arrow

पाँच सय ४८ को ज्यान लियो मंकिपक्सले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
monkeypox.jpg

जेनेभा। कङ्गोमा मंकिपक्सको प्रकोपले यस वर्षको सुरुदेखि पाँच सय ४८ को ज्यान लिइसकेको त्यहाँका स्वास्थ्यमन्त्रीले बिहीबार जानकारी दिएकम छन् । उनले सबै प्रान्त यसको भाइरसबाट प्रभावित भएको बताए ।

स्वास्थमन्त्री स्यामुएल–रोजर कम्बाले भने, “हालैको महामारी विज्ञान रिपोर्टअनुसार हाम्रो मुलुकले यस वर्षको सुरुदेखि १५ हजार छ सय ६४ सम्भावित घटना र पाँच सय ४८ जनाको मृत्यु भएको रेकर्ड गरेको छ ।”

प्रजातान्त्रिक गणतन्त्र कङ्गो २६ प्रान्त मिलेर बनेको छ र यहाँ करिब १० करोड जनसङ्ख्या छ । मंकिपक्सबाट सबैभन्दा प्रभावित प्रान्तहरूमा दक्षिणी किभु, उत्तरी किभु, त्सोपो, इक्वेटर, उत्तरी उबाङ्गी, त्सुपा, मोङ्गला र सङ्कुरु रहेका छन् । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले मंकिपक्सको प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक आपत्काल घोषणा गरेको छ । 

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस रोगको फैलावटमा भएको द्रुत वृद्धि साथै छिमेकी देशमा पनि यसको पहिचान भएसँगै यसलाई राष्ट्रिय आपत्काल घोषणा गरिएको हो ।

डब्ल्युएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले यो अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल अन्तर्राष्ट्रिय स्वास्थ्य कानूनअन्तर्गत उच्चस्तरको चेतावनी भएको बताए ।

“आज आपत्कालीन समितिको बैठकले मंकिपक्स रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल भएको सुभाव दिएको छ । मैले त्यो सुझाव स्वीकार गरेको छु । अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपत्काल अन्तर्राष्ट्रिय स्वास्थ्य कानुनअन्तर्गत उच्चस्तरको चेतावनी हो”, टेड्रोसले मंकिपक्सबारे भएको आपत्कालीन समितिको बैठकको नतिजाबारे जनाकारी गराउँदै भने । 

यस वर्ष १० अफ्रिकी राष्ट्रमा मंकिपक्स पत्ता लागेको रोग नियन्त्रण र रोकथामका लागि डब्ल्युएचओका अफ्रिकी केन्द्रहरूले गत हप्ता बताएका छन् ।

“मंकिपक्सको सङ्क्रमण अफ्रिकाभित्र र त्योभन्दा बाहिर फैलन सक्ने सम्भावना रहेकाले यो चिन्ताजनक अवस्था हो”, टेड्रोसले भने । 

प्रकोपलाई नियन्त्रण गर्न एक समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेकोमा उनले जोड दिए ।

उनले कङ्गोमा मंकिपक्सको मामिलामा भएको वृद्धिको मूल्याङ्कन गर्न गत हप्ता आपत्कालीन समिति गठन गरेको जानकारी दिए । 

“हामीले स्वास्थ्य कार्यकर्ताहरूलाई तालिम दिइरहेका छौँ र सङ्क्रमितलाई उचित हेरचाह प्रदान गर्न चिकित्सकलाई सहयोग गरिरहेका छौँ, हामीले प्रभावित देशमा खोपको पहुँचका साथै आवश्यक सहयोग गरिरहेका छौँ”, उनले भने । 

गत सेप्टेम्बरदेखि मध्य अफ्रिकी राष्ट्र कङ्गोमा मंकिपक्स सङ्क्रमण बढिरहेको छ । हाल छिमेकी देशहरूमा पनि यसको सङ्क्रमण पत्ता लागेको छ । 

डब्ल्युएचओले सन् २०२२ मा ७० भन्दा बढी देशमा फैलिएपछि मङ्कीपक्स भनेर चिनिने मंकिपक्सलाई विश्वव्यापी आपत्काल घोषणा गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ