arrow

श्रीरामको शोक

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ मंसिर १ बिहिबार
shree-ram-chandra.jpg

चाहे देवता, चाहे अवतरित पुरुषहरू वा दानव हुन्, मनुष्य शरीर लिएर आएपछि आफ्नो प्रारब्ध अनुसारको भोग भोग्नु नै पर्ने कुरा शास्त्र वा पुराणहरूमा पढ्न पाइन्छ । श्रीकृष्णले पनि प्रारब्ध भोग्नु परेकै कारणले होला व्याधाको तीरको निमित्त बनेर शरीर त्याग गर्नु पर्‍यो भने श्रीरामले पनि सुनको मृगको पछि लाग्नाले सीता हरणको दुःख पीडा सहनु नै पर्‍यो । 

सुनको मृगको पछि लागेको फलस्वरूप श्रीराम बनमा भौंतारिंदै हिँड्नु परेको थियो । उनी किष्किन्धामा भाइ लक्ष्मणसँग ४ महिना बसेका थिए । सीताको बिलौना गर्दै उनले लक्ष्मणसँग आफ्नो विरह वेदना पोखे र भने, हे लक्ष्मण म वनमा जाओस् भन्ने कैकयीको इच्छा पनि पुग्यो । सीताको पत्ता पनि आजसम्म लागेन । सीता नभई म एक छिन पनि बाँच्न सक्तिन, उनलाई नलिईकन म अयोध्या कसरी जाने? कसले के भन्ने हो । हामीले पिताजीलाई पनि गुमायौँ, राज्य पनि गुमायौँ । हामी मनुको कूलमा जन्मेर पनि यति दुःख पायौँ । हाम्रो कूलमा म जस्तो दुःखी व्यक्ति पहिले पनि भएन, भविष्यमा पनि हुनेछैन भन्दै लक्ष्मण सँग वेदना पोखे । मलाई विश्वास छ, सीता रावणको वशमा कहिल्यै पनि पर्दिनन् । लक्ष्मण उनको कुरा सुन्दै गए ।

यसरी रामले वेदना सुनाएपछि लक्ष्मणले भन्न थाले । हे राम, हामी प्रारब्ध कर्म भोग गर्न आएका हौँ । प्रारब्ध सबैले भोग गर्नु नै पर्छ । हामीले अरूलाई दोष दिएर पनि काम छैन । राक्षसराज रावणलाई मारेर म सीता मातालाई लेराउंछु । मलाई आवश्यकता पर्‍यो भने भरत शत्रुघ्नको मद्दत लिएर भए पनि रावणलाई मार्ने मेरो योजना छ । हामीले सम्पत्तिमा पनि विपत्तिमा पनि धैर्य धारण गर्नु नै पर्छ । सुख दुःख आउँछ । यो रथको पाङ्ग्रा जस्तै हो । त्यही पाङ्ग्राको भाग कहिले माथि पुग्छ, फेरी तलै आउँछ, फेरी माथि जान्छ । त्यस्तै सुख दुखलाई पनि हामीले सम्झनु पर्छ । लक्ष्मणको यस्तो युक्ति युक्त कुरा सुनेपछि श्रीरामले शोक त्याग गरे अनि समय बिताउन लागे ।

यसरी समय बिताउँदै गर्दा देवर्षि नारद श्रीरामसँग भेट गर्न आए अनि उनले देवीको आराधना गरेमा सबै कार्य सिद्ध हुने कुरा बताए अनि आफू बिदा भए ।

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com  



नयाँ