arrow

सम्पादकीय

संसदको गरिमा राख्नु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ८ शुक्रबार
ravi-ck-parliament.jpg

गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनका विजेता प्रतिनिधि सभाका सदस्यहरुले शपथग्रहण गरिसकेका छन् । बिहीबार निकै तामझामका साथ पुगेका सांसदहरुले उत्साहका साथ शपथग्रहण गरेका हुन् । प्रतिनिधि सभामा ४५ प्रतिशतको हाराहारीमा सांसद नयाँ छन् । उनीहरुले पहिलो पटक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद् भवनमा पुगेर शपथ लिए ।

पहिलो पटक संसदीय यात्राको अनुभव सँगाल्न लागेका सांसदहरुमा उत्साह देखिन्छ । उनीहरुले मतदातासँग गरेका बाचा पूरा गर्नलाई कुनै पनि कसर बाँकी नराख्ने प्रतिक्रिया दिइरहेका छन् । देश बनाउने आफूहरु नै भएकोसमेत बताइरहेका छन् । 

यो उत्साहको छनक अहिलेको संसदमा मात्र देखिएको भने होइन । यसअघि पनि यस्ता उत्साह बोकेका भनाइहरु कैद भएका थिए । तर तुलनात्मक रुपमा यसपालि पहिलो पटक सांसद बन्नेहरु धेरै छन् । त्यसले पनि उनीहरुको परीक्षण हुन बाँकी छ । 

दलीय स्वार्थभन्दा माथि उठेर उनीहरुले देशका लागि केही गर्न सके भने पक्कै पनि उनीहरुको वाहीवाही हुनेछ । त्यतिमात्र हैन उनीहरुले सांसद पदको गरिमा राख्न सक्नुपर्छ । 

अर्कातर्फ शपथ ग्रहण गर्दा अतिरिक्त वाक्य पनि पढिएको छ । जुन त्यति सान्दर्भिक हैन । संसदको गरिमा भनेको जुन शपथको ढाँचा बनाइएको छ त्यसलाई राम्रोसँग अनुकरण गर्नु हो । 

हो, भ्रष्टाचार नगर्ने प्रतिबद्धता सांसदहरुले गरेका छन् । त्यो अत्यन्त सराहनीय हो । त्यसो त उक्त प्रतिबद्धता नगर्ने सांसदहरुले भ्रष्टाचार गर्छन् त ? भन्ने पक्कै हैन । किनकि सांसदहरुको शपथले भ्रष्टाचार गर्न सिकाएको छैन । भ्रष्टाचार त यसै पनि अपराध हो । 

शपथ ग्रहण गर्नेहरुले अक्षरस पदीय दायित्व पालना गरिदिए पुग्छ । आफ्नो कर्तव्य सम्झिदिए पुग्छ । जुन ठाउँबाट प्रतिनिधित्व गरेर आएको हो त्यो ठाउँको विकास र जनताको श्रीवृद्धिका लागि कदम चालिदिए पुग्छ ।

संसदको काम उचित र व्यवस्थित कानून निर्माण गर्नु हो । धेरै कानून अझै पनि बाझिएका छन् । समानताको कमी छ । त्यतातर्फ गम्भीर भएर सांसदहरु लाग्न सकुन् । 

युवा एवं नयाँ सांसदमा जोश छ । त्यो जोशलाई सही मार्गमा लगाउन सकुन् । यसअघि संसदीय प्रणालीमा भएका गलत कदम दोहोरिनु हुँदैन । गलत नीतिलाई खबरदारी गर्न सक्नुपर्छ । संविधान सबैभन्दा माथि छ । नयाँ भन्दैमा कुनै पनि गल्ती गर्ने छुट कसैलाई छैन । 

कुनै पनि नयाँ पदीय दायित्व निर्वाह गर्नुअघि त्यसको अभ्यास र अध्ययन गर्नु जरुरी छ । प्रशिक्षणकै आवश्यकता पर्छ । पूर्णरुपले दक्ष भइसकेपछिमात्र सांसदले आफ्नो कदम चाल्न सक्छन् । 

यसपालिको निर्वाचनको नतिजाले जनअपेक्षा धेरै देखाएको छ । उक्त जनअपेक्षालाई शिरोपर गरी सांसदले आफ्नो भूमिकालाई निर्वाह गर्न सकुन् । शुभकामना !
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ