arrow

एमाले बलियो रहेको काठमाडौं ७ मा यसपटक कस्तो छ स्थिति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १० सोमबार
rambir-bikram-ktm7.jpg

काठमाडौं । काठमाडौं संसदीय निर्वाचन क्षेत्र नम्बर ७ मा ०७४ को निर्वाचनमा नेकपा एमाले विजयी भएको थियो । त्यतिबेला नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा एमालेतर्फका उम्मेदवार रामवीर मानन्धरले यस क्षेत्रबाट जित हात पारेका थिए ।

०७४ मा नेपाली कांग्रेसले राप्रपालाई साथ दिँदा राप्रपाको तर्फबाट उम्मेदवार बनेका विक्रमबहादुर थापा भने बलियो मतान्तरले पराजित भएका थिए ।

विजयी हुने मानन्धरले १८ हजार १ सय २ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्धन्द्धी थापाले १० हजार ७९ मत प्राप्त गरेका थिए ।

तत्कालीन विवेकशील साझा पार्टीकी उम्मेदवार अनुपा श्रेष्ठले ५ हजार ३ सय ७६ मत प्राप्त गरेकी थिइन् । यस्तै संघीय समाजवादी फोरम नेपालका ज्ञानेन्द्रमोहन श्रेष्ठले १ हजार ७ सय ८१ र नयाँ शक्ति पार्टी नेपालका ईश्वर रिजालले ७ सय २८ मत प्राप्त गरेका थिए ।

०७४ को निर्वाचनमा माओवादीसँगको गठबन्धनमा रहेको एमालेले राप्रपाका उम्मेदवार थापाविरुद्ध बलियो जित निकालेको थियो । तर अहिले भने त्यो स्थिति केही प्रतिकुल देखिन्छ ।

स्थानीय निर्वाचनमा कांग्रेसकाे अग्रता

काठमाडौं संसदीय निर्वाचन क्षेत्र नम्बर ७ मा काठमाडौं महानगरपालिकाको १६, १७, १८ र २५ नम्बर, नागार्जुन नगरपालिकाको १, २ र ३ र तारकेश्वर नगरपालिकाको ३, ४ र ५ नम्बर वडा रहेको छ ।

यो क्षेत्रमा ०७४ को संघीय झैं स्थानीय तह निर्वाचनमा पनि एमाले बलियो रहेको थियो । एमालेले सबैभन्दा बढी १३ हजार ५ सय ३५ मत प्राप्त गरेको थियो भने कांग्रेसले १२ हजार ६ सय ४५ मत प्राप्त गरेको थियो । यस्तै नेकपा माओवादी केन्द्रले ३ हजार ४ सय ७ र राप्रपाले २ हजार १ सय ४८ मत प्राप्त गरेको थियो ।

यद्यपि गत अर्थात् २०७९ को स्थानीय तह निर्वाचनमा भने स्थिति फेरिएको छ । यस पटक सबैभन्दा बढी कांग्रेसले १४ हजार १ सय ६७ मत प्राप्त गरेको छ ।

एमालेले १२ हजार २ सय २ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ५ सय ७६ र राप्रपाले २ हजार २७ मत प्राप्त गरेको छ ।

यस पटककाे स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर ७ बाट कांग्रेसले अग्रता लिएकाे छ भने एमाले पछि परेकाे छ । यसले कहिँ न कहीँ थाेरै भए पनि संसदीय निर्वाचनमा प्रभाव पार्नेछ ।

प्रतिस्पर्धा बलियो

०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमालेले पाएको बलियो मत र अहिले स्थानीय तहमा एमाले केही कमजोर बन्नु र कांग्रेस केही बलियो देखिनुले अहिलेको प्रतिनिधि सभा निर्वाचनमा बलियो प्रतिस्पर्धा हुने संकेत गरेको छ ।

अहिले एमालेले एक्लै यस क्षेत्रबाट लड्दा र अर्काेतर्फ गठबन्धनले साझा उम्मेदवार बनाउनु एमालेका लागि मुख्य चुनौती रहनेछ । एमालेले प्रभावशाली उम्मेदवार बनायो भने त्यो यता गठबन्धन पक्षका लागि चुनौतीको विषय बन्नेछ । 

अर्कातर्फ एमाले र राप्रपाबीच चुनावी एकता हुने सम्भावना पनि देखिएको छ । 

अनुमानित यी दुई मुख्य प्रतिस्पर्धी भन्दा थप अन्य दल र स्वतन्त्र तर्फबाट समेत उम्मेदवार उठेको अवस्थामा क्षेत्र नम्बर ७ मा बलियो प्रतिस्पर्धा हुने देखिन्छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादीसँग खासै धेरै मत नदेखिँदा कांग्रेस स्थानीय चुनावमा करिब २ हजार मतले मात्रै एमाले भन्दा अघि छ ।

गठबन्धनकै स्थितीि पनि थोरै मतले अघि देखिएको अवस्थामा एमालेले राम्रो उम्मेदवार बनाएमा उसलाई सहज रहने स्थिति पनि छ ।

तथापि कांग्रेस नेतृत्वको गठबन्धनबाट तोकिने उम्मेदवार र एमालेको उम्मेदवारको व्यक्तिगत प्रभावले समेत क्षेत्र नम्बर ७ को हारजित निर्धारण गर्ने सम्भावना पनि बलियो देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ