arrow

करणले छुटाएको त्यो क्याचपछि बने १४ रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
babar-iftikhar-2023.jpg

काठमाडौँ । एसिया कप क्रिकेटको डेब्यु खेल नेपालका लागि सुखद रहन सकेन । बुधबार पाकिस्तानको मुल्तानमा भएको खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भयो । 

पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन बनायो । कप्तान बाबर आजमले १३१ बलमा १५१ तथा इफ्तिखार अहमदले ७१ बलमा अविजित रहँदै १०९ रन बनाए । पाँचौँ विकेटका लागि यी दुईबीच २१४ रनको साझेदारी भएको थियो । 

पाकिस्तानले कुनै समय २७.५ ओभरमा १२४ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो । तर त्यसपछिको २२ ओभरमा २१८ रन बनायो । 

नेपालको आकर्षक शुरुआत भए पनि अन्त्य भने दुःखद नै भयो । सोमपाल कामीले २ तथा करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिए भने दुई खेलाडी रनआउट भएका थिए । 

जवाफमा नेपालले २३.४ ओभरमात्र क्रिजमा टिकेर १०४ रनमात्रै जोड्न सक्यो । सोमपालले सर्वाधिक २८ रन बनाए भने आरिफ शेखले २६ तथा गुल्सन झाले १३ रन बनाए । त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन् । तीन खेलाडीले त रनको खातासमेत खोल्न सकेनन् । शदाब खानले ४ तथा शहीन शाह अफ्रिदी र हरिस राउफले २–२ विकेट लिए । 

करणको त्यो क्याच ड्रप जसले बदलियो खेलको रुप रङ्ग
करण केसीले सशक्त बलिङ गर्दै आएका थिए । नेपाललाई पहिलो सफलता पनि उनैले दिलाएका थिए । तर पाकिस्तानी कप्तान बाबरले ५६ रन बनाउँदा करणले आफैँले गरेको बलिङमा सुन्दर क्याच छुटाएका थिए । उनले बल हातमा लिएर पनि नियन्त्रण गुम्यो ।

त्यतिबेलै अनुमान गरिएको थियो कि त्यो क्याच ड्रप महँगो हुन सक्छ । नभन्दै भयो त्यही । बाबरले १५१ रन बनाए । त्यतिमात्र हैन खेलमा बने १४ वटा रेकर्ड –

१, एसिया कपमा कप्तानका रुपमा बाबरले सबैभन्दा बढी रन बनाए । यसअघि भारतीय खेलाडी विराट कोहलीले सन् २०१४ मा बंगलादेशविरुद्ध १३६ रन बनाएका थिए । त्यस्तै भारतीय खेलाडी सौरभ गांगुलीले सन् २००० मा बंगलादेश विरुद्ध नै अविजित १३५ रन बनाएका थिए । 

२, एसिया कपमा बाबरको दोस्रो ठूलो व्यक्तिगत रन बनेको छ । यसअघि भारतीय विराट कोहलीले पाकिस्तानविरुद्ध सन् २०१२ मा १८३ रन बनाएका थिए । 

३, एसिया कपमा पाकिस्तानका तर्फबाट बाबरले सबैभन्दा बढी रन बनाएका छन् । यसअघि सन् २००४ मा हङकङविरुद्ध युनिस खानले १४४ रन बनाएका थिए । 

४, बाबरले एसिया कपमा घरेलु मैदानमा सबैभन्दा धेरै रन बनाए । यसअघि सन् १९९७ मा श्रीलंकाका अजुना रणतुंगाले भारतविरुद्ध कोलम्बोमा १३१ रन बनाएका थिए । 

५, २८ वर्षीय बाबरले सबैभन्दा छिटो १९ शतक बनाउने कीर्तिमान रचे । उनले जम्मा १०२ इनिङ्समा यो कीर्तिमान बनाएका हुन् । यसअघि दक्षिण अफ्रिकाका हसिम अम्लाले १०४ इनिङ्समा १९ शतक पूरा गरेका थिए । भारतीय विराट कोहलीले १९ शतक बनाउन १२४ इनिङ्स खेलेका थिए । 

६, बाबरले कप्तानको रुपमा सबैभन्दा बढी १५० प्लस रनको बराबरी गरेका छन् । बाबरको एक दिवसीयमा यसअघि १५८ रन बनाएका थिए । उनले भारतीय पूर्व कप्तान विराट, अष्ट्रेलियाका आरोन फिन्च तथा इङ्गल्याण्डका एन्ड्रयु स्ट्रसको दुई पटकको बराबरी गरेका हुन् । 

७, पाकिस्तानका लागि सबैभन्दा बढी १५० प्लस रन बनाउने दोस्रो खेलाडी भएका छन् । ३ पटक १५० प्लस बनाउने फखर जमान हुन् । सइद अनवर, इमरान नजिर, शरजिल खान र इमाम–उल–हकले १ पटक यो स्कोर पूरा गरेका छन् । 

८, नेपाल एसिया कप खेल्ने आठौँ टिम बनेको छ । यसअघि अहिले भएका टिम बाहेक हङकङ र यूएईले यो अवसर पाइसकेका छन् । 

९, सोमपाल कामीले १० ओभरमा ८५ रन दिए । सोमपाल सबैभन्दा बढी रन दिने खराब रेकर्ड बनाउन बाध्य भए । यसअघि सोमपालले सन् २०२२ मा पपुवा न्यूगिनीविरुद्ध ८१ रन दिएका थिए । 

१०, एसिया कपमा ६ नम्बरमा आएर शतक बनाउने अहमद पाँचौँ खेलाडी हुन् । साथै ५ नम्बरमा आएर उच्च स्कोर बनाउने उनी तेस्रो खेलाडी हुन् । यसअघि पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले १२४, तथा बंगलादेशका आलोक कपालीले ११५ रन बनाएका थिए । 

११, पाकिस्तानका लागि पाँचौँ विकेटको सबैभन्दा बढी साझेदारी यही खेलमा भएको छ । बाबर र अहमदले १३१ बलमा २१४ रन बनाएका हुन् । यसअघि उमर अकमल र युनिस खानले सन् २००९ मा श्रीलंका विरुद्ध १७६ रनको साझेदारी गरेका थिए । 

१२, बाबर र अहमदले एसिया कपको तेस्रो ठूलो साझेदारीसमेत गरेका छन् । पाँचौँ विकेटका लागि भएको २१४ रनको साझेदारी कुनै पनि विकेटका लागि सबैभन्दा ठूलोमा तेस्रो हो । सन् २०१२ मा मोहम्मद हफिज र नासिर जमशेदले भारतविरुद्ध २२४ रन बनाएका थिए । सन् २००४ मा शोएब मलिक र युनिस खानले हङकङविरुद्ध सन् २००४ मा २२३ रनको साझेदारी गरेका थिए । 

१३, पाकिस्तानले एसिया कपमा दोस्रो ठूलो जित हासिल गरेको छ । सन् २००८ मा भारतले हङकङलाई २५६ रनले हराएको थियो । पाकिस्तानको पनि दोस्रो ठूलो जित नै हो । यसअघि बंगलादेशलाई सन् २००० मा २३३ रनले हराएको थियो । पाकिस्तानको एक दिवसीय इतिहासको तेस्रो ठूलो जित पनि हो । यसअघि सन् २०१६ मा आयरल्याण्डविरुद्ध २५६ तथा सन् २०१८ मा जिम्बाब्वेलाई २४४ रनले हराएको थियो । 

१४, एसिया कपमा पाकिस्तानले तेस्रो ठूलो स्कोर बनाएको छ । यसअघि सन् २०१० मा पाकिस्तानले बंगलादेशविरुद्ध ३८५ रन बनाएको थियो भने सन् २००४ मा हङकङविरुद्ध ३४३ रन बनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ