काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक फेरि स्थगित गरिएको हो । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयका अनुसार बैठक छ दिनका लागि स्थगित भएको हो ।
सरकारको आग्रहमा बुधबारका लागि तय भएको बैठक ६ दिनका लागि स्थगित गरिएको जनाइएको छ । संसद् सचिवालयले बुधबारको बैठको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको थियो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्ने तयारी हुँदा बैठक सारेको हो । यसअघि पनि यसैगरी कार्यव्यवस्था समितिको बैठक डाकिसकेपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारीसमेत नगराई बैठक सारेका थिए ।
माघ १६ गतेका लागि बोलाइएको बैठक पनि सूचनामार्फत् सारिएको थियो । त्यतिबेला माघ २६ गतेका लागि अर्को बैठकको मिति तोकिएको थियो ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसदमा टेबुल गर्ने प्रधानमन्त्री देउवाले मनस्थिति बनाएको बुझेका सापकोटाले यसलाई पन्छाउन खोजिरहेका छन् ।
उनले यसअघि एमसीसी पारित हुने अवस्था आए आफूले पदबाट राजीनामा दिने बताइसकेका छन् । उनले कुनै पनि हालतमा एमसीसी संसदमा पेश गर्न नदिने अडान लिएका छन् ।
यही कारण सत्ताधारी दलहरुबीच पनि सहमति बन्न सकेको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकातिर एमसीसी कार्यालयलाई पत्र लेखेर संसदबाट एमसीसी पारित गर्ने बताइसकेका छन् भने अर्कातिर पार्टी नेताहरु तथा कार्यकर्तालाई एमसीसी पारित गर्नुपरे सत्ताबाट बाहिरिने भन्दै झुटो बोलेका छन् ।
सत्ताधारी अर्को दल नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि एमसीसी पारित नगर्ने बताइरहेका छन् । तर आधिकारिक निर्णय भने नेकपा एसले गरेको छैन । जनमोर्चा भने अन्य साना कम्युनिष्ट दलहरुसँग मिलेर सडक आन्दोलन नै गर्ने बताइसकेको छ ।
नेकपा एसले औपचारिक निर्णय गरेको छैन । नेपाली कांग्रेसले पहिलेदेखि नै एमसीसी पारित गर्नुपर्नेमा जोड दिँदै आएको छ भने सत्ताधारी अर्को दल जनता समाजवादी पार्टीले पनि पारित गर्नुपर्ने बताएको छ ।
यसै पनि संसद विघटन गरेको एमालेले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि छ महिनादेखि संसद चल्न दिइरहेको छैन । निरन्तर संसद अवरुद्ध हुँदा जनताका काम ठप्प भएका छन् भने कतिपय कानूनहरु अध्यादेशका भरमा चलिरहेका छन् ।
अहिले आएर स्थानीय तहको निर्वाचनकोसमेत घोषणा भइसकेको अवस्थामा संसदलाई अनिर्णयको बन्दी बनाइँदा राजनीतिक दुर्घटना निम्तन सक्ने चेतावनीको संकेतसमेत देखिन थालेको छ ।