arrow

बालाचतुर्दशी

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ मंसिर ५ सोमबार
bala-chaturdashi.jpeg

काठमाडौं ।  नेपालीहरूको ठूलो चाड विजया दशमी र तिहार पछि पशुपति क्षेत्रमा कार्तिक शुक्ल पक्षमा शिव वैकुण्ठ, विष्णु वैकुण्ठ आदि पर्वहरू मनाइन्छन् । यी पर्वहरू मनाइँदा पशुपति क्षेत्रमा आर्यघाट, तिलगंगा आदि क्षेत्रमा कालो तील छर्ने, बावियोको डोरीमा सयपत्री फूलको माला उनेर वाग्मती नदी माथि एक किनारबाट अर्को किनारमा तार्ने चलन रहेको छ । शिव वैकुण्ठका दिनमा ओम नमः शिवाय र विष्णु वैकुण्ठमा ओम नमो भगवते वासुदेवायः आदि महामन्त्र मनमनै जप्दै पाइला बढाइने गरिन्छ । यसो गर्नाले हरिहर प्रसन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । 

आज बालाचतुर्दशी पर्वको चर्चा गर्न लागिएको छ । बाला चतुर्दशीलाई दिवङ्गत पितृहरूको कल्याण र आफ्नै मुक्तिको कामना लिई आराधना गरिने कार्य भने हुन्छ । खास गरी पशुपति मन्दिरको उत्तर तर्फ रहेको कैलाशको डाँडोमा त्रयोदशीका दिन बत्ती बालिन्छ । 

श्री पशुपतिनाथको मन्दिर भित्र जगाइएको दियोबाट बत्ती बाल्ने चलन छ । आशौच बारेका व्यक्तिहरूले बत्ती जगाउने अघि कुनै आहार नगर्ने अनि बत्ती जगाएपछि मात्र आहार गर्ने गर्दछन् । आशौच बारेका व्यक्तिले बाल्ने बत्ती सेतो र माटोको काँचो प्यालामा बाल्ने चलन छ । 

आशौचबाट निवृत्त भइसकेकाले कपासबाट कातिएको बत्ती बाल्दा अवीर छर्ने चलन छ । (यद्यपि समय र परिस्थितिले यो नियममा केही परिवर्तन भने देखिन्छ) । यसरी बत्ती बाल्न र शतबीज छर्न काठमाडौंका कुना कुनाबाट र बाहिर जिल्लाबाट समेत श्रद्धालुहरू आउने गर्दछन् । कोही भने बत्ती नबाले पनि चतुर्दशीको दिन बिहानै शतबीज छर्ने पनि चलन छ । 

यसरी बालेको बत्ती ननिभोस् भनेर जागराम बसिन्छ अनि चतुर्दशीको दिन बिहानै बत्तीको अवशेष बाग्मतीमा बगाएर स्नान गरिन्छ ।(यो स्नान गर्ने परम्परा बाग्मतीको पानी स्वच्छ नभएकोले बिस्तारै हट्दै गएको छ ।) जे भए पनि स्नान गरिसकेपछि मकै, गहुँ, जौ, तील सयपत्री फूल आदि मिसाएर सद्बीज (शतबीज) छरिन्छ । यसरी छर्दा कैलाशबाट शुरु गरेर गौरीघाट, गुह्येश्वरी हुँदै गोरक्षनाथ, मृगस्थली, विश्वरुपा आदि मन्दिरहरूको वरपर छर्दै परिक्रमा गरिन्छ र श्री पशुपतिनाथको मन्दिर परिसरमा आएर बाँकी शतबीज विसर्जन गरिन्छ । । 

यो परिक्रमाले श्लेषमान्तक बनको झण्डै आधाभाग भ्रमण हुन जाने देखिन्छ । यसरी बत्ती बालेर श्लेषमान्तक बन घुमेर शतबीज छरेको अन्न उम्रन गयो भने पितृ मुक्ति हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । 

बिहानदेखि शुरुभएको शतबीज छर्ने कार्य साँझसम्म पनि चालू गरिन्छ तर साँझपख खर्पनमा धातुबाट निर्मित माछा राखेर शङ्ख बजाउँदै ती क्षेत्रमा डुलाइए पछि भने त्यो कार्य गर्नुहुन्न भन्ने परम्परा रहेको छ । 

(उपरोक्त विषयहरू केही अध्ययन सामग्री तथा स्थानीय भएको नाताले अनुभवको आधारमा तयार गरिएका हुन् ।)

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com  



नयाँ