arrow

मकवानपुरमा ढल्यो एमालेको 'किल्ला', सूर्यको गढमा काँग्रेसको उदय

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ जेठ ७ शनिबार
lalkilla-hamrakura.jpg

मकवानपुर। नेकपा एमाले मकवानपुरको सबै भन्दा ठुलो दलको रूपमा रहेको थियो। जिल्लालाई एमालेको गढ नै मानिने गरिएको थियो। तर स्थानीय निर्वाचन २०७९ ले एमालेको लाल किल्ला मकवानपुरमा ढालेको छ। यो स्थानीय चुनावमा गठबन्धनलाई पत्ता साफ गर्ने एमालेले पहिले नै उद्घोष गरेको थियो तर अवस्था एमालेले चुनाव अघि सोचेको जस्तो भएन। निर्वाचनको मत परिणाम एमालेले सोचे भन्दा ठिक विपरीत आयो।

गठबन्धनलाई क्लिनस्विप पार्ने दाउमा रहेको एमाले जिल्लाको केही स्थानमा आफै पत्ता साफ भयो। एमालेले पार्टी फुटलाई नजरअन्दाज, उम्मेदवार उठाउँदा केन्द्रीय नेता तथा नजिककालाई टिकट दिने र असली कार्यकर्ताको भावनालाई बुझ्न नसक्नु एमालेको ओरालो यात्राको मुख्य कारण हो भन्दा फरक पर्दैन। यो निर्वाचनमा पार्टी भित्रै अन्तर्घात भएकाले पनि एमालेले ठुलो धक्का व्यहोर्नु पर्‍यो।

हेटौँडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनकी उम्मेदवार नेकपा समाजवादीकी मिना कुमारी लामाले २३ हजार ७५ मत ल्याउँदै विजयी भएकी छिन्। एमालेका अनन्त पौडेललाई उनले २ हजार १६७ मतान्तरले पछि पारिन्। एमालेका पौडेलले २० हजार ९०८ मत प्राप्त गरे भने राप्रपाका दीपक बहादुर सिंह २० हजार ५३१ मत प्राप्त गरे।

त्यस्तै हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा गठबन्धन तर्फका उम्मेदवार नेपाली काँग्रेसका राजेश बानियाँ विजयी भए। उनले ३२ हजार ५९३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्लेलाई ८ हजार ६८४  मतले पछि पार्दै जित हासिल गरे।

यसपालि एमालेले अघिल्लो निर्वाचनमा राम्रो मत ल्याएको वडा तथा पालिकामा समेत लज्जास्पद हार बेहोरेको छ। मत परिणाम प्रतिकुल बन्दै गएपछि जिल्लाका केही नेता तथा कार्यकर्ताले घात र अन्तर्घातका कुराहरू सामाजिक सञ्जालमा समेत पोखेका छन्।

मकवानपुरको १०२ वटा वडा मध्ये काँग्रेसले ४४ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २४ र एमालेले ३३ वडामा अध्यक्ष जितेको छ। त्यस्तै भीम फेदी गाउँपालिकाको अध्यक्ष र इन्द्र सरोबर गाउँपालिकामा मात्र अहिले सम्म एमालेले जित हात पारेको छ।

गठबन्धनलाई धुलो चटाउँछौँ भन्दै २०७९ को निर्वाचनमा होमिएको एमाले निर्वाचन पश्चात् मतगणनामा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेल तेस्रो स्थानमा झर्नु पर्ने अवस्था पनि आइपुग्यो। एमालेकै गढ मानिएको वडामासमेत उनलाई भोट आएन। हेटौँडाको १४ र १५ नम्बरको मतका कारण उनी मतगणनामा दोस्रो स्थानमा उक्लिए ।उनलाई आफ्नै पार्टीबाट राप्रपामा भोट गएपछि उनलाई राप्रपाका दीपक सिंहले पछि पारे। हेटौँडामा एमालेको राम्रो पकड रहेको भनिएको वडा नम्बर- ३, ४, ५,९,११ लगायतका स्थानमा समेत पौडेलले मत पाउन सकेनन्। हेटौँडाको १९ वटा वडा मध्य एमालेको भागमा ९ वटा वडा मात्र पर्‍यो।

त्यस्तै जिल्लाका १० स्थानीय तह मध्ये एमालेले जम्मा २ स्थानीय तहमा चित्त बुझाउनु पर्‍यो। एमालेले जिल्लाको इन्द्र सरोबर र भीम फेदी गाउँपालिकाको मात्र प्रमुख पायो।

त्यस्तै ०७४ को निर्वाचनमा राम्रो जित हासिल गरेको पालिका पनि एमालेले यसपालि गुमाउनु पर्‍यो। गत निर्वाचनमा वडामा बहुमत विजयी भएको एमालेले स्थानीय निर्वाचन २०७९ मा जित भन्दा हार धेरै सहनुपर्‍यो।

काँग्रेस बन्यो ठुलो पार्टी
स्थानीय निर्वाचन २०७९ ले नेपाली काँग्रेसलाई मकवानपुरमा ठुलो पार्टी साबित गरिदिएको छ। बहुदल पछि २०४८ सालमा भएको आमनिर्वाचन, २०५१ सालको मध्यावधि निर्वाचनसँगै मकवानपुरमा आफ्नो स्थान लिन सुरु गरेको काँग्रेस, स्थानीय तह निर्वाचन २०७९ सम्म आइपुग्दा जिल्लामा पहिलो पार्टीको रूपमा उदाएको छ।

२०४९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले तत्कालीन ४३ गाविस मध्य १० गाविस जितेको थियो।त्यस्तै २०५४ सालको स्थानीय तह निर्वाचनमा काँग्रेसले एउटा मात्र गाविसमा जित्यो। २०५४ सालमा मकवानपुरमा कमल थापाको आगमनसँगै काँग्रेस थप कमजोर बन्न पुग्यो।

‘कमल थापाको बलियो पकड, कम्युनिस्टको चौतर्फी सङ्गठन विस्तारका कारण लामो समयसम्म काँग्रेस खुम्चिएर बस्नुपरेको काँग्रेसका पुराना नेताहरू बत्ताउँछन्।

मकवानपुरमा लामो समय राप्रपा नेता थापा र रूपचन्द्र विष्टको प्रभाव रहिरह्यो। माओवादी युद्धपश्चात् जिल्लामा थापाको शक्ति असाध्यै कमजोर बन्न पुग्यो। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मकवानपुरको चार वटै निर्वाचन क्षेत्र माओवादीको कब्जामा गएको थियो।

उता एमालेले २०४९ सालदेखि मकवानपुरमा पहिलो शक्तिको रूपमा शासन गर्न सुरु गरिसकेको थियो। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन मकवानपुर-१ बाट काँग्रेस नेता तथा हाल काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ विजयी भए।

उनको जितसँगै मकवानपुरमा काँग्रेसको संरचना बिस्तारै बलियो बन्दै गयो। त्यसपछि जिल्लाका सबै स्थानमा काँग्रेसले आफ्नो शक्ति बढाउँदै गयो। अहिले २०७९ को स्थानीय निर्वाचन सम्म आइपुग्दा जिल्लामा नेपाली काँग्रेस पहिलो पार्टीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ