arrow

सिसडोल भरिएपछि बन्चरेडाँडामा उपत्यकाको फोहर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
Garbage-ktm-fohor-road.jpg

काठमाडौं । काठमाडौं उपत्यकाभित्रको फोहर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन शुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहर बन्चरेडाँडामा खसाउन शुरु गरिएको हो ।
 
नुवाकोटको सिसडोल ल्याण्डफिल्ड साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माणको काम शुरु गरेको थियो । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहर सोमबारदेखि उठ्न थालेको छ ।
 
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाडौं महानगरपालिकाले सोमबार राति नै विसर्जनका लागि बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा काठमाडौंबाट पठाइएको थियो । मङ्गलबार पनि काठमाडौंबाट फोहर बोकेका ट्रक बन्चरेडाँडातर्फ पठाइएका छन् । सोमबार राति मन्त्री झाँक्रीले बालाजु, रातोपुललगायत क्षेत्रमा फोहोर उठे/नउठेको अनुगमन गरेकी थिइन्।
 
हाल काठमाडौं र ललितपुरबाट १०० वटा ट्रक फोहोर बन्चरेडाँडामा खसाइएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले जानकारी दिए । स्थानीयले सामान्य विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अब निरन्तर फोहोर विसर्जन गरिने बताए ।
 
मन्त्री झाँक्रीले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौं र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितलाई बैठक बोलाएर तत्काल काठमाडौंको फोहोर विसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन् ।
 
काठमाडौंमा नयाँ मेयरको आगमनअगावै फोहर व्यवस्थापन गर्न महानगरले पहल गरिरहेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए । उनले जुनसुकै परिस्थितिमा पनि फोहर व्यवस्थापनका लागि आफू तत्पर रहेको बताए ।
 
यसअघि सिसडोलमा फोहर विसर्जन गर्दै आएको महानगरपालिकाले स्थानीयवासीको अवरोधका कारण फोहर विसर्जन गर्न समस्या भएको थियो । काठमाडौं र ललितपुरका चोक र गल्लीमा फोहर थुप्रिएको भन्दै मन्त्री झाँक्रीले सरोकारवाला निकायलाई यथाशीघ्र फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ