arrow

बायोमेट्रिक गरी मलेसिया पठाउने भन्दै ७० हजार नेपालीको कराेडौं ठग्ने खड्काविरुद्ध उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
kailash-khadka-malysia-thagi.png

काठमाडौं। मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य व्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष  कैलाश खड्काले करोडौं रकम ठगी गरेको खुलेको छ।

क्रिस्टल मेडिकलका सञ्चालकसमेत रहेका खड्काविरुद्ध ठगी एवं राजस्व छलीको आरोपमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, राजस्व विभाग, कम्पनी रजिस्टार र नेपाल प्रहरी अपराध महाशाखा लगायतका कार्यालयमा उजुरी परेको हो ।

मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य व्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघका पूर्व महासचिव, कोषाध्यक्ष एवं कैलाश खड्कासमेत सञ्चालक रहेको मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नको लागि खोलिएको कम्पनी म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले खड्काविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले गरेको उजुरीमा कैलाश खड्काले कम्पनीको फाइदामध्येको ५ करोड ६० लाख रकम ठगी गरेको बताएका छन् ।

यस्तै मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा बेस्टिनेट कम्पनीको नाम लिएर स्वास्थ्य ब्यवसायीहरु र हजारौं नागरिक एवं देशलाई करोडौं ठगी गरेको प्रमाणसहितको उजुरी  उनीहरुले दर्ता गरेका हुन् ।

उजुरीकर्ता भट्टराई र क्षेत्रीसमेत कैलाश खड्कासँगै सञ्चालक रहेको म्याक्रो टेक प्रालिको शुरुको फाइदा ५ करोड ६० लाख रुपैयाँ अध्यक्ष खड्काले ठगी गरेको दाबी गिरिएकाे हो । खड्काले विभिन्न बहाना बनाएर उक्त रकम आफूहरुलाई  नदिएकाले प्रहरीकोमा पुगेको भट्टराई र क्षेत्रीले बताएका छन् ।

आफूहरु मात्रै नभएर खड्काले मेडिकलको आवरणमा देश र स्वास्थ्य व्यवसायीलाई करोडौं ठगी गरेकाले अर्थ मन्त्रालय, राष्ट्र बैंक, राजस्व विभागलगायत सम्बन्धित सरोकारवाला निकायमा उजुरी गरेको उनीहरुको भनाइ छ ।

अध्यक्ष कैलाश खड्काले महासंघमा आवद्ध ३६ संस्थाका सञ्चालकबाट बायोमेट्रिकका लागि मलेसिया पठाउने नाममा एक जनाकाे ३ हजार १६४ रुपैयाँ (१०० रिंगेट) र प्रतिकामदार थप २ हजार रुपैयाँ माग्न थालेको विषयले महासंघमा ठूलो विवाद भएपछि खड्काको ठगी बाहिरिएको हो ।

हाल कोभिड–१९ महामारी शुरु हुनुअघि कलिङ भिसा लागेका करिब ७० हजार कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण भइसकेको छ । व्यवसायीहरुले ७० हजार कामदारसँग प्रतिव्यक्ति ७ हजार ६ सय ६४ रुपैयाँ गरेर ५३ करोड ६४ लाख भन्दा बढी रकम उठाएका छन् ।

७ हजार ६ सय ६४ रुपैयाँमा स्वास्थ्य परीक्षणको ४ हजार ५ सय रुपैयाँ भनेर लिइने गरेको छ भने बाँकी ३ हजार १ सय ६४ रुपैयाँ मेडिकल गराएवाफत मलेसियालाई दिनुपर्ने कमिसन शुल्क भनेर लिइने गरिन्छ ।

 
मलेसियालाई दिनुपर्ने कमिशन शुल्क भनेर लिइने  ३ हजार १ सय ६५ रुपैयाँ हाल कैलाश खड्का र मकुन्द भट्टराई संचालक रहेको म्याक्रोटेक प्रा.लि.मा जम्मा गर्ने गरिएको छ । 

व्यवसायीहरुले मलेसिया पठाउने कामदारको स्वास्थ्य परीक्षणका लागि भन्दै लिने ७ हजार ६ सय ६५ मा खड्काले ३ हजार १ सय ६५ रुपैयाँ व्यवसायीबाट मलेसियामा बुझाउनुपर्ने भन्दै आफैं सञ्चालक भएको म्याक्रोटेकमा जम्मा गर्न लगाउँछन् भने बाँकी ४ हजार ५ सय रुपैयाँमा पनि २ हजार रुपैयाँ विभिन्न सेटिङ गर्नुपर्ने भन्दै व्यवसायीबाट माग्न थाले ।

स्वास्थ्य व्यवसायीले २ हजार ५ सय रुपैयाँ मात्रै पाउने स्थिति बनेपछि उनीहरुसँग समेत खड्काको विवाद परेको हो ।

सञ्चालकहरु भट्टराई र क्षेत्रीले दर्ता गरेको उजुरीमा ‘२०७५–११–०६ मा कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा दर्ता कायम भएको म्याक्रो टेक प्रालि रजिष्ट्रेसन नं. २०८८९७ कायम रहेको संस्थाको हामी संस्थापक सेयर सदस्य एवं सञ्चालक रहेको उल्लेख छ । यो कम्पनीले बायोमेडिकल सिष्टम सम्बन्धी कार्य गर्दछ । यो कम्पनीको कार्यालय का.म.न.पा.–३, महाराजगञ्जमा रहेको छ । यस कम्पनीको बैंक खातामा बायो मेडिकल सिष्टम सर्भिस चार्जको रकम प्रतिमेडिकल १०० आरएम (रु. ३१६४।–) जम्मा हुने गर्दछ र सो रकमबाट प्रतिमेडिकल रु. १० कम्पनीले प्राप्त गर्दछ । हालसम्म यो कम्पनीले करिब ६५ करोडभन्दा धेरैको नगद कारोबार गरिसकेको संचालक भट्टराई बताऊछन । 

उक्त कम्पनीको सेयरमध्ये भट्टराईको ३० प्रतिशत र क्षेत्रीको ५० प्रतिशत खड्काले हात लगाएपछि कम्पनीको बैंक खातामा रहेकाे करिब ४५ करोड रुपैयाँ खड्काले कम्पनी रजिस्टर्ड कार्यालय र बैंकसँगको मिलेमतोमा कम्पनीको हस्ताक्षर आफ्नो नाममा मात्रै चल्ने बनाई निकालेको संचालक भट्टराई र क्षेत्रीले बताएका छन् ।

भट्टराईले जबर्जस्ती बायोमेडिकलबाट रु ३,१६४ रकम उठाई मलेसिया पठाउन करिब ६०,००० मेडिकलको ३६ स्वास्थ्य संस्थाबाट म्याक्रो टेक प्रालिको सनराइज बैंक, गैरीधारा, मेघा बैंक, कलंकी र एनसीसी बैंकमा जम्मा भएको १८,९८,४०,००० (अठार करोड अन्ठानब्बे लाख चालीस हजार) रकम मलेसिया पठाउने तयारीमा रहेको हुँदा हाल देशमा रकम अभाव भएको विषम परिस्थितिमा नियम संगत रुपमा हेर्दा उक्त रकम मलेसिया पठाउन नपर्ने निवेदनमा उल्लेख गरेका छन् । 

भट्टराईले आफू संचालक भएको सो कम्पनीबाट उक्त रकम पठाउन आफू पूर्ण असहमत भएको जनाउँदै आफू शेयर होल्डरको कुनै वास्ता नगरी जबर्जस्ती पठाउन जम्मा गरेको उक्त रकम तत्काल रोक्का गरी निजलाई कारबाही गरी अनावश्यक रूपमा मलेसिया पठाउन लागेको रकम रोक्का गरिदिन अर्थमन्त्रीलाई अनुरोध गरेका छन् ।

यस्तो छ उनीहरुले दिएको निवेदन:

राजस्व अनुसन्धान विभागमा दिएकाे उजुर:

 

श्रीमान् महानिर्देशकज्यू
महोदय,
उपरोक्त सम्बन्धमा मिति २०७५/११/०६ मा कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा दर्ता कायम भएको Macro Tech Pvt. Ltd., Reg. No. 208897/075/076 को हामी संस्थापक शेयर सदस्य एवं संचालक हौं । यो कम्पनीले बायोमेडिकल सिष्टम सम्बन्धी कार्य गर्दछ । यो कम्पनीको कार्यालय का.म.न.पा. ३, महाराजगञ्जमा रहेको छ । यस कम्पनीको बैंक खातामा बायो मेडिकल सिष्टम सर्भिस (BMS) चार्जको रकम प्रति मेडिकल १०० RM (रु. ३१६४/-) जम्मा हुने गर्दछ र सो रकम बाट प्रति मेडिकल रु १० RM कम्पनीले प्राप्त गर्दछ । यसप्रकार हालसम्म यो कम्पनीले करिब ६५ करोड बराबरको नगद कारोबार गरिसकेको छ र कम्पनीको आम्दानी करिब ५ करोड ६० लाख जति हुन आउँछ । कोभिड-१९ को अवधिमा मेडिकलको काम बन्द भएको थियो भने हाल मलेसियाको बायोमेडिकल स्वास्थ्य परिक्षण शुरु भएसगै प्रति मेडिकल रु. ३,१६४ लिने कार्य पनि शुरु भईरहेको छ । यसप्रकार हामीले कार्य गर्दै जाँदा तत्कालिन वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. का हाम्रो पार्टनर तथा नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष समेत भएका अली कैलाश खड्काले हामीलाई मलेसियाको विभिन्न वाहाना देखाई हामीलाई हाम्रो लगानी र शेयर वापत पाउने रकम र कम्पनीले प्राप्त गरेको सम्पूर्ण नाफा रकम पूरै दिन्छु भनी म शालिकराम क्षेत्रीको ५०% शेयर पूरै र म मुकुन्द भट्टराईको ४५% शेयर आफ्नो नाममा नामसारी गर्नुभयो । हामीले शेयर नामसारी गर्दा कम्पनीको बैंक खातामा करिब ४५ करोड रुपैयाँ थियो । त्यसैले हाम्रो हस्ताक्षर नभई बैंकका रकम झिक्न निकाल्न मिल्दैन । त्यसैले हाम्रो अवधिमा हामीले कमाएको रकम सञ्चित मुनाफाको रुपमा बैंकमा नै सुरक्षित छ र कैलाश खड्का आफ्नो हस्पिटलको पार्टनर भएको र महासंघको अध्यक्ष समेत भएकोले हामीले पूरा विश्वास गरयौं । कोभिड पश्चात् कम्पनीको आर्थिक कारोबार शुरु भएपछि हामीले शेयर वापत पाउनु पर्ने रकम, बैंकमा भएको हाम्रो मुनाफा हामीले पटक-पटक माग गर्दा हामीलाई दिनु भएन । उल्टै हामीलाई नेता, पुलिस प्रशासनको डर धम्की देखाई, गलत सुन्नै नसकिने शब्द प्रयोग गरेर गाली गर्ने, मैले ठूला नेता र पुलिस चिनेको छु, कर कार्यालयको हाकिम चिनेको छु, सम्बन्धित ठाउँमा घुस खुवाएर सबै कुरा मिलाउँछु भनी आजको दिनसम्म हामीले नियम संगत रुपमा पाउनु पर्ने रकम दिनु भएका छैन र हामीले हामी संचालक भएको समय खाता संचालन गरेको बैंक मेघा बैंक कलंकी शाखा, खाता नं. ०७८००१००४४६४५ र सनराइज बैंक, गैरीधारा, काठमाडौँ, खाता नं. ००२६५९४७२०७०१००१ मा गएर बुझ्दा कम्पनीको एकजना सञ्चालक समिति बनाई हाम्रो सहमति बिना हाम्रो हस्ताक्षर परिवर्तन गरी रकम झिकेको पाइयो । हाल ५% शेयर रहेको म मुकुन्द भट्टराईलाई हालसम्म कम्पनीको कुनै पनि कागजातमा सहिछाप नगराई, साधारण सभा सम्बन्धी कुनै जानकारी नगराई एकल निर्णयबाट १ जनाको संचालक समिति बनाई हामीले पाउनु पर्ने शेयर रकम र सञ्चित मुनाफा रकम समेत बैंकबाट भिकी रकम हिनामिना गरेकोले उक्त बैंकको खाता रोक्का गरी कम्पनीको यथार्थ लेखापरिक्षण गरी नेपाल सरकारलाई तिर्न बुझाउनु पर्ने रकम कट्टा गरी करिब रु. ५ करोड रकम असुल उपर गराई सम्बन्धित व्यक्तिलाई कानून बमोजिम कारवाही गराई पाउँ भनी श्रीमान समक्ष यो निवेदन पेश गरेका छौं साथै नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष समेत रहेका कैलाश खड्काले व्यवसायीबाट अवैध रुपमा रकम असुल गरी ठगी गरेको र अकुत सम्पत्ति आर्जन गरी राजश्व छली गरेको, व्यवसायीलाई बाध्यतामा पारी अरबौं रकम ठगी गरेकोले आवश्यक अनुसन्धान गरी हामी जस्ता पीडित सबैलाई न्याय प्रदान गर्नुहुन विनम्र अनुरोध गर्दछौं ।
निवेदक
१. मुकुन्द भट्टराई (सञ्चालक)
२. शालिकराम क्षेत्री समेत ( पूर्व सञ्चालक)
Macro Tech Pvt ltd
संलग्न कागजातहरु
१ कम्पनी दर्ता प्रमाण-पत्रहरु पेश गरेवा
२. आम्दानीको श्रोत प्रमाण पत्र
३. अन्य सम्बन्धित कागजपत्रहरु
४. कैलाश खड्काको हालको गतिविधिहरु कैलाश खड्काको हालको गतिविधिहरु यसप्रकारको छ ।
क) कैलाश खड्का हाल नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष, अनमोल मेडिकल सेन्टर, सिनामंगल, क्रिष्टल डाइग्नोष्टिक सेन्टर, सिनामंगलको संचालक छन् ।
ख) बायोमेडिकलबाट स्वास्थ्य परिक्षण गर्ने ३६ स्वास्थ्य संस्थाबाट प्रति मेडिकल रु.२०००/ Royalty/Commission/Mignam आदी नामबाट जबर्जस्ती असुल उपर गर्दछन् । रकम नदिए मैडिकलको सफ्टवेयर नै बन्द गरिदिन्छन् । त्यसैले मेडिकलहरु संस्था बन्द हुने डरले चुपचाप प्रति व्यक्ति रु.२०००/- दिइरहेका छन् ।
ग) हालै केही स्वास्थ्य संस्थाले २०००/- किन दिने भनी रकम नदिंदा करिब १० वटा जती संस्था बन्द गरिदिएका थिए । केही संस्थाले रकम बुझाएपछि खुले, केही आफैँ खुल्न बाँकी छ ।
घ) हाल रु.२०००/- कैलाश खड्का, रविन्द्र के सी संचालक रहेको संस्था क्रिष्टल डाइग्नोस्टिक सेन्टरमा सबै बायोमेडिकल गर्ने संचालकप्रति मेडिकल प्रति व्यक्ति रु. २०००/- का दरले नगदै लिई रकम बुझाउन जान्छन् । ङ) नगद बुझाउने कार्य हरेक महिनाको १ तारिख र १५ तारिखमा कुन-कुन मेडिकलले कति कति मेडिकल गयो भन्ने डाटा आउँछ अनि २ तारिख र १६ तारिखबाट क्रिष्टलको सञ्चालक रविन्द्र के.सी र कैलाश खड्का मिलेर रकम लिने गर्दछन् ।
च) रकम मलेसिया पठाउनु पर्छ भनी माग गर्ने र मेडिकलले पैसा नदिए Software सञ्चालन गर्ने Engineer बाट software Block गरिन्छ ।
छ) मलेसियाका Bestinet SDN BHD का अध्यक्ष Amin लाई केही रकम पठाउन परेमा हुण्डी कारोबारबाट पैसा जान्छ, जसको काम कविन्द्र के सी ले गर्दछ ।
ज) Bio-Medical System Charge वापत Micro tech Co. Pvt. Ltd. को बैंक खातामा करिब १० १२ करोड रकम पनि कैलाश खड्काले व्यक्तिगत प्रयोग गर्ने, मिटर ब्याजमा ल्याउने, आफन्तको नाममा बैंकमा राख्ने गर्दछन् । आफन्तको नामबाट रकम Micro tech कम्पनीमा रकम हाल्ने गर्दछन् ।
(झ) हाल संचार माध्यममा आएको समाचारहरु करिब १००% सहि छ । उनले अकूत सम्पत्ती आर्जन गरेका छन् । प्रचण्ड, शेरबहादुर देउवा, आरजु देउवा, प्रहरीको उच्च पदका व्यक्ति, अख्तियारका प्रमुख व्यक्ति, राजश्व अनुसन्धानका व्यक्ति, टेकु परिसर, अपराध अनुसन्धानका कर्मचारी जस्ता सम्पूर्ण व्यक्तिलाई घुस खुवाई sydicate कायम गर्नुपर्छ । अन्यथा मेडिकलको sydicate खुल्छ भनी २०००/- बाहेकको रकम रु. २५००/- बाट पनि व्यवसायीबाट पटक-पटक रकम असुल गरिरहन्छन् ।
ञ) यी सम्पूर्ण रकमबाट उनले अकुत सम्पत्ती आर्जन गरेका छन् । २०७३ सालसम्म सामान्य हैसियत भएका वेलकेयर हस्पिटलको सञ्चालक अध्यक्षको हैसियतले हस्पिटलेको बैंक कर्जा तिर्न नसकेर बैंकले पटक-पटक ताकेता पत्र काटेको, पैत्रिक सम्पत्ती बाहेक कुनै अन्य सम्पत्ती नभएको कैलाश खड्का आज ४ अर्बको मालिक भएका छन् । जसको केही सम्पत्ती विवरण सार्वजनिक सञ्चार माध्यममा समेत आएको छ ।
ट) करिव ५,००,००० मेडिकलबाट प्रति मेडिकल विभिन्न बहानामा, मलेसियाको विभिन्न बहानामा रु. २००० असुल उपर गर्दा १ अर्ब सोझै ठगी गरेका छन् भने व्यवसायीबाट छुट्टै करिब बार्षिक १०-१५ करोड छुट्टै असुल्छन् । मलेसियन व्यक्तिसँगको साँठगाँठमा छुट्टै रकम कमाउँछन् । (ठ) मिटर व्याजमा पैसा लाउने, मलेसिया, क्यानडामा हुण्डी सम्बन्धी काम गर्दछन् ।
ड) अनमोल मेडिकल सेन्टर, क्रिष्टल डाइग्नोस्टिक सेन्टर, Macro Tech कम्पनीको यथार्थ कारोबार लुकाई नक्कली अडिट रिपोर्ट बनाई कर कार्यालयमा पेश गरी कर चुक्ता लिने गरेका छन् । निजी प्रयोगको खर्च बील पेश गरी अडिट रिपोर्ट बनाएको छ ।
ढ) २०७३ सालसम्म कुनै आर्थिक हैसियत नभएका व्यक्ति कैलाश खड्काको आफनत, परिवार पनि सामान्य हैसियतको परिवार नै हो । हाल उनको सासुको नाममा जग्गा ७ आनामा बंगला बनाइ भिमसेनगोलाको घरमा बस्छन् । क्रिष्टल डाइग्नोष्टिक भएको साढे ७ आनामा बनेको घर १२ करोडमा,०७४ सालमा किनेका हुन् भने काठमाडौंको विभिन्न महत्वपूर्ण ठाउँमा अरबौंको अचल सम्पत्ती आफ्नो, श्रीमती, सासु, भिनाजु, दिदी, क्यानडामा भएको बहिनी, सालो भाई आदीको नाममा सम्पत्ति खरिद गरी लुकाई राखेका छन् । यो सबै कुरा सत्य हो । जुन कुरा बिभिन्न संचार माध्यममा जग्गा, क्षेत्रफल, कित्ता नै सहित प्रकाशित भएको छ ।
ण) जेठी सासु सुनौला प्रजापतिले २३-०७, २०२० मा Macro Tech Pvt. Ltd. को नाउँमा रु. ७०,००,०००/- सत्तरी लाखको भुक्तानी दिनुले केको लागि र किन ? भन्ने कुराको प्रष्ट हुन्छ ।
त) कैलाश खड्काको एकलौटी नेतृत्व र दादागिरीको विषयमा महासंघको तत्कालिन ब. उपाध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत केही व्यक्तिहरुले कैलाश खड्काको आर्थिक गतिविधिको विरोध जनाई, प्रतिवेदन समेत सार्वजनिक गर्नु भएको थियो । ऐक्यवद्धता पत्रमा हस्ताक्षर समेत भएको थियो । ३६ स्वास्थ्य संस्था मध्ये कैलाश खड्कालाई अब उपरान्त २००० नदिने भनेर करिब ३० वटा संस्था सहमत भई कैलाश खड्कालाई बुझाएको रकम रु. १ अर्ब फिर्ता माग गर्न हस्ताक्षर गरेका थिए ।
थ) हाल रु.२०००/- नबुझाउँदा बन्द रहेका संस्थाको पीडा कैलाश खड्काको दादागिरी हो ।
द) यो System ठीक छैन, यस्तो गैरकानुनी कार्यबाट हामीलाई पैसा कमाउनु छैन भनी केही व्यवसायीले शेयर बेचेर बाहिरिनु भयो भने केहीले संस्था नै बेचेर अलग्गिएको अवस्था छ ।
ध) ३६ व्यवसायीलाई कैलाश खड्काले गरेको अन्याय, अत्याचार सबै जानकारी छ तर बाध्यताले रकम बुझाई काम गरिरहेका छन् । केही व्यवसायीको मेनपावर कम्पनी भएको र भित्री रुपमा अन्य व्यवसाय पनि सञ्चालन गरेकाले उसलाई साथ दिइरहेका छन् ।
न) कैलाश खड्का पूनः महासंघको अध्यक्ष भएका छन्, निर्विरोध । किनभने विरोध गर्नेहरुको सफ्टवेयर उनले बन्द गरिदिन्छन् र गरिरहेका पनि छन् । सबै व्यवसायीलाई मलेसियाको Distance बाट टाढा राखेर एकलौटी गरेका छन् ।
प) हाल Micro Tech Co. को नाममा NC बैंकमा एकल खाता सञ्चालन गरेको । यसरी नेपाल स्वास्थ्य व्यवसायी महासंघ जस्तो गरिमामय संस्थाको अध्यक्ष समेत रहेका कैलाश खड्काले आफ्नो पदको दुरुपयोग गरी आफ्ना पार्टनरलाई दुःख पीडा दिने, पाउनु पर्ने रकम नदिने, व्यवसायीलाई विभिन्न डर, त्रास, धम्की दिई अवैध रुपमा रकम असुल गर्ने, ठगी गर्ने, राज्यलाई तिर्न बुझाउनु पर्ने कर तथा शुल्क नबुझाई राजश्व हिनामिना गर्ने, विदेशी दलालसँग मिली हुण्डी कारोबार मार्फत् देशको पैसा विदेश पठाउनें, मिटर व्याजमा पैसा लगाउने, मलेसियाको बायो मेडिक प्रणाली जडान गरिदिन्छु भनी पैसा असुल उपर गर्ने, कार्य नगर्ने, समग्रमा अनैतिक कार्य गर्ने, गलत अभिव्यक्ति दिने, भ्रष्टाचार गर्ने, राजश्व हिनामिना गर्ने, व्यवसायीलाई विभिन्न वहानामा रकम ठगी गर्ने, गलत रिपोर्ट बनाई विभिन्न निकायमा पेश गर्ने र यस कार्यलाई मुख्य रुपमा सघाउ गर्ने, सम्पूर्ण कागजात लुकाई राख्ने र हुण्डी कारोबारमा सहभागी हुने क्रिष्टल डाइग्नोष्टिक सेन्टर एवं A Quality Medical Center, सिनामंगलका सञ्चालक रविन्द्र के सी समेतलाई तत्काल अनुसन्धान गरी आवश्यक कारवाही गरी, हामी संचालक, व्यवसायी र सम्बन्धित पीडित व्यक्ति तथा निकायलाई रकम असुल उपर गराईदिनु हुन बिनम्र अनुरोध छ । यस बुँदाहरुसँग सम्बन्धित कागजातहरु यसै पत्रमा संलग्न गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ