arrow

नेपालमा 'किम्बे' नामक नयाँ 'पिरामिड स्किम', कयौँ व्यक्तिबाट करोडौँ लुटिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
kimbe-scam-nepal-kimbe-app-kimbe-website.jpg

काठमाडौं । नेपालमा अनेकौँ किसिमका ठगीका सञ्जालहरू चलिरहेका बेला ठगीको सबैभन्दा बढी कुख्यात रूपमा रहेको नयाँ पिरामिड स्किमबाट पछिल्लो पटक कयौँ व्यक्तिहरू ठगिइरहेको पाइएको छ।

किम्बे (Kimbe) नाम दिइएको यो पिरामिड स्किम(योजना) केडीकेकेसी डटकम (https://kdkkc.com/) नामको वेबसाइट र एपबाट सञ्चालन भइरहेको छ ।

यो एप वा वेबसाइटमा खाता बनाएर शुरुमा आफूले २० हजारदेखि लाखभन्दा बढी लगानी गर्नुपर्ने र सो अनुसार दैनिक २५० देखि हजार भन्दा बढी आम्दानी हुने भन्दै कयौँ व्यक्तिहरू ठगीमा परिरहेको पाइएको हो ।

नेपालीको पैसा डुबाउने 'अवैध धन्दा' को प्रचार गरिएको अलिस राईको भिडियो युट्युबको एक नम्बरमा

हाम्रा कुरा डटकमले यसमा लगानी गरिसकेका एक व्यक्तिबाट लगानी गर्ने इच्छा देखाउँदै विभिन्न जानकारीहरू लिन खोज्ने क्रममा किम्बे ठगीको पिरामिड स्किम भएको देखिएको हो।

यो वेबसाइटमा कम्पनीको कुनै ठेगाना, सम्पर्क व्यक्ति, कम्पनीका अधिकारीहरूको कुनै विवरण वा कम्पनीकै बारेमासमेत कुनै जानकारी छैन।

यसमा लगानी गरिसकेपछि पनि कम्पनीको कुनै आधिकारिक व्यक्तिसँग भेट गर्न सकिने स्थिति छैन र कुनै सहयोग चाहिएमा टेलिग्राम च्यानलमा जोइन हुनुपर्ने र त्यहाँ सहयोग पाइने भनिएको छ।

कमोडिटी मार्केटका नाममा करोडौं ठगी, एक्सचेन्ज र ब्रोकर कारबाहीमा

टेलिग्राममा कसले सो च्यानल खालेको हो, आधिकारिक व्यक्ति को हो भन्ने स्पष्ट छैन। किम्बेको नेपालमा अन्य कुनै आधिकारिक विवरणहरू फेला परेको छैन। अथवा यसले आफ्नो कुनै कार्यालयको ठेगाना वा सम्पर्क व्यक्तिहरूको विवरण दिएको छैन।

नेपाली भाषा नै अस्पष्ट

उसो त यो वेबसाइट र एप खोल्ने बित्तिकै पनि यसमा लेखिएको नेपाली भाषा नै हेर्दा पनि शङ्का उत्पन्न हुन्छ। 

गुगल या अन्य कुनै भाषा परिवर्तन गर्न सकिने टुलबाट अङ्ग्रेजी वा अर्को कुनै भाषामा लेखिएका कुराहरू ट्रान्सलेट गरेर वेबसाइट र एपमा राखिएको जस्तो देखिन्छ।

करोडौँ ठगी

हाम्राकुराले कुराकानी गरेका ती व्यक्तिले आफूले १ लाख भन्दा बढी लगानी गरिसकेको र आफ्ना साथीहरूले २ लाख भन्दा बढी लगानी गरिसकेको बताएका छन्।

ती व्यक्तिबाट मिलेको अन्य दुई जनालाई सम्पर्क गर्दा एउटा कथित किम्बेको म्यानेजर अमेरिकी नागरिक भनिएका व्यक्तिसँग च्याटमा मात्रै कुरा गर्न मिल्ने र कहिल्यै फोन गर्न नसकिने भनिएको छ। उनलाई कसरी किम्बेमा लगानी गर्ने भनेर सोध्दा रजिस्टर हुन लिङ्क पठाए भने फोन गर्दा उठाएनन् ।

नेताहरुकाे साँठगाँठमा नेटवर्किङ धन्दा, ठगी गर्न थालेका माथि वाणिज्य विभागकाे अनुसन्धान

अर्का व्यक्तिलाई सम्पर्क गर्दा उनले किम्बेको आफू कुनै आधिकारिक व्यक्ति नभएर आफूले पनि लगानी गरेको बताए। उनीसँगको सम्पर्कमा प्राविधिक समस्याले थप कुराकानी हुन पाएन ।

यसरी हेर्दा किम्बेका नाममा केडीकेकेसी डटकम नामक वेबसाइट र किम्बे नामक एपबाट कयौँ नेपालीहरूबाट प्रतिव्यक्ति लाखाभन्दा बढीका हिसाबले करोडौँको ठगी भइरहेको देखिन्छ।

पैसा हाल्न दलाल नै हुनसक्ने शङ्का

अनलाइन जुवा खेलाउने वान एक्स बेट नामक वेबसाइट र एपमा जसरी नै यो वेबसाइटमा पनि तेस्रो पक्ष वा दलालमार्फत मात्रै पैसा हाल्न सकिने जस्तो देखिन्छ। पैसा निकाल्न पनि तेस्रो पक्षकै माध्यमबाट हुने देखिन्छ।

यसो हुँदा अवैध गतिविधि मल्टिलेभल मार्केटिङ, नेटवर्क मार्केटिङ वा पिरामिड स्क्याम चलाइरहेका र यसमा संलग्न व्यक्तिहरूलाई सामान्य लगानीकर्ताले फेला पार्न जटिल हुन्छ। उनीहरूको पैसा ठगिएपछि फिर्ता न फिर्ता पाउन सक्छन् न कुनै आधिकारिक व्यक्ति, कम्पनी वा कार्यालयमा नै जान सक्छन् ।

‘जोसियल’लगायतका नेटवर्किङ्ग व्यवसायमा संलग्नलाई १० लाख जरिवानासहित पाँच वर्ष जेल सजाय हुने

यो वेबसाइट एवं एप अवैध पिरामिड स्किम भएको पुष्टि भएसँगै ब्लक गर्ने प्रक्रियाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले कदम चाल्नेछ।

आफूले लगानी गरेको बताउने ती व्यक्तिले कथित म्यानेजर भन्दै दिएको नम्बरमा फोन गर्दा फोन लागेन र उठेन। तथापि ह्वाट्सएपमा भने म्यासेजको रेस्पन्स आयो र समाचारबारे धारणा दिन भन्दा कुनै औपचारिक धारणा भने म्यासेज फर्काउनेबाट मिलेन।

नेपालमा किम्बे एप गुगलको प्ले स्टोरमासमेत रहेको छ। गुगल प्ले स्टोरमा यो एप १० हजार भन्दा बढी पटक डाउनलोड भएको देखिन्छ।

यसले खासगरी फेसबुक, इन्स्टाग्राम, युट्युब भिडियाजस्ता ठाउँमा एड हालेर मान्छेहरुलाई यसमा ल्याउने गरेको पाइएको छ। त्यसपछि यसमा लगानी गरिसकेका व्यक्तिहरुले आफ्नो नजिकका मान्छेहरुलाई लगानी गर्न भन्ने गरेका छन् ।

हजारौं नेपालीबाट करोडौं लुटिरहेको 'वान एक्स बेट': मुछिएका प्रमुख भुक्तानी सेवा प्रदायक र दलाल

नेपालमा नेटवर्क र्माकेटिङ, मल्टिलेभल मार्केटिङ (एमएलएम) एवं पिरामिड स्किम, हाइपर फण्ड जस्ता गतिविधिहरु अवैध छन्। नेपालमा मात्रै हैन् पिरामिड स्किम ठगीको सञ्जाल हो भनेर विश्वभर नै यो गैरकानूनी अथवा अवैध छ।

नेपालमा पछिल्ला वर्षहरुमा क्रिप्टोकरेन्सी, अनलाइन बेटिङ अथवा जुवा, नेटवर्क र्माकेटिङ, मल्टिलेभल मार्केटिङ(एमएलएम) एवं पिरामिड स्किम, हाइपर फण्ड जस्ता गतिविधिहरुबाट कयौं व्यक्तिबाट ठूलो रकम ठगी हुँदै आएको छ, भने प्रहरीले यस्ता गतिविधिमा संलग्न कयौं व्यक्तिलाई कारबाहीसमेत गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ