arrow

विप्लव नेकपामा दरार, एकअर्कालाई पार्टीबाट निकाल्ने होड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
prakanda-biplab.jpg
तस्बिर– फाइल

काठमाडौं । स्थानीय तहको निर्वाचनले नेकपा विप्लव समूहलाई फुटाएको छ । निर्वाचन उपयोगको नीतिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा औपचारिक विभाजन भएको हो । 

चुनाव उपयोग गर्ने महासचिव विप्लव र प्रवक्ता खड्कवहादुर विश्वकर्माको लाइन विपरीत चुनाव वहिष्कार गर्नुपर्ने धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वलीलगायत नेताहरु रहेपछि एकले अर्कोलाई पार्टीबाट निकाल्ने काम शुरु भएको छ । यही विवादकाबीच विप्लवले सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी पदमुक्त गरेपछि विप्लवको पार्टीमा विभाजनको रेखा कोरिएको हो । विप्लवले उनीहरुलाई निकालेपछि बास्तोला र वलीले पनि विप्लवलाई कारवाही गरेको जनाएका छन् । 

विप्लवले निकालेपछि हेमन्त र धर्मेन्द्रले पार्टीका नेताहरुसँग ललितपुरका एक पार्टी शुभभिन्तकको निवासमा छलफल गरेका थिए । छलफलमा १८ जना केन्द्रीय सदस्य र सल्लाहकार समितिका प्रायः सदस्यहरुको उपस्थिति रहेको थियो । त्यही भेलाले विप्लव लगायतका नेताहरुलाई निष्काशन गरेका हुन् । 

हेमन्त प्रकाश वली र धर्मेन्द्र बास्तोलाले चितवनमा राष्ट्रिय भेलाको आयोजनासमेत गरिसकेका छन् । भेलाले विप्लवहरु संसदवादमा भासिएको निष्कर्ष निकालेका थिए । उनीहरु नयाँ पार्टी घोषणा गरेर जाने विषयमा ठोस निर्णय गर्ने गरी अघि बढेका थिए । 

त्यसमा गुणराज लोहनी र दीपक चलाउनेहरु पनि सहभागी रहेका थिए । गत चैत दोस्रो साताबाट कपिलवस्तुको शिवगढीमा शुरु भएर एक हप्ताभन्दा बढी चलेको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले स्थानीय चुनावमा जानुपर्ने प्रस्ताव लगेका थिए । 

तर उनको प्रस्ताव केन्द्रीय समितिमा अल्पमतमा परेको थियो । विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केही केन्द्रीय सदस्य मात्रै चुनावको पक्षमा उभिँदा बहुमत नेताहरु चुनाव उपयोगको विपक्षमा उभिएका थिए ।

त्यसपछि विप्लवले चुनावबारे मध्यमार्गी नीति बैठकबाट पारित गराएका थिए । त्यो नीति भनेको पार्टी चुनावमा जानका लागि दर्ता नहुने, चुनाव बहिष्कार पनि नगर्ने, पार्टीले स्वतन्त्र उम्मेदवारहरु जो एमसीसीको विपक्षमा छन्, उनीहरुलाई सहयोग गर्ने नीति पारित गरेको थियो ।

तर पारित नीति विपरीत पार्टीका केन्द्रीय सदस्यहरु भेषराज भुसाल, धिरेन्द्र उपाध्याय लगायतका ५ जना केन्द्रीय नेताहरु नै चुनावमा उठेका थिए । त्यतिमात्रै होइन विप्लव र प्रकाण्डले चुनावमा जाने नीति बनाई निर्वाचन आयोग धाउने, आफ्नो पक्षमा सहज हुने गरी निर्णय लिन लगाउने र देशब्यापी सम्भव भएसम्म चुनावमा नेता कार्यकर्ता उठाउने, कतिपय ठाउँमा तालमेलमा जानेसम्मको नीति अवलम्बन गरेका थिए । 

विप्लवको पार्टी भने स्वतन्त्र रुपमा उम्मेदवार उठेर देशभर सम्भव भएसम्ममा पुतली चुनाव चिन्ह लिएर उठेको छ । विप्लवले पुतलीमा मतदान गर्न र पुतली नभएका स्थानमा घण्टाघर, लौरो लगायतका चिन्हमा आगामी बैशाख ३० को स्थानीय तह चुनावमा मतदान गर्न वक्तव्य नै जारी गरेर आह्वान गरिसकेका छन् । त्यसपछि धर्मेन्द्र बास्तोलाले तरुन्त उम्मेदवारी फिर्ता लिन वक्तव्य दिएका थिए । 

त्यसपछि बैशाख १४ मा विप्लवले दुई नेतालाई पदमुक्तको घोषणा गरेका थिए । त्यसपछि विप्लवसँग धर्मेन्द्र हेमन्तको सम्वाद टुटेको छ । पार्टी बैठक बोलाई छलफल गर्न गरेको आह्वान पनि विप्लवले अटेर गरेपछि हेमन्त धर्मेन्द्रहरुले चितवनको पर्सामा राष्ट्रिय भेला बोलाई विप्लवहरुलाई निष्काशन गरेका थिए । 

बुधबारदेखि चितवनमा जारी विशेष राष्ट्रिय भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘ प्रकाण्ड’लाई हटाउने निर्णय गरेर पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश वली‘ सुदर्शन’, धर्मेन्द्र बास्तोला‘ कञ्चन’लगायतलाई पार्टीको जिम्मेवारी दिएको छ । 

बैठकले बास्तोलालाई संयोजक तोकेको छ । पार्टीका सल्लाहकार समिति अध्यक्ष असारे काकाले विप्लवलाई महासचिवबाट निष्काशन गर्ने प्रस्ताव पेश गरेका थिए । 

यसअघि विप्लवले वक्तव्यबाजी गरेको भन्दै बास्तोला र वलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ