arrow

परामर्श नगरी बजेट ल्याइएको भन्दै पार्टी बैठकमा ओलीको असन्तुष्टि [भिडियो]

वर्षमान पुनले माओवादी केन्द्रप्रति ढल्किएर बजेट ल्याएको टिप्पणी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १९ शनिबार
kp-sharma-oli-02-19.jpg

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकमा सत्तारुढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गरे । 

बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उल्लेख गर्दै उनले बजेट निर्माणमा प्रक्रियामा नै कमीकमजोरी सरकारले गरेको दाबी गरे । अध्यक्ष ओलीले बजेटमा कमी भएको औँल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पारे । उनले सरकारले प्रस्तुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि बताए ।

ओलीले भने, ‘अहिले हामीसँग प्रस्तुत भएको बजेट वक्तव्यसँग सम्बन्धित र खास गरी करका दरहरूसँग सम्बन्धित खास गरी भन्सार र आयकर सम्बन्धी अरू विभिन्न प्रकारका करहरू सम्बन्धी या सम्पूर्ण आयको अनुमानसम्बन्धी र व्ययका क्षेत्रहरू र अनुमानमा आधारित भएर कस्तो खालको दिशा समेटेको छ बजेटले । हामी जानुपर्ने कतो हो ? सैद्धान्तिक रूपमा कस्तो दिशा समातेको छ ? यी विषयहरूमा केन्द्रित भएर छलफल गर्नेछौँ । अरू छलफल बाँकी रहन्छ । अघि नै मैले भने–विनियोजनको सन्दर्भमा पछि हामी फेरि कुन कुन मन्त्रालय कस्तो विनियोजन भयो ? र त्यसमा कुन कुन कार्यक्रममा के भएको छ ? कुन नयाँ थपिएको छ, कुन पुरानो जारी छ ? कुन कटौती गरिएको छ ? कुन पूरा भयो, कुन अपुरैमा कटौती भयो ? नाम मात्रैको आयोजना राखियो तर बजेट छुटाइएन कि ? कहाँ कस्तो कमी रहे, त्यसलाई पनि हेरिनेछ । र यस बजेटका सबल पक्षहरू के हुन, सकारात्मक पक्षहरू के हुन् ? ती पनि हेरिनेछ । र यसमा कमीकमजोरीहरू के छन् ? त्यसलाई पनि हेरिनेछ । र यस सन्दर्भमा हामी अलिक छलफल खुलेर नै गर्छौँ । यो बजेट एकदमै सामान्य हिसाबले भन्ने हो भने दफावार हिसाबले नजाँदा पनि यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि ? जस्तो अलि बढता देखिन गएको छ । र रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ । यो कमी रहेको छ । यसको निर्माण प्रक्रियामा नै कमी रह्यो, जसले गर्दा त्यो कमी नरहनु पर्दथ्यो, रहन जाँदा यसमा गम्भीर त्रुटिहरू रहे । हामीले समाजवाद निर्माणको बाटो लिएका छौं । त्यसका लागि समाजवाद निर्माणका आधारहरू तयार गर्ने, समाजवाद उन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरू, ती कुराहरू बजेटले स्पष्ट ढंगले समाउनु पर्दथ्यो । अलि अन्योलग्रस्त देखिन्छ । पछि साथीहरूले यस सम्बन्धमा छलफल गर्नु नै हुनेछ । एउटा चाहिँ हामीमा कुनै दुबिधा हुनुहुँदैन– यस बजेटलाई हामी समर्थन गर्छौँ । र पारित गर्छौँ । यसको मतलब बजेटमा रहेका कुनै कमी पनि औँल्याउन हुँदैन भन्ने होइन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ