arrow

चार जनाको सामूहिक हत्या प्रकरणमा घटना बाहिरिएको १३ दिनपछि प्रहरीले पक्रियो दुई जनालाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
mugu-hatya.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु छायाँनाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही र गोपाल बोहोरा रहेका छन् । 

घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या आरोपमा शाही र बोहोरालाई पक्राउ गरेको हो । घटनामा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको शंकमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतले गोरखबहादुर मृतकका नातेदार पनि भएको दाबी गरेको छ । कात्तिक १० गते बिहान साढे ९ बजे छायाँनाथ रारा नगरपालिका–६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो ।

कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्या गरेपछि घरमा ताला लगाएर आरोपी भागेका थिए । 

घटना भएको पर्सिपल्ट अर्थात् कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका थिए । 

सामूहिक हत्या भएको लामो समयसम्म पनि आरोपित पक्राउ नगर्दा प्रहरीको आलोचना भइरहेको थियो। 

सामूहिक हत्या भएको घटना अनुसन्धानका लागि शुरूमा कर्णाली प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट दुई ओटा टोली अनुसन्धानका लागि खटिएका थिए । 

कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो । 

प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीबाट पनि डीएसपी धर्मराज भण्डारी नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो । 

सोही टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । यद्यपि प्रहरीले यस विषयमा केही बताएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ