arrow

ओलीले शिलान्यास गरेको चिनियाँ पार्कले दियो केही मुआब्जा, स्थानीयको गुनासो कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
damak-chiness-park.jpg

झापा । तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरे चिनियाँ पार्कको काम अघि बढेको छ ।  दमकस्थित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जग्गा प्राप्तिसम्बन्धी सम्पर्क कार्यालयले औद्योगिक परियोजना सञ्चालन गर्न जग्गा अधिग्रहणमा परेकालाई रु एक अर्ब नौ करोड भन्दाबढी मुआब्जा दिएको छ । 

दुई चरणमा गरी कार्यालय स्थापनायता हालसम्म करिब ७६२ बिघा जमिनका धनीलाई उक्त रकम  वितरण गरिएको कार्यालयका प्रमुख काशीराम घिमिरेले जानकारी दिए ।

दमकको वडा नं १०, गौरादहको वडा नं ८ र कमल गाउँपालिकाको वडा नं ७ मा पर्ने रतुवा खोला किनारका करिब दुई हजार १०० बिघा जमिनमा सरकारले देशकै एक नमूना औद्योगिक पार्क निर्माण सुरु गरेको छ । 

विसं २०७५ देखि सुरु गरिएको नेपाल-चीन औद्योगिक पार्क निर्माणका लागि अधिग्रहणमा परेका जग्गाधनीलाई जिल्ला प्रशासन कार्यालयमार्फत जग्गाको मूल्याङ्कन गरी बिघाको रु दुई लाखदेखि रु ४५ लाखसम्म मुआब्जा वितरण गरिआएको कार्यालयका प्रमुख घिमिरेले जानकारी दिए । 

परियोजनाका कारण असर पर्ने त्यहाँका कतिपय जग्गाधनीले आफ्नो जग्गा जमिनको मूल्याङ्कन उचित नभएको भन्दै गुनासोसमेत गर्दै आएका छन् । उक्त पार्कको तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ फागुन १७ गते शिलान्यास गरेका थिए । 

चीन सरकारको लगानीमा निर्माण हुन लागेको औद्यागिक पार्कमा मुआब्जासम्बन्धी जग्गा विवादका कारण परियोजनाले गति पाउन सकेको थिएन । अधिग्रणमा परेका त्यहाँका करिब ३०० बिघा जमिनको मुआब्जाको समस्या अझै सुल्झन सकेको छैन । 

चीन सरकारको ‘वान बेल्ट वान रोड’ (ओबिओआर) अन्तर्गत बन्ने औद्योगिक पार्कका लागि लिमिटेडले पूर्वाधार निर्माणको काम थाल्ने जनाइएको छ । 

औद्योगिक पार्कमा निजी र स्थानीयकोसमेत साझेदारीमा चीनका इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायत दर्जनौँ उद्योग स्थापना हुनेछन् । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ