लुम्बिनी पुगेर प्रधानमन्त्री ओलीले गरे बुद्धको शिक्षा लिन र अनुयायी हुन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १४ शुक्रबार
539
Shares
रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरेका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त तथा २० औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै कुलपति एवम् प्रधानमन्त्री ओलीले सबै सुशी होउन् भन्ने बुद्धका सन्देशको अर्को रुप नै आफूहरूले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा भएकाले यसलाई पूरा गर्न सबैमा आग्रह गरेका हुन्।
अभिभावकको लगानी, माया र मेहनतबाट दीक्षित हुने अवस्थासम्मको सफलता प्राप्त गरेकामा अभिभावक र विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले बुद्ध दर्शन, आचरण र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गरे।
'मानवीय गुण भनेको ढाँटछल, जालझेल र प्रपञ्च होइन। मानवीय गुण भनेको शान्ति, करुणा र प्रेमको गुण हो', प्रधानमन्त्री ओलीले भने, 'घृणाले घृणा, अशान्तिले अशान्ति र शत्रुताले शत्रुता बढाउने तथा प्रेमले प्रेम, शान्तिले शान्ति र राम्रोले राम्रो नै बढाउने बुद्ध दर्शनलाई हामीले पछ्याउनुपर्छ। नराम्रो मार्गमा हिँड्न हुन्न भन्ने थाहा पाइकन पनि त्यस बाटोमा मान्छे हिँडिरहेको हुन्छ। त्यसबाट लाभ हुँदैन भन्ने थाहा पाएर गलत कामको लत बसाउनु हुँदैन। अशल मार्गमा हिँड्न सक्नुपर्छ।'
प्रधानमन्त्री ओलीले लुम्बिनी बुद्धको जन्मथलो र बौद्ध दर्शनको पनि थलो भएको उल्लेख गर्दै यसलाई पावनभूमिका रुपमा विकासित र प्रचारप्रसार गर्न सरकारले पहल गर्दै आएको बताए।
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरेको र दोस्रो कार्यकालमा पाँच हजार जना सहभागी हुन सक्ने ध्यान केन्द्र बनाउने काम गरेको स्मरण गरेका छन्।
समारोहमा कुलपति ओलीबाट भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन्।
प्रधानमन्त्री ओलीले जीवनमा कसैको कुभलो नचिताउने तथा सँधै सकारात्मक चिन्तन र व्यवहार प्रदर्शन गर्ने गुरुमाले मानार्थ विद्यावारिधिको सम्मान स्वीकार गरेर विश्वविद्यालयलाई थप सुपरिचित गराएको बताए।