arrow

कचहरीमा संघीयता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
kachahari-lakechity.jpg

पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले पोखरामा संघीयतामा अन्तर सरकारी सम्बन्धका विषयमा कचहरी गरेको छ ।

केन्द्रले मासिक रुपमा समसामयिक विषयमा कचहरी चलाउँदै आएको छ । कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक गिरधारी सुवेदीले कार्यपत्र प्रस्तुत गरे । 

नेपालको संघीयता समन्वयात्मक हुनुपर्नेमा प्रतिपस्र्धी भइरहेको सुवेदीले बताए । आन्तरिक स्रोत पर्याप्त नभएसम्म प्रतिस्पर्धा सम्भव नभएको भन्दै उनले सहकार्य र समन्वयबाटै शासन व्यवस्थालाई सुदृढ पार्दै लैजानुपर्नेमा जोड दिए । 

परम्परमा बाझिएका ऐनहरु, अधिकारमा दोहोरोपना, संघको हस्तक्षेपकारी मनोवृत्ति, कानून निर्माणमा अपूर्णता र अष्पष्ट कानूनका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको उनले औँल्याएका छन् । 
नेपालको संविधानले संघ, प्रदेश र सरकारलाई क्रमश ७५, ९ र १६ वटा एकल अधिकार तोकिदिएको छ । गाउँगाउँमा सिंहदरबार भनिए पनि यो अधिकारी सूचीले प्रदेश र स्थानीय तहलाई बाँधेको छ । 

तसर्थ एकल अधिकारको सूची संघमा भन्दा प्रदेश र स्थानीय तहमा बढी हुनुपर्छ । यसैगरी, संघ, प्रदेश र स्थानीय तहको समन्वयका लागि केन्द्रमा ऐन बनेको छ । गण्डकी प्रदेशले पनि प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सम्बन्धी ऐन बनाएको छ । तर अन्तर प्रदेश सम्बन्धी कानून अहिलेसम्म बन्न सकेको छैन । मुख्यमन्त्रीहरु अनौपचारिक रुपमा जम्मा भएर निर्णयहरु गरी केन्द्रमा दबाब दिने गरेका छन् । यो फोरम पनि प्रभावकारी देखिएको छैन । 

३ तहका सरकारबीचको अन्तरसम्बन्ध कायम गर्न अन्तरप्रदेश परिषद्, राष्ट्रिय समन्वय परिषद्, प्रदेश समन्वय परिषद, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, संवैधानिक इजलास, अन्तरसरकारी वित्त परिषद, संघ प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध तथा समन्वय ऐन २०७७ लगायत कानूनी संस्था रहे पनि प्रभावकारिता नदेखिएको अधिवक्तासमेत रहेका उपप्राध्यापक सुवेदीको ठहर छ । 

संघीयता कार्यान्वयनमा राष्ट्रिय समन्वय परिषद्को निर्णय कार्यान्वयन हुनेपर्ने उनी बताउँछन् । उनले भने, ‘संघ सरकारका संरचनाजस्तै प्रदेश सरकारका एकै प्रकृतिका संरचना हटाउनुपर्छ ।’ 

राष्ट्रिय सभा र प्रदेश सभाबीच समन्वयका लागि विशेष संयन्त्र गठन गर्नुपर्ने, विधायकी कार्यमा अनुभव आदाप्रदान र सहकार्यको जरुरी रहेको सुवेदीको भनाइ छ । 

यसैगरी संघ, प्रदेश र स्थानीय तहमा बनेका ऐनहरुको उत्तरविधायिकी परीक्षण गर्नुपर्ने सुझाव उनले दिएका छन् ।

संविधान सभा सदस्य समेत रहेका पूर्वककमन्त्री कुमार खड्काले अहिले प्रदेश संरचनाप्रति अनावश्यक टिप्पणि भइरहेको बताउँछन् । 

उनले भने, ‘हेर्ने आँखा, सुन्ने कान, खाने मुख भएको, टाउको, हिँड्ने खुट्टा पनि छ भने बीचको पेट जसलाई खाना पनि दिइरहन पर्ने, समस्या दिइरहने किन चाहियो ? पेट काटेर फालिदिँदा शरीर जिवित रहन्छ ?’ प्रदेशले जनचाहाना अनुसार सेवा प्रवाह गर्न नसक्नुमा प्रदेशको मात्र दोष नरहेको उनको भनाइ थियो । 

संविधान प्रारम्भ भएको ३ वर्षभित्र अर्थात् २०७५ असोज ३ गतेभित्र बनाइसक्नुपर्ने कानून नबन्द प्रदेश सञ्चालनमा अप्ठेरो परेको उनले बताए ।

‘निजामती, प्रहरी लगायत अन्य अत्यावश्यक ऐन नबन्दा प्रदेश अगाडि बढ्न मुश्किल छ,’ उनले भने ।  

कार्यक्रममा पूर्व मन्त्री जगतबहादुर विश्वकर्माले संविधान बनाउन अग्रपंक्तिमा रहेका नेताहरु नै संघीयता कार्यान्वयप्रति उदासीन देखिएको बताए । उनले निष्ठा र राजनीतिक इच्छाशक्तिको कमीकै कारण अहिले समस्या देखिएको भनाइ राखे । 

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पालिकाको काम सेवा प्रवाह रहेको भन्दै कहाँ कसले काम गर्ने हो भन्ने नै अलमल रहेको बताए । उनले भने, ‘साँच्चै संघीयता कार्यान्वयन गर्ने हो भने स्थानीय तहसँग समन्वय जरुरी छ ।’ 

सांसदहरुलाई नीति निर्माणमा भन्दा योजना बाँडफाँटमै ध्याउन्न रहेकोप्रति उनले कटाक्ष गरे । 

वालिङ नगरपालिकाका पूर्व मेयर दिलीपप्रताप खाँडले नेपालको कृत्रिम संघीयता खर्चिलो भएको बताए । मुलुकको खर्च धान्नलाई ५० खर्ब भन्दा बढी राजश्व उठाउनुपर्ने भए पनि आम्दानी ११ अर्बको हाराहारीमा रहेको भन्दै यो अवस्थाले व्यवस्था अगाडि बढ्न नसक्ने भनाइ राखे । सांसद कानून बनाउनभन्दा विकासे एजेन्ट भएकाले समस्या बढेको उनले बताए । 
गण्डकी प्रदेश सभाका संस्थापक सदस्य दीपक कोइरालाले बजेट कार्यान्वयन गर्ने तह र ठेगाना स्थानीय तह नै रहेकाले वडासम्म समन्वय जरुरी रहेको भनाइ राखे ।
 
सहरी योजना आयोग पोखराका उपाध्यक्ष प्रेम लामिछानेले संविधानले जिल्ला नचिने पनि अहिले प्रमुख जिल्ला अधिकारी नै सर्बेसर्वा रहेको बताए । कर्मचारीतन्त्रमा चेन अफ कमान्ड नभएको भन्दै उनले अराजकता बढेको भनाइ राखे ।

प्रदेश प्रमुखको कार्यालयमा कार्यरत शाखा अधिकृत सीता सापकोटाले संघीयतासँगै कर्मचारीतन्त्रभित्र अलमल बढेको भनाइ राखिन् । संघीय निजामती ऐन जारी नहुँदा अन्यौल बढेको भन्दै एउटै कर्मचारीको २ र त्यस भन्दा बढी संकेत नम्बर रहने अवस्था सिर्जना हुनु आफैँमा विडम्बनायुक्त रहेको बताइन् । 

कार्यक्रममा डा. रामचन्द्र बराल, विद्यार्थीहरु अंकित भुजेल, मनोज सुवेदी, पिएन क्याम्पसका रामजी पोख्रेल, स्ट्रगल राना लगायले सुझाव एवं जिज्ञाशा राखेका थिए । 

केन्द्रका अध्यक्ष डा. ठानबहादुर क्षत्रीको सभापतित्वमा भएको कार्यक्रम संयोजन उपेन्द्रप्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा वक्ताका लागि ५ र जिज्ञासा र भनाइ राख्नेका लागि २÷२ मिनेट प्रदान गरिएको थियो । समयको महत्वलाई ख्याल गरेर यस्तो नियम बनाएको र सबैभन्दा पहिला कार्यक्रममा आउने व्यक्तिलाई प्रमुख अतिथि बनाउने नियम केन्द्रको रहेको संयोजक पौडेलको भनाइ थियो । लेकससिटीकै विद्यार्थी सम्झना भट्टराई कार्यक्रमको प्रमुख अतिथि बनिन् । 

पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर मातहत समाज विज्ञान केन्द्र सञ्चालित छ । कलेजले आम्दानीको केही हिस्सा अनुसन्धानमा खर्चिंदै आएको छ ।

समाज विज्ञान केन्द्रका संरक्षक प्राडा विश्वकल्याण पराजुलीले केन्द्रले १० वर्षदेखि समसायिक विषयमा नियमित रुपमा छलफल गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिइने जानकारी दिए । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरका क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठका अनुसार यसरी गरिएका छलफलको निष्कर्ष प्रकाशन गरिने छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ