arrow

साधुको लक्षण

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ भदौ ४ शनिबार
king-sadhu1.jpg

दक्षप्रजापति वायुमात्रको आहार, कहिले निराहार, कहिले जलपान, कहिले रुखको पात खाँदै भगवतीको चिन्तनमा नै डुबिरहेका थिए । देवी उनको तपस्याबाट खुशी भइन् ।

उनी सिंहको बाहनमा सवार भएर अनेक शृंगारले युक्त भएर दक्षको सामु प्रकट भइन् । जगदम्बा भगवतीले उनलाई इच्छा भएको वर मांग्न आग्रह गरिन् । 

उनले पनि शिवजीको कुनै सन्तान नभएकाले आफ्नो पुत्रीको रुपमा अवतरित भएर जगतको कल्याण गर्ने अभिभारा बहन गरिदिनु पर्यो भनेर जगदम्बासँग वर माँगे ।  

भगवतीले आफू दक्षकी पत्नीको गर्भमा बास गरेर अवतरित हुने र शिवजीको आराधना गरेर उनकी पत्नी बन्ने कुरा बताइन् र अन्तध्र्यान भइन् । दक्ष पनि उनको वरबाट खुशी भएर आफ्नो आश्रममा फर्के अनि आफ्नो साधनामा लागे र मानसी श्रृष्टि गर्दै गए ।

 केही समयपछि उनलाई मानसी श्रृष्टिबाट सन्तोष भएन र ब्रह्माजीसँग प्रजा वृद्धि हुने केही उपाय सुझाउन निवेदन गरे । ब्रह्माजीले पनि पञ्चजन (वीरण) प्रजापतिकी छोरीसँग विवाह गरेर सन्तान उत्पत्ति गर भनेर अह्राए । यसरी उनले वीरणकी पुत्री वीरणीलाई विवाह गरेर दश हजार पुत्र जन्माए । 

दक्षले पनि उनीहरुलाई प्रजासृष्टिका निमित्त तपस्या गर्न पठाए । उनीहरु गएर नारायण सरोवरमा नुहाए । त्यस सरोवरमा नुहाउना साथ उनीहरुमा ज्ञानको उदय भयो र सृष्टि गर्न तत्पर भएर तपस्यामा लागे ।

उनीहरु तपस्या गर्न लागेको ठाउँमा नारद ऋषि पुगे । नारदले उनीहरुलाई पृथ्वीको अन्त नै नदेखि, नजानी सृष्टि गर्न तत्पर भएको कुरा सोधे । उनीहरुमा होश आयो अनि मोक्ष मार्ग अवलम्बन गर्दै कहिल्यै नफर्कने बाटोतिर लागे । 

यो कुरा दक्षले थाहा पाए । खिन्न भए र बह्माजीलाई दुःख पुकारा गरे । ब्रह्माजीले उनलाई सान्त्वना दिएपछि उनले शवलाश्व नाम गरेका एक हजार पुत्र पैदा गरे । ती पुत्रहरुलाई पनि दक्षले तपस्या गर्न पठाए ।

उनीहरु पनि दाजुहरुको जस्तै त्यही सरोवरमा नुहाएर तपस्या गर्न गए । त्यहाँ पनि नारद गएर पहिलेकै कुरा बताए । नारदको कुरा सुनेर उनीहरु पनि दाजुहरुकै बाटोतर्फ लागे । 

यो कुरा सुनेर दक्ष खिन्न भएर शोकले मुर्छा परे । नारद त्यही बेलामा त्यहाँ पुगे । नारदलाई देख्ने बित्तिकै उनी अति नै क्रोधित भए । उनले यो सबै शिवजीको मायाले भएको भनेर बुझेनन् ।

उनले देवऋण, ऋषिऋण र पितृऋण चुक्ता नगरिकन कसैले घरबाट विरक्त भएर हिँड्छ, तिनीहरुको यसलोक र परलोक दुवै बिग्रन जान्छ भन्दै नारदलाई हे नारद, तिमीले साधुको वस्त्र लगाएर छोराहरुलाई भिक्षुकको मार्ग अपनाउन प्रेरित गरेको भनेर गाली गरे र आजदेखि कुनै पनि लोकमा तिम्रो पाउ स्थिर नहोस् भन्ने श्राप दिए । 

नारदले आफ्नो बुद्धिमा विकार आउन दिएनन् र धैर्य गरेर त्यो श्रापलाई चुपचाप ग्रहण गरे । उनले त्यो श्रापलाई मेटाउन पनि सक्थे तर त्यसो नगरिकन ब्रम्हज्ञानी साधुको लक्षण यस्तो हुनुपर्छ भनेर लोकलाई अवगत गराए । (तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ