arrow

बसपार्क ठेकेदारलाई न डर छ न उपमहानगरलाई लाज

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन २३ मंगलबार
bolpatra patra-samjhauta patra-3.jpg

रुपन्देही । बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) मा कानून र नियमको धज्जी उडाउँदै खुलेयाम दिवा सेवा र रात्रिसेवाका सवारीहरुबाट ठेक्का बोलपत्रअनुसार भन्दा बाहिर गएर रकम असुली गर्ने कार्य जारी छ । यसरी प्रचलित कानूनलाई लत्याउँदै अवैध रुपमा रकम असुल्दै गर्दा ठेकेदारलाई न डर छ न त बुटवल उपमहानगरपालिकालाई लाज । 

कुनै पनि ठेक्का खुलाउँदा बोलपत्रमा उल्लेखित नै दोस्रो पक्षले अनुशरण गर्नुपर्ने र सो बमोजिम काम गर्नुपर्ने भए पनि तर बुटवलस्थित नयाँ बसपार्कको गत असोजमा लगाइएको ठेक्काको बोलपत्र र सम्झौता पत्रलाई हेर्दा उपमहानगरपालिका र ठेकेदार पक्षमाथि शंका उत्पन्न भएको छ । 

जबकि ठेक्का बोलपत्र बाहेक अर्को कुनै पनि नाममा सम्झौता पत्र जस्ता बनाउन नमिल्ने जानकारहरुको भनाइ छ । उनीहरु भन्छन्, 'यो सिधै नीतिगत भ्रष्टाचार हो, यसमा कुनै दुईमत छैन ।

यस विषयमा सञ्चारमाध्यममासमेत प्रमाण सहित समाचार बाहिरिँदा पनि बुटवल उपमहानगरको नेतृत्व चुप लागेर बस्छ भने अनेक शंका उत्पन्न हुन्छन् । किनभने नियमन तथा कारबाही गर्ने निकाय उपमहानगर नै मौन भएपछि सम्बन्धित निकायले चासो दिनुपर्ने बताउँछन् ।
 
ठेकेदार पक्ष र उपमहानगरको तर्फबाट वरिष्ठ कर्मचारीहरु मित्रमणि खनाल, लेखनाथ पोखरेल लगायतले सम्झौता पत्रमा हस्ताक्षर गरेको सम्झौता पत्रमा उल्लेख छ । चालु आर्थिक वर्ष २०७९–०८०\०८०–०८१ का लागि उपमहानगरले आह्वान गरेको बोलपत्रमा गणेश एण्ड सन्स कन्स्ट्रक्सन बुटवल–१३ ले ठेक्का पाएको छ ।

दुई आर्थिक वर्षका लागि कन्स्ट्रक्सनले २ करोड ९१ लाख, ५४ हजार भ्याटसहित २०७९ असोज ३० गतेदेखि २०८१ असार मसान्तसम्म सञ्चालन गर्न ठेक्का पाएको हो ।

तर उपमहानगरले आह्वान गरेको लुम्बिनी बस टर्मिनल सञ्चानल प्रक्रियाको बोलपत्रमा खुलाइएको सवारीहरुबाट ठेकेदारले उठाउन पाउने शुल्क र ठेक्कापछि बनाएको सम्झौता पत्रको शुल्क अन्तर भएको पाइएको छ । बुटवल उपमहानगरपालिकाले गत भदौ १४ गते आय ठेक्का सम्बन्धी बोलपत्र आह्वानको पहिलो पटक प्रकाशित गरेको सूचनामा बसपार्कको क्षेत्राधिकार भन्दा बाहिरबाट शुल्क उठाउन नपाउनेसमेत जनाइए पनि तर कार्यान्वयन भने ठीक उल्टो भएको पाइएको हो ।

बुटवल उपमहानगरका विभिन्न शाखा प्रमुख कर्मचारीहरु र स्वीकृत बोलपत्रवाला सञ्चालक गणेश एण्ड सन्स कन्स्ट्रक्सन (दोस्रो पक्ष) ठेकेदार प्रतिनिधिबीच गरिएको सम्झौता पत्रमा ३० वटा शर्त नियम तथा प्रावधानहरु उल्लेख गरिएको छ ।

तर प्रावधानमा उल्लेख गरिएका शर्तहरुमा बसपार्कदेखि बाहिर रहेको पूर्वपश्चिम राजमार्गमा चल्ने लामो दूरीका बस, बुटवलको राजमार्ग चौराह, सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देही–पाल्पा सीमाक्षेत्रमा पर्ने चिडियाखोला, नेपालगञ्ज रोड र नयाँ बसपार्क अगाडिको हाइवेमा बसेर शुल्क उठाउन नपाउने स्पष्ट शर्त भए पनि तर ठेकेदारले दैनिक हजारौं रुपैयाँ असुल्दै आएको छ । 

यस विषयमा ठेकेदार पक्षका प्रतिनिधि गणेश श्रीसलाई पटक पटक सम्पर्क गर्दा फोनै उठाएनन्, यसअघि बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेलाई उपमहानगरपालिकासँग ठेकेदार पक्षले गरेको सम्झौता विपरीत किन अवैध रुपमा पैसा उठाउँदै आइरहेको छ भन्ने जिज्ञासामा नगरप्रमुख पाण्डेले सो विषयमा आफूलाई कुनै गुनासो र उजुरी नआएकाले प्रशासनमा बुझ्न भन्दै तर्किए । 

उसो त यसअघि बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीसँग जानकारी लिँदा आफूले नियमलाई पालना कार्यलाई चुस्त बनाउने गरी नगर प्रहरीलाई परिचालन गरेको र त्यसको नतिजा आउने गरी काम थालेको बताएको झण्डै एक महिनासम्म पनि कुनै प्रभाव देखिएको छैन ।

यता सम्झौता पत्रमा उपमहानगरपालिकाको तर्फबाट साक्षी रोहवरमा बसेका मित्रमणि खनालले आफू साक्षी स्वीकार गर्दै तर यस बारेमा मलाई भन्दा पनि लेखा तथा प्रशासन शाखामा बुझ्दा प्रष्ट होला कि भनेर जवाफ दिए ।

अर्का साक्षी लेखा शाखा प्रमुख लेखनाथ पोखरेलले ठेक्का बोलपत्रमा उल्लेखित विवरण नै कायम हुन्छ भन्ने हुँदैन कार्यान्वयन गर्नका लागि सम्झौता पत्र (एग्रुमेन्ट) गर्नुपर्छ भने, । तर अधिकृत पोखरेलले शर्त तथा नियम विपरित दोस्रो पक्षले काम नगरी अवैध गर्दा किन तपाईहरुले हेर्नु पर्दैन ? त्यसको जवाफदेहिता को हुने हो भन्ने प्रश्नमा उनले यसबारेमा प्रशासन शाखा प्रमुख राम प्रसाद अर्याललाई सोध्न भनि पन्छिए ।, 

उपमहानगरका सम्पती व्यवस्थापन एवं प्रशासन शाखा प्रमुख राम प्रसाद अर्यालले भने टेण्डर डकुमेन्ट जो अनलाईनबाट किनिन्छ त्यसलाई संशोधन गर्न नसकिने बताउँदै, त्यो विपरित पनि ठेकेदारले कुनै कार्य गर्न नपाउने स्पष्ट पारे । अर्यालले भने, बोलपत्रमा केही बुँदा भए संशोधन पनि हुन सक्छ । "यदि ठेकेदारले शर्तको पालना नगरी बाहिर सडकमा र रात्री सेवाका गाडिहरुबाट पैसा असुल गर्छ भने त्यो गैरकानुनी हो दण्डनीय छ ।"    

यो पनि 

बुटवल लुम्बिनी बस टर्मिनलः सम्झौता विपरीत ठेकेदारको लुट

बुटवल नयाँ बसपार्कः ठेक्का बोलपत्र–सम्झौता पत्रको शुल्क बाझियो ! मिलेमतो स्पष्ट

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ