arrow

सत्ताका लागि खेलोफड्को नगर्न केपीलाई माधवको सुझाव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
madhav-nepal-04-06.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ताका लागि खेलोफड्को नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । 

आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनले सत्ता प्राप्तिका लागि अनेकौँ खेलोफड्को गर्ने काम किमार्थ स्वीकार्य नहुने बताए । उनले मध्य रातमा दुई दलले अपारदर्शी ढङ्गबाट बनाएको नयाँ गठबन्धनको सङ्केत राम्रो नभएको बताए । 

अध्यक्ष नेपालले संसदीय व्यवस्थामा दुई ठूला दल मध्ये एउटा दलले सरकारको नेतृत्व गर्ने र अर्को दलले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा दुवै दल मिलेर सरकार बनाउने कुरा उचित नभएको बताए । 

उनले भने, ‘सत्ता प्राप्तिका लागि अनेकौँ खेलोफड्को गर्ने अनि राजनीतिक अस्थिरताको दोष व्यवस्थालाई दिने कुरा किमार्थ उचित होइन । फ्रान्सको एक मिडियाले नेपाललाई राजनीतिक अस्थिरताको विश्व च्याम्पियन भनेर समाचार छापेको छ । हो सो मिडियाले भनेजस्तै हामी पछिल्लो १४ वर्षमा १५ औँ प्रधानमन्त्रीले राख्नु भएको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल गर्दैछौं । तर मनसुन, बाढी, पहिरो र डुबानले हार गुहार गरिरहेका जनताप्रति बेखवर जस्तै छौं । पीडितको उद्धार, राहतमा अहोरात्र खटिनुपर्नेमा आज हामी के गरिरहेका छौं ? ठिक यस्तो बेला सरकारको परिवर्तन गर्नु आवश्यक थियो कि थिएन ? जनताले प्रश्न गरेका छन्– संसदीय लोकतन्त्रमा प्रतिनिधि सभाको पहिलो र दोस्रो दलको सरकार विरलै देख्न पाइन्छ । एउटाले सरकारमा रहँदा अर्कोले प्रमुख प्रतिपक्षको रूपमा सरकारको खबरदारी गर्नुपर्ने हुन्छ । मध्यरातको अपारदर्शी सम्झौताबाट बनेको यो अप्राकृतिक गठबन्धनको उद्देश्य र औचित्यलाई कसरी पुष्टि गर्न सकिन्छ ? पक्कै पनि यो कुनै राम्रो सङ्केत देखिँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ