arrow

यातायात जोखिमप्रति किन कसैलाई छैन चासो ?

logo
डा बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८० कार्तिक ४ शनिबार
badreeprakash-ojha-2080-07-.jpg

महालेखा परीक्षकको प्रतिवेदन २०७९ अनुसार नेपालमा बितेका पाँच वर्षमा सडक यातायात जोखिमको वृद्धिदर औसत १६ प्रतिशत रहेको छ । तर आव ०७८–७९ मा भने जोखिमको वृद्धिदर ९१ प्रतिशले वृद्धि भएको छ । 

महालेखाले जनाए अनुसार आव ०७७–७८ मा जम्मा २० हजार ६ सय ओटा सडक यातायात जोखिम भएकोमा आव ०७८–७९ मा उक्त जोखिम बढेर करिब ३८ हजार नाघेको थियो । ती सडक जोखिममा परी दुई हजार आठ सय ८३ जनाको ज्यान गएको थियो । वर्षमा यति धेरै मानिस हताहती भए पनि सरकारले यस क्षेत्रका लागि कुनै जाँचबुझ वा अनुसन्धान गरेको खासै पाइँदैन । 

सामान्यतया एउटा विमान क्र्यास हुँदा देशमा यति ठूलो हल्ला हुन्छ । तुरुन्तै छानबिन समिति गठन गरिन्छ । नेपालमा उड्ने हवाईजहाजले सरदर सय जना नै बोकेको मान्ने हो भने २८ सय जना बोक्नका लागि कम्तिमा पनि २८ वटा हवाईजहाज त चाहियो । 

वर्षमा २८ वटा विमान क्र्यासमा पर्दा देशमा कुनै विमान बाँकी रहलान् ? यस्तो गम्भीर विषयमा सरकारका सबै अङ्ग, नागरिक समाज, पेशागत संघसंस्था तथा सर्वसाधारण नागरिकको ध्यान केन्द्रित हुनुपर्ने होइन ? 

अध्ययन अनुसार सन् २००७ तिर नेपाल सडक यायाताको जोखिममा परी ज्यान गुमाउनेको संख्या हजारभन्दा कम थियो । सडक र सवारीको संख्या वृद्धिसँगै सडकमै ज्यान गुमाउनेको संख्यामा पनि भारी वृद्धि भएको तथ्य छ । 

विश्वमा सडक यातायात जोखिममा परी बर्सेनि करिब तीन लाख पैदल यात्रीको ज्यान जान्छ । विश्वमा सडकमा ज्यान गुमाउनेहरुको मात्रामा पैदल यात्रीको हिस्सा २२ प्रतिशत छ । नेपालमा पनि पैदल यात्री र साइकल वा मोटरसाइकलका प्रयोगकर्ता गरी सम्पूर्ण सडक सवारी जोखिम मृत्युको ७२ प्रतिशत हिस्सा ओगटेको छ । पैदल यात्री, दुई वा तीन पाङ्ग्रे सवारी साधनका प्रयोगकर्तालाई सडक सुरक्षाको भाषामा जोखिमयुक्त सडक प्रयोगकर्ता अथवा भीरआरयू भनेर चिनिन्छि । 

सडकलाई सुरक्षित स्थल बनाउनका लागि सेफ सिस्टम एप्रोचलाई उपयुक्त तरिका मानिन्छ । यस एप्रोचका अनुसार मानिसले स्वभावैले गल्ती गर्दछ । गल्तीका कारण सडकमा घटना हुन्छ । तर मानवीय गल्ती मात्रै सडक जोखिमको एक मात्र कारण भने होइन । त्यस्तै यस एप्रोचले मानिसमा गतिशित वस्तुले दिने धक्का सहने एउटा सीमा हुन्छ । सो सीमाभन्दा बढी गतिमा आएको वस्तुले ठक्कर दिए मृत्युको संभावना बढ्छ । 

यसै तथ्यका आधारमा एउटा वयष्क मानिसलाई ३० किलोमिटर प्रतिघन्टाका दरले दौडेको सवारी साधनले ठक्कर दिँदा उसको ज्यान जाने सम्भावना निकै कम हुन्छ । पावर मोडलको सिद्धान्त अनुसार सवारी साधनको गति एक प्रतिशतले मात्र बढे पनि क्र्यास हुनसक्ने सम्भावना दुई प्रतिशतले बढ्दछ, त्यस्तै गम्भीर घाइते हुने क्रम तीन प्रतिशत र मृत्युको सभावना चार प्रतिशले बढ्दछ । 

सवारीले ठक्कर दिने अवस्थामध्ये ४३ प्रतिशत अवस्था यात्रुले गलत ठाउँबाट बाटो काट्नु पनि हो । यदि सो पैदल यात्रु बालबालिका रहेको खण्डमा ठक्कर खानेक्रम अरु तीन प्रतिशले वृद्धि हुनसक्ने अध्ययनहरुले देखाएका छन् । 

त्यस्तै मोटर जडित सवारी साधन र साइकलबीच ठक्कर लाग्ने क्रम ५४ प्रतिशत रहन्छ । सेफ सिस्टम एप्रोचले रोड क्र्यासमा सडकका प्रयोगकर्ता जत्तिकै जिम्मेवारी सडक डिजाइन तथा निर्माण क्षेत्रको पनि हुनुपर्दछ भन्ने मान्यता राख्दछ । 

नेपालमा सडकसँग सम्बन्धित निकायले पटक्कै पचाउन नसकेको एउटा विषय यो हो । त्यस्तै यस विषयलाई सवारी साधन सञ्चालकहरुले पनि बेवास्ता गर्दछन् । असी प्रतिशत क्र्यास सडक डिजाइन र निर्माण तथा सवारी साधनको अवस्थासँग सम्बन्धित रहने अध्ययनहरुले देखाएका छन् । 

बाँकी २० प्रतिशत ठक्कर ढोका खोल्दा, पार्किङमा हुने गल्ती आदिका कारण हुन्छन् । अध्ययनहरूका अनुसार चार पाङ्ग्रे सवारी सधानका प्रयोगकर्ताका तुलनामा मोटरसाइकल प्रयोगकर्ताहरु सवारी जोखिममा पर्ने सम्भावना १६ देखि २६ गुणा बढी हुनसक्छ । 

तर हामी यस्ता तथ्यलाई हावामा उडाइदिन्छौँ । अध्ययनहरूले के पनि देखाएका छन् भने मानिसलाई सडक यातायात जोखिमको परिणामबारे जनचेतना जगाउनु भन्दा कानून लगाउनु सजिलो कुरो हो । हेलमेट लगाऔँ र टाउको जोगाऔँ भन्ने सन्देश भन्दा हेलमेट नलगाउनेलाई हजार पन्ध्र सय जरिबाना गर्दा मानिसले बढी टेरेको पाइएको छ । 

यो तपाई हामीले दिनहुँ भोग्ने गरेका छौँ । जुन दिनसम्म हामी यस रोगबाट मुक्त हुँदैनौँ, हामी सडक यातायातका शिकार भइरहन्छौँ । एउटा कुरा सधैँ सम्झनुपर्दछ, तपाई हामीले सडकमा देखाउने व्यवहारले अरुलाई मात्र होइन, हामीलाई पनि मार्न सक्छ । 


 



नयाँ