- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
महाभारतको भीष्म पर्वमा भीष्म पितामहले श्रीकृष्णको हजारौँ नामले स्तुति गरेका छन् । उनको यस स्तुतिलाई विष्णु सहस्रनाम दिइएको छ । नेपाली समाजमा पनि मृत्यु शय्यामा परेका मानिसहरूको अगाडि बसेर विष्णु सहस्रनाम सुनाइन्छ, ता कि उनको मन प्राण छोड्ने बेलामा भगवान्मा लागि रहोस् ।
श्रीकृष्ण आउनु भएपछि भीष्म पितामहले उहाँको दर्शन गर्नुभयो । त्यसै गरी श्रीकृष्णले पनि उनलाई प्रणाम गर्नुभयो । उनले श्रीकृष्णलाई आफूले केही प्रश्न गर्नु छ भने । त्यहाँ उपस्थित सबै छक्क परे । उनी जस्तो ज्ञानीको मनमा के शङ्का भयो होला भनेर सबैमा जिज्ञासा भयो । भीष्मको प्रश्न थियो आफूले जीवनमा कहिल्यै पाप नगरेको, आफू पवित्र भएको, सत्यवादी भएको तर पनि अन्तकालमा यस्तो शरशैय्यामा किन सुत्नु परेको ?
उनको प्रश्न सुनेपछि श्रीकृष्ण मुसुक्क हाँस्नु भयो । उहाँले भीष्मले कहिल्यै पनि पाप नगरेकोले आफू उनको सम्मुख आएको कुरा भन्नुभयो । उहाँले भन्दै जानु भयो, तपाईँले कहिल्यै पाप गर्नु भएन तर पाप तपाईँले हेर्नु भएकोले यस्तो सजाय पाउनु भएको हो । धर्मको गति सूक्ष्म छ । जसले पाप देख्छ, उसलाई मार पनि आउँछ ।
श्रीकृष्ण उनलाई भन्दै जानु भयो, द्रौपदीलाई दुःशासनले विद्वान, ज्ञानी पुरुषहरू भएको सभामा ल्यायो, सारी तान्न लाग्यो, तपाईँ पनि त्यहाँ हुनुहुन्थ्यो, तैपनि तपाईँले केही बोल्नु भएन, जुन पाप तपाईँले देख्नु भएको थियो । यसरी तपाईँले देख्नुभएको पापको सजाय मैले तपाईँलाई दिएको हुँ ।
यसरी उनलाई श्रीकृष्णले जीवनको अन्तिम समयमा उनको भूल बताइ दिनु भयो । उनले आफ्नो आँखाबाट श्रीकृष्णलाई आफ्नो हृदयमा स्थापित गरे र आफूले भगवान् सँग केही नमाग्ने, आफूलाई सुख, सुविधाको इच्छा नभएको र मनमा कुनै कुराको कामना नभएको कुरा बताए । (क्रमशः.....)
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com