arrow

'शास्त्र पढ्दैमा परमात्मा पाइँदैन ध्यानमा डुब्नुपर्छ'

श्रीरामकृष्ण परमहंस (भाग २)

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ फागुन ५ बिहिबार
ramkrishna-paramhans-final.jpg

रामकृष्ण परमहंस काली भक्त हुनुहुन्थ्यो । आफूलाई केही काम गर्नु पर्‍यो भने पनि उहाँ कालीको अगाडि गएर निवेदन गर्नु हुन्थ्यो । एक दिन उहाँको घरमा तोतापुरी नामका एक साधु आइपुगे र दीक्षा ग्रहण गर्न अनुरोध गरे । त्यो कुरा पनि उहाँले कालीको मूर्ति अगाडि गएर निवेदन गर्नुभयो र मां कालीबाट स्वीकृति पाएपछि मात्र दीक्षा लिनुभयो ।

उहाँ विवाहित हुनुहुन्थ्यो तर पनि आफ्ना धर्मपत्नीलाई माता बराबर सम्झेर व्यवहार गर्नु हुन्थ्यो । उहाँ कामिनी काञ्चनसँग बचेर संसारमा बस्नुपर्छ, यद्यपि यी दुवै वस्तुहरू केही न केही मात्रामा संसार यात्राका लागि आवश्यक देखिन्छ भन्नु हुन्थ्यो । सम्पत्ति जम्मा गर्ने र भोगमा लिप्त हुने काम नगर्न उहाँ सल्लाह दिनु हुन्थ्यो । 

उहाँलाई कसैले संसारमा दुष्ट विचारधाराका मानिस पनि पैदा भएका छन् नि भनेर प्रश्न गर्दा उहाँ यो ईश्वरको माया हो भन्नुहुन्थ्यो । उनको मायामा विद्या पनि हुन्छ, अविद्या पनि रहन्छ । जसरी उज्यालोले मात्र संसार चल्दैन, अँध्यारो पनि चाहिन्छ, त्यस्तै दुष्ट पनि हुन्छन्, सज्जन पनि हुन्छन् । 

आवश्यक नभएको कुरा ईश्वरले किन सृष्टि गरे त ? यस्ता दुस्मनलाई दबाउन परमात्माले नै महापुरुषहरूको सृष्टि गर्नु भएको हो र चाहेमा मनुष्यले यस्ता दुर्गुणहरू हटाएर परमात्मा दर्शन पनि त गर्न सक्छ नि? उहाँ यस्ता सरल तरिकाले दृष्टान्त दिएर आफ्ना अनुयायीहरूलाई सम्झाउनु हुन्थ्यो । 

उहाँ भन्नुहुन्थ्यो गृहस्थ भए पनि मनुष्यले आफ्नो कर्तव्य सयकडा पच्चीस मात्र सम्पन्न गरेर बाँकी समय परमात्मा चिन्तनमा लगाउनु पर्दछ । अज्ञानता हटाउन ज्ञानको आवश्यकता पर्दछ तर त्यही ज्ञान मात्र जम्मा गरेर काम लाग्दैन । कुनै व्यक्तिको पैतालामा काँडा बिझ्न गयो भने उसले अर्को काँडाले खुट्टामा गडेको काँडा झिक्छ र दुवैलाई फाँकिदिन्छ र आफ्नो बाटोमा अगाडि बढ्छ । हामीले पनि ज्ञानको सहारा लिएर अज्ञानलाई हटाउँदै परमात्मा दर्शनका लागि अगाडि बढ्दै जानुपर्छ ।

उहाँ भन्नुहुन्थ्यो, परमात्माको प्रेममा डुबुल्की लगाइ उनैलाई प्रेम गर्न सिक । कुनै धनी व्यक्तिको पर्खालले घेरेको बगैँचा छ , त्यसमा अनेक प्रकारका फल फूलहरूका रुख हरू छन्, एक छेउमा सुन्दर महल छ भने बाटो हिँड्ने वटुवाले त्यो रमाइलो हेर्दै जान्छ तर त्यो घरको मालिकलाई वास्ता नै गर्दैन । कोही व्यक्तिलाई त्यही घरको मालिक भेट गर्नु पर्‍यो भने उसले ढोका ढकढक्याउँछ र सोधखोज गरेर भेट गर्दछ र आफ्नो कुरा राख्दछ । 

मनुष्यले परमात्मा आराधना गरिरहनुपर्छ । शास्त्र पुस्तक पढ्दामा नै परमात्मा पाइँदैन तर उसले परमात्माका बारेमा केही थाहा पाउँछ तर आफूले नै उनको ध्यानमा डुबेर उनलाई पाउनु पर्दछ । यसरी आफ्ना अनुयायीहरूलाई अनेक दृष्टान्त दिएर परमात्माको चिन्तनमा अगाडि बढाउँदै जाँदा अगष्ट १६, १८८६ मा उहाँको भौतिक शरीरले संसारबाट बिदा लियो । (समाप्त)।

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ