arrow

धरानमा विमानस्थल बनाउन नसकिने प्राधिकरणको निष्कर्ष, के गर्लान् हर्क ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
civil-aviation-authority.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा अहिलेको अवस्थामा विमानस्थल बनाउन नसक्ने निष्कर्ष निकालेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशनअनुसार गठित अध्ययन समितिको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । 

समितिले अहिले सञ्चालनमा रहेको विमानस्थलसँगको भौतिक दूरीकै कारण यो सम्भव नरहेको निष्कर्ष निकालेको हो । निष्कर्षसँगै उक्त विमानस्थल सम्बन्धी परियोजना अगाडि बढाउने बाटो बन्द भएको छ । सूचना अधिकारी भूल अहिलेको अवस्थामा यो निष्कर्ष नै अन्तिम भएको बताए । 

‘अहिलेको हवाई नीति अनुसार नयाँ विमानस्थलको परियोजना अघि बढाउन सञ्चालनमा रहेको विमानस्थलबाट कम्तीमा ४० माइल दूरी हुनुपर्छ । विराटनगरबाट धरानको दूरी अहिले करिब ४० किलोमिटर मात्रै छ’, भूलले भने, ‘हवाई नीतिमा परिवर्तन भएर आएको अवस्थामा अर्कै कुरा नत्र अहिलेको अवस्थामा विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्न नसक्ने अवस्था देखियो ।’

समितिको नौटंकी मात्रै
त्यसो त धरानमा विमानस्थल माग्दै मन्त्रालयमा आइपुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले उतिबेलै हवाई नीति र दूरीबारे सम्झाएका थिए । धरानमा विमानस्थल बन्न सक्दैन भनेपछि साम्पाङसँग मन्त्रालयमै उनको भनाभनको अवस्था देखिएको थियो । 

तर साम्पाङलाई नचिढ्याउन मन्त्री किरातीले अध्ययन समितिको एकसरो निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार गठित समितिले दिएको निर्देशनले पनि हवाई नीतिको व्यवस्था र विराटनगर–धरानबीचको दूरी बाहेक केही बोलेको छैन । 

प्राविधिक समिति भनिए पनि गठित समितिले हवाई नीति र अहिलेको दूरीबाहेक केही पनि उल्लेख नगरी प्रतिवेदन पेश गर्नुले समिति गठन अर्थहीन देखिन्छ । 

धरानमा विमानस्थल बनेको अवस्थामा धरानबाट हवाइ सेवा लिने यात्रुको संख्याको आधारमा लागत लाभसम्बन्धी कुनै मूल्यांकन गरिएको छैन । 

हवाइ नीति नै फेर्न सफल होलान् हर्क ?
त्यसो त अहिले पनि हर्क साम्पाङ धरानमा विमानस्थल बन्ने भन्दै जनतालाई ढुक्क हुन आह्वान गरिरहेका छन् । 

पर्यटन मन्त्री किरातीले उनीप्रति देखाएको उदारताका कारण साम्पाङ बढी आशावादी देखिन्छन् । 

त्यसबाहेक धरान तथा आसपासका क्षेत्रमा रहेका किराती समुदायमा रहेको लोकप्रियताको आडमा सरकारलाई थर्काएरै भए पनि नीति परिवर्तन गराइ छाड्ने उनको योजना देखिन्छ । 

किराँती समुदायमा आफ्नो लोकप्रियता कायमै राख्न उनले सुम्निमा पारुहाङको मूर्ति निर्माणको अभियानसमेत चलाइरहेका छन् । 

यद्यपि नीतिमा परिवर्तन गर्दा देशभरबाट विमानस्थल बनाउन आउने दबाबका कारण राज्यलाई ठूलो भार पर्ने अवस्था देखिन्छ । 

धरानलाई केन्द्रित गरेर नीतिमै दूरी घटाउने हो भने पनि देशभर पचासौँ विमानस्थलको माग आउन सक्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् । हवाई सुरक्षा पनि अर्को कारण हुन सक्ला ।

त्यसो त पछिल्लो समय हर्कसँग माओवादी केन्द्रको दूरीसमेत बढेको छ । एमालेप्रति कठोर, नेपाली कांग्रेसप्रति तटस्थ र माओवादीप्रति उदार देखिएका साम्पाङको माओवादीबाट निर्वाचित आफ्नै उपमेयर अइन्द्र विक्रम बेघासँगसमेत दूरी बढेको छ । 

यस्तो अवस्थामा माओवादी उच्च नेतृत्वसँगसमेत उनको दूरी बढ्दै गएको छ । 
 



नयाँ