arrow

भारतलाई सोच्ने दृष्टिकोण बदलौं

प्रधानमन्त्रीको भारत भ्रमणमा हाइड्रो उत्पादन र बिक्रीको सुनिश्चितता गर्न सांसद शर्माको आग्रह [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
dr-sunil-sharma-parliament-video.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका क्रममा नेपालको हाइड्रो बिक्री हुने र उत्पादन हुने कुराको सुनिश्चितता गरेर आउन आग्रह गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा सोमबार बोल्ने क्रममा सांसद शर्माले नेपालको बिजुली बनाउने अर्कैले तर किन्नुपर्ने भारत र बंगलादेशले भएको भन्ने मनसाय भारतीय उद्यमीहरुमा परेको आफूले पाएको बताउँदै बेच्ने र किन्नेबीच राम्रो समन्वयन हुनुपर्नेमा जोड दिएका छन् । 

उनले प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणलाई एक दुई महिना पछाडि सारेर भए पनि भ्रमणलाई फलदायी बनाउन आग्रह गर्दै नेपालको हाइड्रो बिक्री हुने र हाइड्रो उत्पादन हुने कुराको सुनिश्चितता गरेर गरेर आउन आग्रह गरे । 

के चाहन्छन् भारतीय उद्योगीहरु ? 
डा. शर्माले आफूले हालै भारतका विभिन्न शहरको भ्रमण गरी उद्यमीहरुसँग भेटेर छलफल गरी जिज्ञासा राखेर समाधानको बाटो खोजेको उल्लेख गरे । 

उनले भने, ‘हालसालै म भारतका विभिन्न शहरमा जाने अवसर प्राप्त भएको थियो । त्यहाँ गएर मैले केही उद्यमी, विशिष्ट व्यक्तिहरुसँग पनि भेट्ने अवसर प्राप्त गरेँ । उहाँहरुसँग भेटिरहँदा आफ्नो जिज्ञासा राखेँ । निकट भविष्यमा हाम्रो प्रधानमन्त्रीले भारतको भ्रमण गर्दै हुनुहुन्छ तपाईहरु र हाम्राबीचमा विशेषत जलस्रोतको क्षेत्रमा के गर्न सकिन्छ र समस्याहरु के हुन् भन्दा तपाईहरुको जलस्रोतको ठूलो मार्केट एउटा भारत हो र अर्को बंगलादेश हो । उत्पादन तपाईहरुले विश्वका अरु कम्पनीहरुलाई दिने अनि उत्पादन पश्चात हामीले किनिदिनुपर्ने ? यो अलि वैज्ञानिक भएन ।’

भारतीय उद्यमीहरुले नेपालको विद्युत उत्पादनमा आफ्नो इच्छा राखेको पाइएको उल्लेख गर्दै डा. शर्माले यसमा घनिभूतरुपमा छलफल हुन जरुरी रहेकोसमेत उल्लेख गरेका छन् । 

भनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण अगावै यी विषयहरुमा एउटा राजनीतिक संयन्त्र तयार गरेर घनिभूत रुपमा हामीले छलफल गर्ने हो भने जलस्रोतको विकासको निम्ति भारतीय व्यापारीहरु, बंगलादेशी व्यापारीहरु र त्रिपक्षीय सम्झौतासमेत सम्भव रहेको कुरा त्यहाँ मैले थाहा पाएँ ।’

आर्थिक अवस्था माथि उकास्ने अवसर
डा. शर्माले हाइड्रो उत्पादन गरेर भारत र बंगलादेशलाई बेच्नका लागि सम्झौता गर्नुपर्नेमा जोड दिएका छन् । उनले सम्भाब्य परियोजनामात्र संचालन गरेर धेरै भन्दा धेरै बिजुली उत्पादन गरेर बेच्चु पर्नेमासमेत जोड दिएका छन् । उनले भने, ‘मेरो विशेषत प्रधानमन्त्रीज्यूलाई एउटा आग्रह के छ भने धेरै प्रधानमन्त्रीहरु भारत जानुहुन्छ, आउनुहुन्छ, नेपाली अखवारहरुमा र भारतीय अखवारहरुमा ब्यानर न्यूजहरु बन्छन् । अनि प्रजातन्त्र आएको यत्रो वर्ष हुँदासम्म के पाइयो भने जम्माजम्मी भारतसँग ट्रेड गरेको हाइड्रोको जम्मा ४५२ मेगावाट त्यो पनि बर्खाको सिजनमा हुँदोरैछ । हाम्रो जलासय क्यापासिटी फिजिबल २३ वटा प्रोजेक्टहरुमात्र संचालन गर्ने हो भने लगभग ३० हजार मेगावाट बिजुली सन् २०३० सम्म हामीले उत्पादन गर्न सक्दारहेछौं ।’
डा. शर्माले यसरी उत्पादन भएको बिजुलीलाई भारत र बंगलादेशलाई ‘विन विन’ को अवस्थामा बेच्ने हो भने नेपालका कुनै पनि उद्यमीले आगो लगाएर ज्यान दिनु पर्ने अवस्था नआउने उल्लेख गरेका छन् । 

उनले भने, ‘हामीले यो ३० हजार मेगावाट बिजुली उत्पादन गर्यौं र भारत र बंगलादेशमा दुवै पक्षको विन विन सिचुएसनमा बिक्री वितरण गर्न सक्यौं भने हिजोअस्ति बाहिरपट्टी प्रेमप्रसाद आचार्यहरु जलेर मरेजस्तो धेरै नेपालीहरुको जलेर मर्ने दिनको अन्त्य हुने थियो । देशको आर्थिक अवस्था माथि जाने थियो । हाम्रा बच्चाहरुले राम्रो स्कुल पाउने थिए ।’

भारतलाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने, धार्मिक र सांस्कृतिक कुटनीतिक सम्बन्ध हुनुपर्ने 
डा. शर्माले सम्बोधनका क्रममा भारतलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमासमेत जोड दिएका छन् । उनले नेपाल र भारतको सम्बन्धलाई धार्मिक र सांस्कृृतिक कुटनीतिसँगसमेत जोडेर हेर्नुपर्ने उल्लेख गरेका छन् । 

उनले भने, ‘मलाई के लाग्दछ भने अब हामीले भारतलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्छ । यो परिवर्तन किन आवश्यक छ भने हिजोको हाम्रो ट्रेडिशनल एप्रोच डिप्लोमेसी थियो । त्यो ट्रेडिशनल एप्रोच डिप्लोमेसीले भारत र नेपालबीचमा दरार पैदा गरेको अवस्था हो अहिले । यो हामीले खुलेर भन्न सक्नुपर्छ । स्वीकार्नुपर्छ ।’

उनले अब नेपालले गर्नुपर्ने कामका बारेमा चर्चा गर्दै भने, ‘अब हामीले के बुझ्नुपर्यो भने अहिलेको भारत हाम्रो कालीगण्डकीबाट ढुङ्गा टिपेर लिएर गएर जनकपुरमा पूजा गरेर अयोध्यामा लगेर संसारका हिन्दूहरुले, दुनियाँभरका हिन्दूहरुले अनि भगवान राम, सीता र लक्ष्मणको मूर्ति बनाएर त्यो मूर्तिलाई पूजन गरेर भगवान यिनै हुन् र नेपालको ढुङ्गाभित्र चाहिँ प्राणप्रतिष्ठा गरेर प्राण भएको ढुङ्गा अथवा भगवान नेपाली ढुङ्गाहरु चाहिँ त्यस्तो छ भनेर संसारभरिका र विशेष गरी भारतका डेढ अर्ब नागरिकहरुले र हिन्दूहरुले पूजा गरेको अहिलेको विद्यमान स्थितिमा अब हामीले धार्मिक कुटनीति र सांस्कृतिक कुटनीतिमार्फत भारतसँगको हाम्रो सम्बन्धलाई नयाँ ढङ्गले ब्याख्या गर्नुपर्छ ।’

डा. शर्माले नयाँ तरिकाबाट जाने क्रममा बिजुलीसँग जोड्न सक्नुपर्नेमा पनि सरकारको ध्यानाकर्षण गरेका छन् । 

उनले भने, ‘नयाँ तरिकाले यहाँका नेता, उद्योगपतिहरु, नेपाली ब्यापारीहरु जो हाइड्रोमा लाग्नुभएको छ भारतीय उद्योगपतिहरु, भारतीय ब्यापारीहरु हाइड्रोमा लगानी गर्न तयार हुनुहुन्छ ।’

डा. शर्माले एउटा संयन्त्र बनाएर दुवैबीच सहज वातावरण बनाउनका लागि नेपालका सबै राजनीतिक दलहरुबीच प्रतिबद्धता हुनुपर्नेमा जोड दिएका छन् । 

उनले प्रचण्ड सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदै उदाहरणसहित भने, ‘उहाँहरुको बीचमा एउटा फास्ट ट्रयाक राजनीतिक संयन्त्र निर्माण गरेर चाँडोभन्दा चाँडो ठूल्ठूला हाइड्रोपावर योजनाहरु जलासययुक्त ड्यामहरु बनाएर भारत र बंगलादेशको मार्केटमा हाम्रो बिजुलीलाई बेचेर हामीले हाम्रो समुन्नत नेपालको परिकल्पना गर्नुपर्छ र त्यतातिर हाम्रो सरकार, हाम्रा नेताहरु, तपाईहरु हामी सबै त्यसमा लाग्नुपर्छ भन्दै कमसेकम प्रधानमन्त्रीले बरु यो भिजिटलाई हतार नगरेर अरु एक दुई महिना सारेर सबै पोलिटिकल पार्टीहरु यो सदनमा रहनु भएको नेकपा एमालेका दुई जना सांसद, नेपाली कांग्रेसबाट दुई जना सांसद, अन्य पार्टीहरुबाटसहित सांसदहरुलाई समेटेर एउटा फास्ट ट्रयाक कमिटी बनाएर भोलि ब्यूरोक्रयाट्सहरुकोमात्र भर नपरी कर्मचारीतन्त्रको नेगोसिएसनमा मात्रै डिपेन्ड नभएर एउटा शक्तिशाली आयोग अथवा कमिटी अथवा संयन्त्र वा आयोग निर्माण गरेर भारतीय उद्यमीहरुसँग र भारतको सत्तासँग नेगोसिएट गरेर दुवै पक्षको विनविन सिचुएसनमा तीस हजारदेखि ३५ हजार मेगावाट बिजुली भारतको विश्वबजारमा हामीले बेच्न सक्यौँ र अझै त्यो बिजुलीको खेलो त के रहेछ भने यो पिक आवरको भारतको डिमाण्ड एक लाख २५ हजार मेगावाट चानचुन रहेछ । त्यो पिक आवरमा बिजुली दिन सक्ने क्षमता हामीसँग रैछ । हामीचाहिँ अहिले रनिङ रिभरको कुरा गरिराहारैछौं । तर भारतीयहरुको आवश्यकता चाहिँ ड्याम बनाएर हिउँदमा पनि र पिक आवरमा पनि दिन सक्ने क्षमता विकासको कुरा विशेषत उठेको हुँदा खेरी प्रधानमन्त्रीज्यूले जानुअगाडि अलिकति वर्कआउट गरेर बजार जसको हो यसैसँग कोअपरेशन गरेर अगाडि बढ्दाखेरी हाम्रो हाइड्रो बिक्री हुने र हाम्रो हाइड्रो उत्पादन हुने कुराको सुनिश्चितता र हाम्रो पनि विन र उनीहरुको पनि विन सिचुएसन हुने भएको हुँदा खेरी यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’


  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ