arrow

राष्ट्रपतिमा बाबुरामको इच्छा, माओवादी समस्यामा, नेकपा एस नछाड्ने मनस्थितिमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
baburam-bhattarai-maobadi-jhupadi.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रपतिमा दाबी गरेपछि नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो सक्रियता बढाएका छन् । दुई दिनयता डा. भट्टराइले विभिन्न राजनीतिक दल र शक्ति केन्द्रसँगको भेटघाटलाई तीव्रता दिएका छन् । 

मंगलबार बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनी खुमलटार पुगेका थिए । खुमलटार उच्च स्रोतका अनुसार  डा. भट्टराई पछिल्ला केही महिनादेखि अध्यक्ष प्रचण्डसँग नियमित भेटघाट र सम्पर्कमा भए पनि उनले औपचारिक भेटघाट भने मंगलबार बिहान गरेका थिए  । 

‘उहाँहरुबीच आज बिहान साढे ९ बजे दाहाल निवास खुमलटारमा कुराकानी भएको छ, डा. भट्टराईको चाहना पनि राष्ट्रपतिमा देखियो’, खुमलटारबाट एक नेताले भने । गत निर्वाचनमा प्रचण्डलाई गोरखा–२ छाडेर छोरी मानुषीलाई काठमाडौं–७ बाट प्रतिनिधि सभा सदस्यमा उठाएका भट्टराईले राष्ट्रपतिको लागि दौडधुप गरेको बताइन्छ । 

यसअघि उनले माओवादी केन्द्रका नेताहरु, नेकपा एसका नेताहरु तथा जसपा र लोसपाका नेताहरुसँग पनि भेटघाट गरिसकेका छन् । आफ्नो निर्वाचन क्षेत्रबाट नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भारी मतले विजयी गराएर ल्याएपछि डा. भट्टराई पनि राष्ट्रपतिको आकांक्षी रहेका थिए । 

उनले गठबन्धनको पक्षबाट राष्ट्रपतिमा आफूलाई सर्वसम्मत गराउन दृश्य तथा अदृश्य शक्तिकोसमेत प्रयोग गरेको माओवादी नेताहरुले आरोप लगाएका छन् । माओवादी केन्द्रमा उपराष्ट्रपति नन्दबहादुर पुन र निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको निम्ति इच्छा गरे पनि माओवादीको भागमा राष्ट्रपति नपर्ने भएपछि नेकपा एसले दाबी गर्ने भएको छ । 

एस पार्टीका तर्फबाट इलाम १ बाट एमालेसँग पराजित भएका सम्मानित नेता भलनाथ खनाललाई अघि सारेको छ । खनालले पनि आफू राष्ट्रपति हुन योग्य रहेको बताइसकेका छन् । तर कांग्रेसमा भने यो विषयले प्रवेश पाएको छैन । माओवादी र एस पार्टीले कांग्रेससँग राष्ट्रपति, प्रधानमन्त्री, सभामुख जस्ता प्रमुख पदमा दाबी गर्न थालेका छन् । 

कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पद पाउनका लागि कांग्रेस संसदीय दलको नेताबाट पछि हटेको बताइएको छ । 

यसैबीच, सोमबार राति माओवादी अध्यक्ष प्रचण्डका दूत बनेर कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरी शक्ति बाँडफाँडमा सन्तुलन मिलाउनु पर्ने प्रस्ताव गरेको बुझिएको छ । 

यो विषयमा बालुवाटार निकट स्रोतले कुनै जानकारी दिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ