arrow

साना दललाई ठूलो भाग

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबीच टुंगेन सिट बाँडफाँट, आकांक्षा बढ्दो

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २१ शनिबार
gathabandhan-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त हुने १९ सिटको बाँडफाँटमा गठबन्धन दलहरुले आफ्नै किसिमको दाबी गर्दा सिट बाँडफाँड टुंगिन सकेको छैन । शनिबार साँझ बसेको बैठकमा जसपाले दुई सिट, सीके राउतको जनमत पार्टीले एक सिट, लोसपाले दुई सिट तथा नेकपा एसले पाँच सिट दाबी गरेपछि सिट बाँडफाँट गर्न बसेको गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्तिको बैठकमा दलहरुले बढी सिट मागेपछि कुरा नमिलेको हो । 

दलहरुले धेरै सिट दाबी गरेपछि गठबन्धन बैठक निष्कर्षविहीन भएको छ ।

 ‘प्रमुख दलले बढी सिट दाबी गरेपछि बैठक निष्कर्षमा पुग्न सकेन,’ जनमत पार्टीका अध्यक्ष सीके राउतले बैठकपछि भने । 

उनका अनुसार कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच तालमेल मिलेको छैन । पछिल्लो पटक जसपाले दुई सिट माग्दै आएको छ भने नेकपा एसले तीनबाट पाँच सिट पुर्याएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्नेसहित एमालेबाट ९ सिट खाली भएको अवस्थामा सत्ता गठबन्धन दलहरुले त्यसमै गलफत्ती गरिरहेका छन् । 

अहिले राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनयन गर्नेसहित २० सिट खाली रहेको छ । पुस २३ गते १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता हुने निर्वाचन आयोगले बताएको छ । 

राष्ट्रिय सभामा ६ वर्षे अवधि पूरा गरेका एमालेका तर्फबाट अध्यक्ष भएका राष्ट्रियसभा अध्यक्षसहित २० सदस्यको सिट आगामी फागुन २० गतेदेखि रिक्त हुँदै छ ।

जसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सबैभन्दा बढी ८, कांग्रेसबाट ४, माओवादीबाट ३, एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट १, एक जना स्वतन्त्र र अर्का एक जना राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल समाप्त हुँदै छ ।

यसअघि २०७८ माघ ११ गते भएको चुनावमा पनि यही गठबन्धनले साझा उम्मेदवार बनाउँदा एमालेले ७ सिट गुमाउनु परेको थियो । यसपल्ट पनि कांग्रेसले ४ सिट, माओवादीले ३, एकीकृत समाजवादीले २ र जसपाले १ सिट दाबी गरेका छन् ।

स्वतन्त्र जितेको र राष्ट्रपतिबाट मनोनित हुने एक सिटसमेत मिलाएर भागबण्डा गर्नुपर्ने गठबन्धन दलका नेताको धारणा छ । 

सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी छन् । राष्ट्रिय जनमोर्चाले पनि सरकारलाई समर्थन दिइराखेको छ। 

यस्तो अवस्थामा गठबन्धन दलका नेताले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । यसअघि राष्ट्रपतिबाट मनोनित हुनेमा एमालेकी बिमला पौड्याल थिइन् भने स्वतन्त्रमा डा. खिमलाल देवकोटा थिए । उनीहरूको पनि कार्यकाल सकिँदै छ ।  

एमालेबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, नरपति लुहार, रामचन्द्र राई र सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गरेकी एमालेकी बिमला राई पौड्याल र डा. खिमलाल देवकोटाले बिदा लिँदै छन् । 

यस्तै कांग्रेसबाट संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देवले बिदा लिँदै छन् । 

माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी तथा एकीकृत समाजवादीबाट भौतिक तथा यातायात राज्यमन्त्री नन्दा चपाईं र सिंहबहादुर विश्वकर्माले बिदा लिँदै छन् । 

जनता समाजवादी पार्टीबाट शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादव पनि बिदा हुँदै छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ