arrow

बैंकमा अनियमितता

सन्तानब्बे करोड बराबरको अधिक कर्जा प्रवाह भएको सेञ्चुरी बैंक घोटाला प्रकरण 

बैंकर दाहाल भन्छन् –‘तुलसी सरले गलत गर्नुभयो भनेर कल्पना गर्न पनि सक्दिन’

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
century-commercial-bank-limited-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कमसल धितोमा कर्जा प्रवाह गरी अनियमिता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ११ जना पक्राउ गर्यो । ६ जना पूर्व बैंकर र ५ जना बहालवाला बैंकर पक्राउ परेको उक्त घटनापछि बैंकिङ क्षेत्र एकपटक फेरि तरंगित भएको छ । 

देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको नाममा तत्कालीन सेञ्चुरी कमर्शियल बैंकले प्रवाह गरेको ऋणमा यस्तो कैफियत भेटिएको हो । 

सीआईबीका अनुसार एक अर्ब १४ करोड रुपैयाँ धितो मूल्यांकन भएको जग्गा राखेर २ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह भएको पाइएको छ । 

जसमा ९७ करोड रुपैयाँ बराबरको अधिक कर्जा प्रवाह भएको देखिएको सीआईबीले जनाएको छ । 

उक्त कर्जा नउठेपछि धितो लिलामी गरिएको थियो । तर धितो बिक्री हुन नसकेको तथा धितोको मूल्यांकन नै ऋणभन्दा कम भएको पाइएपछि नेपाल राष्ट्र बैंकको सिफारिसमा सीआईबीले उनीहरुलाई अनुसन्धानका लागि उच्च पदस्थदेखि तल्लो तहका कर्मचारीहरुलाई पक्राउ गरेको हो ।  

यसरी पक्राउ पर्नेमा सेञ्चुरी बैंकका तत्कालीन सीईओ तुलसीराम गौतम, त्यसपअछिका निमित्त सीईओ मनोज न्यौपाने, चिफ क्रेडिट अफिसर राजेश भण्डारी हुन् । पक्राउ परेकाहरुमध्ये केही इमानदार बैंकरको रुपमा कहलिएका व्यक्तिसमेत छन् । 

पक्राउ परेकामध्ये तुलसीराम गौतम इमानदार व्यक्तिको रुपमा चिनिन्थे । सेञ्चुरीमा आउनुअघि गौतम माछापुच्छ«े बैंकको सीईओ थिए । त्यसअघि उनी नेपाल एसबीआई बैंकको कर्जा विभागका प्रमुख थिए । 

पूर्व बैंकर भुवन दाहाल भन्छन्, ‘उहाँसँग मैले लामो समय संगत गरेको छु । उहाँ निकै इमानदार व्यक्ति हो । उहाँले गलत गर्नुभयो भनेर म कल्पनासमेत गर्न सक्दिँन ।’ 

त्यसो त चार वर्षअघि तत्कालीन बैंक अफ काठमाण्डूका सीईओ अजय श्रेष्ठसहित ११ जनालाई त्यसैगरी पक्राउ गरिएको थियो । 

श्रेष्ठ पनि आफैँमा इमानदार बैंकरको रुपमा चिनिने व्यक्ति हुन् । अदालतले श्रेष्ठलाई निर्दोष भन्दै सफाइ दिएको थियो । 

तत्कालीन समयमा बैंकर्स संघको अध्यक्षसमेत रहेका दाहाल भन्छन्, ‘हामीले अजय सर गलत हुनै सक्नुहुन्न भनेर आवाज उठाएका थियौँ । पछि अदालतले पनि उहाँलाई निर्दोष ठहर गर्यो । मलाई तुलसी सर र अजय सरमा केही फरक लाग्दैन ।’ 

पक्राउ पर्ने अरु १० जनासँग भने संगत नभएकोले केही भन्न नसक्ने उनी बताउँछन् । 

यद्यपि घटनाबारे एकैपटक बैंकर्सलाई पक्राउ गर्नु गलत भएको दाहालको भनाइ छ । अजय श्रेष्ठलाई पक्राउ गरेसँगै आफूहरु बैंकिङ कसूरसम्बन्धी कानून नै परिवर्तन गर्नुपर्छ भनेर लागेको भन्दै उनले जसले गलत गर्छ उसैलाई मात्रै कारबाही गर्नुपर्ने बताए । 

‘अजय सर पक्राउ परेपछि हामी ३–४ महिनासम्म ऋणको फाइलमा साइन गर्नै नसक्ने अवस्थामा पुगेका थियौँ । अहिलेको घटनाबारे धेरै थाहा नभए पनि सबै कर्मचारीहरु गलत हुन्छन् भन्ने होइन । गलत गर्नेलाई मात्रै कारबाही हुने अवस्था सिर्जना गर्नुपर्छ ।’

बैंकर्स संघले घटना अध्ययन गरेर मात्रै बोल्ने–
यो घटनाबारे बैंकिङ क्षेत्रको छाता संगठन मानिने नेपाल बैंकर्स संघले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

यद्यपि घटनाको सन्दर्भमा अध्ययन गरेर धारणा सार्वजनिक गर्ने संघले जनाएको छ । 

बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैंकरहरु पक्राउ परेको घटनाबारे जानकारी प्राप्त भए पनि घटनाको अध्ययन गरेर मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ