arrow

बालेन र हर्कलाई पार्टी प्रवेशका लागि रविको निम्तो [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
rsp-press-meet-2080-03-07.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थालेको बताएका छन् । 

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले समाज परिवर्तनका लागि तयार भइसकेको कुरा मतपत्रमा जायर हुन थालेको बताएका हुन् । 

उनले त्यसको स्पष्ट संकेत देखिइसकेको बताएका हुन् । उनले आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रुपमा बितेको बताए । उनले रास्वपालाई जनताले आशा र भरोसाको रुपमा लिएको बताएका हुन् ।  

उनले भने, ‘अत्यन्त सकारात्मक, अत्यन्त ऊर्जावान, नेपाली जनताले एउटा आशा र भरोसाका रुपमा हेरेको यात्राको रुपमा मैले पाएको छु । शुरुआत गर्दाखेरी हामीलाई विश्वास त थियो तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको त्यतिधेरै हेक्का थिएन । समाजले परिवर्तन खोजेको छ भन्ने कुराको जानकारी त विभिन्न माध्यमबाट हामीलाई थियो । तर साँच्चिकै समाज अब परिवर्तनका लागि तयार नै भएको हो र त्यो तयार भएको कुरा मतपत्रबाट नै जायर गर्छ भन्ने कुराको एउटा स्पष्ट संकेत, हाम्रो भाषामा घन्टी बजि नै सकेको छ । यो एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो । यसलाई अत्यन्त सकारात्मक रुपमा हेरेको जानकारी गराउँछु ।’

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताए । उनले आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताए । दुई जनालाई पार्टी प्रवेश गराउन सके खुशीको कुरा हुने उनको भनाइ छ । 

उनले भने – ‘यो त राम्रो हुन्थ्यो त्यस्तो साथीहरुलाई हामीले जोड्न सके त असाध्यै राम्रो हुन्थ्यो । त्यो त हाम्रो चाहना छँदैछ । चाहना अनुरुप अन्य साथीहरुले पनि त्यसैगरी सोचिदिनु भयो भने त, हाम्रो तर्फबाट त सय प्रतिशत सकारात्मक छँदैछौँ नि । सम्बन्धका हिसावले पनि हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ । उहाँहरुको कामको हिसावले पनि मैले त निरन्तर रुपमा उहाँहरुको कामको प्रशंसा गरेकै छु । चुनाव लड्दादेखि सघाएदेखि अहिलेसम्म निरन्तर उहाँहरुको राम्रो काममा सघाउने काममा निरन्तरता दिएकै जस्तो लाग्छ मलाई । त्यो आफैँमा राम्रो संकेत बन्नसक्यो र हुन सकेछ भने हाम्रो लागि त्यो खुशीको कुरा हुनेछ ।’

सभापति लामिछानेले आफूहरु संगठन निर्माण र सुदृढिकरणमा लागिरहेको बताए । कार्यक्रममा बोल्दै आजै पार्टी प्रवेश गरेका अनिलकेशरी शाहले पार्टी सभापति रवि लामिछाने र आफ्नो सोच मिलेको कारण आफू पार्टी प्रवेश गरेको बताए । उनले देशमा नेतृत्वको अभाव रहेको कुरा आफूले महसुस गरेको भन्दै नेतृत्व विकासको सिप प्रयोग गर्नका लागि पार्टीमा आएको बताए ।

नेता शाहलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको सभापति लामिछानेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ