arrow

अधिराज्य, अधिनायकवाद र अधिनायकत्व  

logo
लाओस राई,  
प्रकाशित २०८१ भदौ २३ आइतबार
lawas-rai-81-5-22.jpg

मूलतः अधिराज्य, अधिनायकवाद र अधिनायकत्व नेपाली भाषाको स्वरवर्णको पहिलो अक्षर ‘अ’ बाट निर्माण भएको छ । जसको काम अरू नयाँ नयाँ स्वरवर्ण र व्यञ्जनवर्णहरु निर्माण गर्नुहुन्छ । त्यसकारण ‘अ’ को महत्व भिन्दै हुन्छ । त्यसैले ‘अ’ थालनी हो । शुरूआत हो र अन्त्य पनि हो भनी भुल्नु हुँदैन । 

त्यसो भएको हुनाले अधिराज्य, अधिनायकवाद र आधिनायकत्वको महत्व पनि कम छैन भनी बुझ्नु पर्छ । विशेषतः राजनीतिक अधिकार केन्द्रिकृत गरिएको विचारलाई र सिद्दान्तलाई अधिनायकवाद भनिन्छ । सरल भाषामा भन्ने हो भने अधिनायकवाद सरकारको एक त्यस्तो रूप हो जुन एक बलियो, केन्द्रीकृत नियमद्वारा व्यक्तिले कसरी शासन गरिन्छ भन्ने पक्षतिर केन्द्रित हुन्छ । जहाँ सरकार वा शासकको निर्णयको बारेमा कुनै कुरा बोल्न निषेध गरिएको हुन्छ । 

अधिनायकवादले शासकमा अक्सर एक तानाशाह र निरपेक्ष शक्ति र अधिकार छ भन्ने बोध गर्नको साथै असहमति र विरोधको दमन पनि गर्दछ  । त्यसकारण अधिनायकवाद विश्व राजनीतिको मञ्चमा धेरै समय बलियो विचार र शासन प्रणाली बनेर रह्यो । अधिनायकवाद र अधिनायकवादी शासन व्यवस्थालाई सबैले मन नपराए पनि यसका निश्चित विशेषताहरू छन् । 

जस्तै केन्द्रीकृत शक्ति, सीमित राजनीतिक सहभागिता, मिडियाको नियन्त्रण, कानूनी शासनको अभाव, व्यक्तित्वको गुणगान, आर्थिक नियन्त्रण आदि । जहाँसम्म अधिनायकवादी शासन र पद्दतिको कुरा आउँछ त्यस प्रसङ्गगमा अधिनायकवादी शासनका उदाहरणहरूमा जर्मनीमा एडोल्फ हिटलर र उनका नाजीवाद, सोभियत युनियनमा जोसेफ स्टालिनको कुरा आइहाल्छ । यसलाई अर्को ढंगबाट पनि भन्न सकिन्छ अधिराज्य (किंगडम) सर्वोच्चता र अधिनायकत्व यी तीन शब्दको विशेषतामा केही कुरा मात्र फरक छन् तर अर्थ भने अधिनायकवाद नै भन्ने हुन्छ । 

जस्तै कि अधिराज्य (डोमिनियन) ले कुनै खास इलाका वा मानिसहरू माथि नियन्त्रण वा अधिकारको फराकिलो भावनालाई जनाउँछ । जुन प्रायः अधिनायकवादी शासनहरूसँग सम्बन्धित हुन्छ । त्यस्तै सर्वोच्चताले शक्ति वा अधिकारको उच्चतम स्तरको अर्थ दिन्छ, जुन अधिनायकवादी प्रणालीहरूको मुख्य विशेषता भित्र पर्दछ । 

जहाँसम्म अधिनायकत्वको अर्थ छ जुन सामुहिकताको जगमा निर्माण भएको व्यक्ति केन्द्रीत शासन व्यवस्था हो जसलाई विशेषगरी कम्युनिष्टहरूले बढी प्रयोग गर्ने गर्दछन् । त्यसको उदाहरण चीनमा माओको शासन व्यवस्था हो जसको जग सर्वहारा र श्रमजीवि वर्गमा थियो । तर त्यसको विशेषता पनि अधिनायकवाद नै हुन्छ । 

त्यसकारण भन्न सकिन्छ कि अधिराज्य, सर्वोच्चता र अधिनायकत्व अधिनायकवादको विभिन्न रूपहरु हुन् । यद्यपि तिनीहरू समान शब्दहरू भने होइनन् तथापि तिनीहरूले अधिनायकवादको विचार सिद्धान्तको साझा अर्थ बोध गर्दछ ।    

संक्षेपमा भन्दा अधिनायकवादले शक्ति केन्द्रीकृत शासन, असहमतिलाई दबाउनु र व्यक्तिगत स्वतन्त्रताहरू सीमित गर्नु भन्ने हुनजान्छ । अधिनायकवाद अक्सर तानाशाहीसँग सम्बन्धित छ, यो सरकारको अन्य रूपहरूमा पनि हुनसक्छ । 

जस्तै थाइल्याण्डमा भएको राजतन्त्र तथा म्यानमारको सैन्य शासन आदि । अब एकैछिन डोमिनियन अर्थ के हो भन्ने विषयमा केन्द्रित होऔँ । सरल भाषामा डोमिनियनको सोझो अर्थ प्रभुत्व हुन्छ । त्यही प्रभुत्वलाई दुई खण्डमा विभाजन गरी हेरौँ । एक अधिराज्यको रुपमा, दुई डोमिनियन रुपमा । 

पहिलोले सामान्यतया राजा वा रानीद्वारा शासन गर्ने विशेष क्षेत्रलाई जनाउँछ । दोस्रोले भने सार्वभौमिकता वा नियन्त्रण वा एक राष्ट्रले आफ्नो क्षेत्रमाथि प्रभुत्व प्रयोग गर्नसक्छ भन्ने हुन्छ । त्यसको उदाहरणको रुप बेलायती उपनिवेश क्षेत्रहरू तथा त्यस्तै शक्ति वा अधिकार कसैले अरूमाथि प्रभुत्व राख्नुलाई बुझाउँछ ।

त्यही हुनाले जब अधिराज्य एक प्रकारको प्रभुत्व हो, जुन प्रभुत्वले फराकिलो अवधारणालाई समेटेको हुन्छ भन्ने विचार विकसित भयो । त्यो विचारले धेरै समय काम गर्यो । यस प्रसङ्गमा एउटा उदाहरण प्रस्तुत गर्दा त्यसको बारेमा अझै प्रष्ट हुन सकिन्छ । केसी वायरले सन् १९२६ मा बेलायती सदनमा डोमिनियन स्थितिको बारेमा आफ्नो बहसको सम्बोधन गर्ने प्रस्ताव राखे जुनकुरा तत्कालीन समयमा उपयुक्त हो कि होइन ? 

तर उनको प्रस्तावमाथि एक जना पूर्वप्रधानमन्त्री श्रीमान् लोयड जर्जले आवाज उठाउँदै भने – ‘डोमिनियन स्टेट्स’ को अर्थ के हो ? डिसेम्बर  १४, १९२१ को कमन्सको सन्दर्भको अंश हो । जुन हप्ताअघि हस्ताक्षर गरिएको युनाइटेड किंगडम र आयरल्याण्ड बीच एक सन्धिको लागि सम्झौताको अनुमोदन हो । उक्त सन्धिका शुरूआतका शब्दहरूले बेलायती साम्राज्यमा क्यानडाको डोमिनियन, कमनवेल्थ अफ अष्ट्रेलिया, न्यूजिल्यान्डको डोमिनियन र दक्षिण अफ्रिकाको संघको रूपमा आयरल्यान्डको संवैधानिक हैसियत हुनेछ भनी उल्लेख गरिएको थियो । 

यो नयाँ ‘संवैधानिक स्थिति’ माथि उल्लिखित घटनालाई आधार मान्दै बहस अझै अघि बढाउने हो भने यो डोमिनियन स्थितिको परिभाषा दिन ‘कठिन र खतरनाक’ देखिन्छ ।किनभने लोयड जर्जका अनुसार डोमिनियनहरू आफैँ एक कठोर परिभाषाबाट बच्न उत्सुक थिए भन्ने आशय प्रकट हुन्छ । त्यसकारण डोमिनियन र अधिराज्य खतरनाक छ ।

त्यही विषय डोमिनियन, अधिराज्य, अधिनायकवाद र अधिनायकत्व  नेपालको राजनीति प्रसङ्गसँग जोडेर हेरौं । यी चारै व्यवस्थाको विशेषताले दखल गर्दा नेपालको राजनीतिक अवस्था विश्वमा कस्तो रहन गयो भन्ने जान्न सकिन्छ । सात साल भन्दा अघि १०४ वर्ष राणाको तानाशाही व्यवस्था रह्यो । जसले अधिराज्यलाई (राजतन्त्रात्मक व्यवस्था) पनि नियन्त्रण गरेको  थियो  ।

त्यो भन्दा अघि शाह वंशको राज्य एकीकरणसँगै केही राज्यहरू उनीहरुको डोमिनियनमा रह्यो । जस्तै बझांगे राजा, मुस्तांगे राजा, जाजरकोटे राजा आदि । धार्मिक अधिराज्य घोषणापछि नेपाल सिंगो हिन्दू राज्यका नाममा विश्व सामु चिनिनु पुग्यो  । 

एक प्रकारले धर्मको नाममा राज्य घोषणा हुँदा एकतर्फी रुपमा त्यही धार्मिक समुदायले फाइदा लिने हुँदा अन्य समुदाय र धर्मालम्बीहरू उत्पिडनमा पर्ने धेरै सम्भावना रहन्छ । तर नेपालमा हिन्दु धर्मावलम्बीहरू मात्र छैन पनि । त्यसैले  नेपाल त विभिन्न राष्ट्रियताहरू भएको राष्ट्र हुँदा सबै राष्ट्रियताहरुको पहिचान धार्मिक अधिराज्यले गर्न सक्दैन भन्ने निष्कर्षका साथ बहुधार्मिक राष्ट्र घोषणा भयो । जसलाई धर्म निरपेक्ष राष्ट्र भनिन्छ जुन कुरा संघीय लोकतान्त्रिक संविधानमा उल्लेख छ । 

त्यति मात्र होइन संविधानमा सनातन धर्मको पनि रक्षा गर्ने कुरा उल्लेख गर्दै नेपाल बहुभाषिक, बहुजातीय र बहुधार्मिक राष्ट्र हो भन्ने उल्लेख गरेको  छ । ती बुँदाहरूमा सबै राजनीतिक पार्टीहरु सहमत थिए । जहाँसम्म अधिनायकवाद व्यवस्था र शासन प्रणालीको कुरा आउँछ  त्यो  पनि नेपाली जनताले पहिले नै अति कठिनाइका साथ भोगिसकेका छन् । त्यही हुनाले त्यस्तो वंशवादी अधिनायकवादी अधिराज्यलाई जनताले फ्याँकेको हो नि । त्यसकारण नेपाली जनता न अधिनायकवादलाई स्वीकार्न सक्छ न अधिराज्य वा धार्मिक अधिराज्यलाई नै स्वीकार्न सक्छ । त्यसको पक्षमा नेपाली जनता छैनन् । 

जहाँसम्म हिजोआज नेपालका राजनीतिक पार्टीहरू भित्र वा सडकमा संविधान संशोधन र खारेजीका मागहरू उठिरहेका छन् ती समूहका प्रतिनिधि प्रत्येक पार्टी भित्र छन् । फरक यति मात्र छ कि कुनै पार्टीमा जवरजस्त उपस्थित छन् भने कुनै पार्टीमा सुसुप्त रुपमा छन् । यो प्रवृत्तिलाई बहुलता, बहुलवाद, समावेशी सहभागिता, मानवाधिकार, व्यक्तिगत स्वतन्त्रता, कानुनी शासन र सामाजिक न्याय जस्ता विश्वव्यापी मान्यतालाई कहिल्यै स्वीकार्य हुँदैन । जसले आफनो अस्तित्व बचाउन जुनसुकै व्यास्थालई घेराबन्दी गर्न खोजिरहन्छन् । 

त्यसको ताजा उदाहरण फ्रान्सको संसदीय निर्वाचनको परिणामले निर्माण गरेको राजनीतिक घटनालाई मान्न सकिन्छ । त्यहाँ कुनै पनि दलले बहुमत ल्याउन  नसक्दा चरम दक्षिणपन्थी समूहले अब हामीलाई कमजोर नठान ? हामीले पनि ६० स्थानमा जितेका छौँ भन्दै मुख्य पार्टीहरुलाई चेतावनी दिइरहेको छ । 

जहाँ वामपन्थी दल न्यू पपुलर फ्रन्ट १८२ सिट जित्दै पहिलो स्थानमा छ भने दोस्रोमा राष्ट्रपति एमानुयल म्याँक्रोको मध्यमार्गी १६८, अन्य वामपन्थी १३ र अन्यको ११ स्थान रहेको छ । जुन परिणामले फ्रान्समा राजनीतिक स्थायित्व हुने संकेत देखिन्न ।  

ठीक त्यस्तै  परिस्थिति  नेपालमा पनि निर्माण भएको छ । यहाँ  पनि कुनै पार्टीले बहुमत ल्याउन नसक्दा स्थिर सरकार बन्न सकेन । जसले गर्दा लामो संघर्ष गर्दै संघीय गणतन्त्रको लक्षमा पुर्याउने पार्टीहरू कांग्रेस, एमाले, माओवादी केन्द्र र तराइ मधेसका पार्टीहरूबीचको प्रतिस्पर्धाको फाइदा उठाउँदै लोकतन्त्रको खोल ओढेको दक्षिणपन्थी पार्टी राप्रपा र घोर दक्षिणपन्थी र अतिवादीहरुको संसदमा प्रवेश गर्ने अवस्था निर्माण भयो । 

त्यही चरम दक्षिणपन्थी झुण्ड र धार्मिक अतिवादीहरु समूहले अस्थिरता निर्माण गर्न र उनीहरूको स्वार्थपूर्तिको खातिर विभिन्न खाले बितण्डा मच्चाउने कार्य गर्न थाल्यो । ती समूहहरूले राष्ट्रलाई अराजक र अस्थिरताको केन्द्र बनाउँदै नेपाली जनतालाई जंगली युगतिर धकल्न खोज्दैछन् ।  

उनीहरूसँग कुनै राजनीतिक मुद्दा नै छैन । उनीहरू गणतन्त्र र संघीयता भत्काउने र व्यक्तिवादी तानाशाही व्यवस्था स्थापना गर्न खोज्दै छन् । समानुपातिक समावेशी, धर्मनिरपेक्ष जस्ता विश्वव्यापी मान्यतालाई नष्ट गर्दै व्यक्ति केन्द्रित र धार्मिक राज्य अफगानिस्थानमा तालिवानीहरुको सरिया कानूनमा आधारित राज्य राष्ट्रको व्यवस्था  ल्याउन खोज्दै छन् ।

त्यसकारण अधिनायकवाद र धार्मिक अतिवादको बाटोमा हिँड्न चाहनेहरूको तालिवानी मुजाहिद्दीन शैलीमा लोकतन्त्र, सामाजिक न्याय र मानव आधिकारको सुनिश्चितता भएको संघीय लोकतान्तिक गणतन्त्रात्मक व्यवस्थालाई उल्ट्याउन मोर्चाबन्दी गर्दैछन् । 

नेपाली जनतालाई त्यस्ता खतरनाक, प्रतिगामी र चरम दक्षिणपन्थी बाटोमा हिँड्न दिने कि त्यस्तो तानाशाही जंगलबाट जोगाउने त्यो मुख्य कुरा हो । त्यो कुरा कांग्रेस, एमाले, माओवादीको भावी राजनीतिक मार्गचित्रमा छ कि छैन ।  यदि नेपाली दलहरूको  विकल्पमा  जनताले अतिवादको बाटो हिँड्नै खोजेको हो भने ती घोर दक्षिणपन्थी र धार्मिक अधिराज्यवादीहरुले लोकतन्त्र र संघीय गणतन्त्रवादीहरूको सागरलाई  रोक्न सक्छ ? 

२४० वर्षको शक्तिले रोक्न नसकेको मानव सागर र तागतिलो विचारलाई ती पुरानो विचारले रोक्न सक्छ जस्तो देखिदैन । तथापि डेढ वर्षको अवधिमा वामपन्थी माओवादी केन्द्रले चरण दक्षिणपन्थीहरुसँग मिलेर सरकार बनाएको घटनाले उत्पन्न गरेको विभिन्न शंका मात्र उत्पन्न गरेको छैन त्यसले माओवादी र चरम दक्षिणपन्थी समूहबीच धेरै कुराहरू साटासाट भएको हुन पनि सक्ने भएको हुँदा  त्यो विषय झनै खतरा बन्नसक्छ । 

जुनकुरा माओवादी केन्द्रले आन्दोलनको सहयात्री शक्ति नेपाली कांग्रेस, एमाले  र अन्य वामपन्थी शक्तिहरूसँग सम्बन्ध बिगार्दै घोर दक्षिणपन्थी शक्तिहरुसँग मित्रता बढाउँदै अतिवाद र अधिनायवादी गठबन्धनले पुष्टि गर्दछ । अन्त्यमा २१ औँ शताब्तीको  नेपाललाई न अधिनायकवाद न अधिनायकत्व र डोमिनियन न त अधिराज्य कुनै पनि व्यवस्था भन्दा संघीय लोकतान्त्रिक गणतन्त्र उपयक्त हुन्छ । त्यसमा सबै लोकतन्त्रवादी एकीकृत हुनुको विकल्प छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ