काम बापतको भुक्तानी निकाल्ने र अन्यत्र खर्च गर्ने गरेको आरोप स्थानीय सप्लायर्सहरुको छ ।
सधैँ आज भोलि भन्दै ठेकेदारले झुक्क्याउने मात्र गरेको सप्लायर छवि पहरीले बताए । " करोडौँ रकम भुक्तानी नदिएपछि काम बन्द गराउनु बाहेक केही विकल्प छैन,जब सम्म भुक्तानी हुँदैन तबसम्म काम बन्द रहन्छ,उनले भने ।"
समयमा भुक्तानी नहुँदा कामदार देखि सप्लायर्सहरु सबै आक्रोशित बनेका छन् ।